काठमाडौं । अथक मिहिनेत र पसिना बगाएर कमाएको सम्पत्ति ध्वस्त गरिदिएपछि धुव्र थापाको मन भक्कानिएको छ । लामो संघर्षले प्राप्त सफलता र सम्पत्ति सपना झैं छिनभरमै सखाप भएको छ ।
वर्षौं लगाएर जोडेको बस्ने घर, कार्यालय, गाडी र गाडीको शोरुम जलेर ध्वस्त भएपछि उनी घरविहीनमात्रै भएका छैनन्, अब के गर्ने र कसरी अगाडि बढ्ने भन्ने विकल्प उनका अगाडि छैन ।
थापाले दुःखी हुँदै भने, ‘घर, गाडी र गाडी शोरुम ध्वस्त भएपछि भविष्य चकनाचुर र अन्धकार भएको महसुस गर्दैछु, बोल्न सक्ने अवस्थामा छैन, दुःख बिसाउने चौतारी छैन ।’
ध्रुव थापा नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) का निवर्तमान अध्यक्ष हुन् । उनले अटो मोबाइल क्षेत्रमा एक सफल व्यवसायीको छवि निर्माण गरेका छन् ।
१७ वर्षको कलिलो उमेरदेखि संघर्ष गर्दै आएका उनी एकाएक घरबारविहीन बने । भदौ २४ गतेको जेनजी आन्दोलनका नाममा प्रदर्शनकारीले उनको बस्ने घर, गाडीको शोरुम आगजनी गरेर नष्ट पारे ।
आफ्नै मिहिनेतले उनले व्यवसायीमा गर्विलो छवि निर्माण गरे । अटो व्यवसायीको नेतृत्व तहमा पुगे । पोखरामा एक सफल व्यवसायीको परिचय पस्किए । तर, जेनजीको आन्दोलनको टार्गेटमा उनै थापा परे ।
न उनी कुनै राजनीतिक दलसँग आवद्ध थिए । न कुनैसँग उनको व्यक्तिगत द्वन्द्व थियो । उनी आफ्नो कामलाई विश्वास गर्थे । संघर्षको स्वाद मीठो हुन्छ भन्ने बुझाइ उनको थियो । तर, उनको त्यो वर्षौंदेखिको संघर्ष छिनभरमै खरानी बन्यो ।
बरु थापा व्यवसायसँगै समाजसेवामा पनि अगाडि थिए । भूकम्प र कोभिड महामारीका बेला उनी निःशुल्क एम्बुलेन्सहरू प्रदान गरी मानवीय सेवामा तल्लीन रहे । तर, आज उनै घरविहीन भएका छन् । आफ्नो ३५ वर्षको मिहिनेत छिनभरमै खरानी बनाइदिएको उनको गुनासो छ ।
‘आज आफू बस्ने घर र कार्यालय जलाइँदा मन पनि जल्दो रहेछ । जलेको घरको आगोसँगै मेरा सबै उत्साह पनि जलेर खरानी भएका छन्, खण्डहर घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने महसुस हुँदैछ,’ निराश हुँदै थापाले भने ।
थापा दाजुभाइका जल्दै गरेका घर । तस्बिर : ध्रुव थापा ।
घर, शोरुमसँगै कामदार पनि जलिन्
प्रदर्शनकारीले उनको पोखरा महानगरपालिका वडा नं ८ स्थित नयाँबजार मा रहेको उनको पाँचतले घर, कार्यालय, सोरुम र लेकसाइडस्थित कमर्शियल बिल्डिङ आगजनी गरेर पूर्ण रूपमा नष्ट गरेका छन् । उनको यसबाट करोडौंको क्षतिको भएको छ ।
उनले सम्पत्ति मात्रै गुमाएनन्, कार्यालयमा काम गर्ने एक जना कर्मचारीसमेत गुमाएका छन् । थापाको कार्यालयमा काम गर्ने सिन्धुपाल्चोककी ४० वर्षीया सञ्जु नगरकाेटीको कार्यालयभित्रै जलेर मृत्यु भएको छ ।
‘आगजनी गर्दा हामी सबै कार्यालयमै थियौं, हामीसँगै भाग्यौं । तर, मोबाइल छुट्यो भनेर उहाँ फर्किनु भएछ, उहाँ माथि पुग्दासम्म तलबाट आगो पुगेपछि उहाँ बाहिर आउन सक्ने अवस्था बनेन, भित्र जलेर निधन भयो,’ भावुक हुँदै थापाले विकासन्युजसँग भने ।
यो घटनाले उनको परिवारमा ठूलो आघात पुर्याएको छ । विशेष गरी ती युवतीको बर्बरतापूर्ण मृत्युले थापा परिवारलाई स्तब्ध बनाएको छ ।
उनका सातवटा नयाँ सवारी साधन (गाडीहरू) पनि आगोमा परेर खरानी भएका छन् । उनले १५ करोड रुपैयाँसम्म क्षति भएको अनुमान गरेका छन् ।
उनले तीन दशकदेखिका महत्त्वपूर्ण कागजात, ग्राहक विवरणहरू डेबिट–क्रेडिट रेकर्डहरू र अन्य अमूल्य डेटा नष्ट भएकोमा चिन्ता व्यक्त गरे ।
‘सबै जलेर ध्वस्त भयो, मसँग अब केही बाँकी रहेन । सब शून्य भयो, सबै खरानी भयो,’ भावुक हुँदै उनले भने ।
ससुरालीमा शरण
घर र कार्यालय जलेर नष्ट भएपछि थापा अहिले घरबारविहीन भएका छन् । उनको परिवार अहिले ससुरालीमा बस्दै आएको छ । उनले अहिले आफूलाई घरबारविहीन महसुस गरिरहेका छन् ।
‘बस्ने ठाउँ छैन, अब कहाँ गएर बस्ने ?,’ उनले भावुक भएर भने ।
थापाकी श्रीमती लायन्स क्लब नेपालकी ५४ वर्षको इतिहासमा पहिलो महिला काउन्सिल चेयरपर्सन (अध्यक्ष) हुन् । उनी पनि सामाजिक सेवामा सक्रिय छिन् । घटनाको दिन उनी पनि घरमै थिइन् र परिवारका अन्य सदस्यहरूसँगै सुरक्षित रूपमा बाहिर निस्कन सफल भए ।
राजनीतिक प्रतिशोधको आशंका
थापाले यो घटनालाई आफ्नो दाजु बिन्दुकुमार थापाको राजनीतिक संलग्नतासँग जोडिएको हुन सक्ने अनुमान गरेका छन् । थापाका दाजु बिन्दुकुमार गण्डकी प्रदेशका सामाजिक विकास तथा कानुनमन्त्री हुन् ।
उनका अनुसार उनको दाजुलाई निशाना बनाएर सामाजिक सञ्जालमा समेत धम्कीहरू आइरहेको थियो । आफू राजनीतिमा संलग्न नभए पनि दाजुको राजनीतिक पृष्ठभूमिको कारण आफूलाई पनि निशाना बनाइएको हुन सक्ने आशंका उनको छ ।
‘मेरो कर्मचारीलाई जिउँदै जलाइयो । उनको के दोष थियो ? के म राजनीति गरेको र मेरो परिवार मेरो नामसँग जोडिएको कारणले यति कठोर सजाय पाइरहनुपर्ने हो ?’
मन्त्री थापाको पोखरा लेकसाइडमा रहेको बगैंचा होटल र अर्को कमर्शियल बिल्डिङसहितको सम्पत्ति पनि पूर्ण रूपमा जलाइएर नष्ट गरिएको छ । उनको पनि ५० करोड रुपैयाँसम्म क्षति भएको थापाले जानकारी दिए ।
मन्त्री थापा पनि पोखराकै एक स्थापित रियलस्टेट व्यवसायी हुन् । जो नेपाली कांग्रेसमा बागी उम्मेदवार भएर पनि दोस्रो पटक चुनाव जितेका थिए । उनको पारदर्शी कार्यशैली र जनतामाझ राम्रो प्रभावका कारण राजनीतिक प्रतिद्वन्द्वीहरूले उनलाई निशाना बनाएको धुव्र थापाको बुझाइ छ ।
मन्त्री बिन्दु थापाले भने ‘हामीले सानै उमेरदेखि आफ्नै परिश्रमले सम्पत्ति आर्जन गरेको थियौं, आज त्यही घर र व्यवसाय जलेर नष्ट गरिएको छ ।’
मन्त्री थापाको होटलमा काम गर्दै आएकी दोलखाको बैत्यश्वर–८ घर भएकी स्वस्थानी खड्काको निधन भएको छ । उनको पनि आगजनीमा परेर मृत्यु भएको हो ।
‘मेरो कर्मचारीलाई जिउँदै जलाइयो । उनको के दोष थियो ? के म राजनीति गरेको र मेरो परिवार मेरो नामसँग जोडिएको कारणले यति कठोर सजाय पाइरहनुपर्ने हो ?’ उनले भावुक हुँदै आक्रोश पोखे ।
उनका अनुसार २५ वर्षीया स्वस्थानी खड्का आफ्नो साथीसँग भवनभित्र थिइन् । उनी पोखरा कामकै सिलसिलामा आएकी थिइन् । ब्युटिसियनको काम गर्थिन् । रत्न राज्यलक्ष्मी कलेजमा स्नातक अध्ययन गरिरहेकी थिइन् ।
‘मैले एक पैसा भ्रष्टाचार गरेको छैन, कुनै प्रलोभनमा परेको छैन । यदि मैले भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने म जस्तोसुकै कठोर सजाय भोग्न तयार छु । तर, निर्दोष हुँदा पनि यसरी अपमानित हुनु र सम्पूर्ण उपलब्धि खरानी पारिनु अमानवीय मात्र होइन, घोर अपमान हो, अन्याय हो,’ मन्त्री थापाले भने ।
उनले जेनजीको नाममा नियोजित रूपमा आफूमाथि गरिएको यो विध्वंस कुनै आन्दोलन नभई अपराध भएको बताए । थापा परिवार पुस्तौंदेखि समाजसेवामा लागेको र देश निर्माणमा योगदान गरेको परिवार भएकोले उनीहरूलाई भ्रष्टाचार गर्नुपर्ने अवस्था नरहेको उनले धारणा राखे ।
उनीहरूले यो घटना योजनाबद्ध रूपमा भएको बुझेका छन् ।
‘यो घटनाले नेपालमा लगानीको भविष्यप्रति गम्भीर प्रश्न उठाएको छ । अब किन यहाँ लगानी गर्ने ? हामी सुरक्षित छैनौं,’ मन्त्री थापाले भने । उनले यो घटनाबाट पाठ सिक्दै देश र व्यवसायीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले आवश्यक कदम चाल्नु पर्नेमा जोड दिए ।