काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका मन्त्रीहरूको शपथग्रहण सोमबार हुने भएको छ । सोमबार शपथ लिने तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने कार्यक्रम तय भएको छ ।
अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङलाई राष्ट्रपति पौडेलले शपथ गराउन लागेका हुन् ।
नवनियुक्त मन्त्रीहरूको शपथग्रहण समारोह आज बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कोइरालाले बताएका छन् । अन्य मन्त्रीहरूको भने अझै टुंगो लागेको छैन भन्ने जानकारी प्रधानमन्त्री कार्की निकट स्रोतले दिएको छ ।
'नवनियुक्त प्रधानमन्त्री कार्कीले विज्ञहरूलाई आफ्नो क्याबिनेटमा समेट्न चाहेकी छन् । तर कार्कीले चाहेजस्ता धेरै विज्ञहरूले मन्त्री बन्न रुचि देखाएका छैनन्,' स्रोतले भने ।
संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य, शिक्षा, शहरी विकास तथा पूर्वाधार मन्त्रालयमा विषयविज्ञलाई नियुक्त गर्ने प्रधानमन्त्रीको चाहना रहेको छ । यस्तै अन्य मन्त्रालयमा पनि राजनीतिक दलमा नरहेका र दाग नलागेका व्यक्तिहरूलाई प्रधानमन्त्रीले खोजिरहेकी एक नवनियुक्त मन्त्रीले जानकारी दिएका छन् ।
स्राेतका अनुसार, कार्की क्याबिनेटलाई ९ देखि १३ सदस्यीय बनाउने तयारी भइरहेको छ ।