पूर्वाग्रह नराखौं, १८ घण्टा खटेर काम गरौं

काठमाडौं । यति बेला देश संकटपूर्ण घडीमा छ । यो मन्त्रिमण्डल गठन नै देशको अप्ठ्यारो परिस्थितिलाई पार लगाउन आएको हो । हामी माननीय होइनौं, हामी जनताको सेवा गर्न आएका हौं । देशमा धेरै नोक्सान भएको छ । अब हामीले यसलाई माथि उठाउनु छ । यो खादामाला लगाएर तामझाम गर्ने समय होइन, काम गरेर जेनजी पुस्ताले देखेको सपना साकार पार्ने समय हो । हामी काम गर्न आएका हौं । 

कुनै पदका लागि आएका होइनौं । अब हामीले देश बनाउनु छ । यो विषम परिस्थितिमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेछ । देशलाई परिवर्तन गर्नुछ । हामीसँग ६ महिनाको छोटो समय छ । यसलाई खेर फाल्न मिल्दैन, सबै निर्णयहरू फास्ट ट्र्याकमा गरिनेछन् । म स्वयं १८ घण्टा खटेर काम गर्छु र तपाईंहरू सबैले पनि २४ घण्टामा १८ घण्टा खटिनुपर्छ । अब म एक्लै होइन, मन्त्रालयहरूको टिमले सामूहिक रूपमा काम गर्नुपर्छ । 

जुन जेनजीको आन्दोलनका क्रममा ज्यान गुमाएका होनहार युवाहरूको त्याग र साहसले परिवर्तनको जग बसालेको छ । उहाँहरूका परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । सडकमा उठेको जनताको आवाजलाई हामी सम्मान गर्छौं । तर, सार्वजनिक सम्पत्ति जलाएर वा तोडफोड गरेर न्याय जितिँदैन ।  जे भत्किएको छ, त्यसलाई मर्मत गर्ने, जे जलेको छ, त्यसलाई पुन: निर्माण गर्ने र सहिदको सपना साकार पार्ने मेरो मुख्य उद्देश्य हो । चालु ठूला पूर्वाधारका आयोजनाहरू समय र गुणस्तरमा सम्पन्न हुन नसक्दा मुलुकले ठूलो आर्थिक क्षति बेहोरेको छ । यसलाई चिर्न हामी रणनीतिक महत्त्व र रूपान्तरणकारी केही ठूला आयोजनाहरूलाई तत्काल अगाडि बढाउनेछौं । 

अपर अरुण, दूधकोशी र बूढीगण्डकी जस्ता ठूला आयोजनाहरूलाई नेपाली जनताको लगानीमा र देशभित्र तथा बाहिरका विकास साझेदारहरूको सहयोगमा अगाडि बढाइनेछ । यसका लागि विशेष कोष खडा गरिनेछ जहाँ देश तथा विदेशमा रहेका नेपालीहरूले पुन: निर्माणका लागि योगदान गर्न सक्नेछन् । 

ऊर्जा जलस्रोत सिँचाइ तथा खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय अन्तर्गतका निकायभित्र हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीप्रति शून्य सहिष्णुता अपनाइनेछ । कसैले यस्ता कार्य गरेको पाइएमा तत्काल कडा कारबाही गरिनेछ । जेनजी पुस्ताले उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनको मागलाई कडाइका साथ कार्यान्वयन गरिनेछ । उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारीलाई कडाइका साथ लागू गरिनेछ । कसैप्रति पूर्वाग्रही वा प्रतिशोधपूर्ण व्यवहार गरिने छैन । 

यस विषम परिस्थितिमा आफूले पाउने सम्पूर्ण तलब, भत्ता र सुविधा परिवारको नाममा खडा हुने कोषमा जम्मा गर्नेछु । सुरक्षाका लागि अत्यावश्यक बाहेक कुनै पनि सुविधा लिने छैन । विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तत्काल उठाउनुपर्छ ।  देशको अप्ठ्यारो स्थितिमा उद्योगी साथीहरूले यसलाई राष्ट्रका लागि योगदानको रूपमा लिनुहुन आह्वान गर्दछु । 

उज्यालो नेपाल अभियानलाई कार्यान्वयनतर्फ अगाडि बढाउनेछौं । यो केवल बत्तीको मात्र होइन, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको समग्र अभियान हो। युवा पुस्तामा आशा जगाउँदै, देश भित्रै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउनु हाम्रो दायित्व हो । विध्वंस होइन, निर्माण हाम्रो अभियान हो । यो विषम परिस्थितिमा हामी सबैले हातेमालो गर्दै सहकार्य र सहमतिमा अगाडि बढ्नुपर्छ । देश रहे मात्रै हामी रहन्छौं । 

यो ठूलो चुनौती मैले लिएर आएको छु ।  यसको सामना गर्न सबैको साथ र सहयोग अपरिहार्य छ । हिजोका कुरा छाडेर कसरी अगाडि बढ्ने भन्नेमा केन्द्रित बनौं । यो राष्ट्र निर्माणको महाअभियान हो । यसमा सबैको साथ रहनेछ । हामीलाई काम र प्रभावकारी सेवा चाहिएको छ । हामीले कसैप्रति पूर्वाग्राही भएर काम गर्ने छैनौं । 

सबैको सहकार्य र समन्वयमा लामो काम गरिनेछ जुन काम द्रुतगतिमा अगाडि बढ्नेछ । अब हामीसँग केबल ६ महिनाको समयसीमा छ । यो अवधिमा द्रुत गतिमा निर्णय लिने र कार्यसम्पादन गर्नेबाहेक अरू विकल्प छैन । यो समय तामझाम गर्ने होइन, बरु जेनजी पुस्ताले देखेको सपनालाई यथार्थमा परिणत गर्ने बेला हो । जेनजी पुस्ताले उठाएका मागहरुलाई उठान गर्ने समय हो ।  मेरो नेतृत्व निष्पक्ष र सहकार्यमा आधारित हुनेछ । कसैप्रति पूर्वाग्रह नराखी, हामी सल्लाह र सहकार्यमा अगाडि बढ्नेछौं । भ्रष्टाचार निवारण र सुशासन कायम गर्नु हाम्रो तत्कालको लक्ष्य हो । 

(पदभार ग्रहण कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री घिसिङले राखेको विचार)
 

Share News