रसुवा र तातोपानी नाका ठप्प भएपछि कोरला नाकाबाट गाडी आयात गर्दै व्यवसायी

लजिस्टिक्स टिम खटिए

काठमाडौं । दशैं नजिकिएसँगै अटोमोबाइल व्यवसायीहरूले सवारीसाधन आयातमा नयाँ नाकाको प्रयोग गर्न थालेका छन् । चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका रसुवा र तातोपानी नाका ठप्प भएपछि मुस्ताङको कोरला नाकाबाट गाडी भित्र्याइरहेका हुन् । नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पोमा हजारौं गाडी बुकिङ भएपनि डेलिभरीमा भने नाका ठप्प हुँदा व्यवसायीहरूलाई चुनौती थपिएको छ । 

तातोपानी नाकामा पहिरोका कारण पुल भत्किएपछि हाल सो नाकाबाट गाडी आयात हुन सकेको छैन । यसको विकल्पमा मुस्ताङस्थित कोरला नाकाबाट गाडी ल्याउने प्रयास भइरहेको बीवाईडीकी सेल्स म्यानेजर सन्ध्या श्रेष्ठले बताइन् । 

उनले भनिन्, ‘हामीले तातोपानी नाकाबाट गाडी ल्याउन प्रयास गरिरहेका छौं । नाइमा र नाडा अटो शोमा बुकिङ भएका गाडीहरू दशैंसम्म ग्राहकहरूलाई दिन सकिन्छ भन्ने हिसाबले हामी लागिरहेका छौं ।’ 

श्रेष्ठले दशैंसम्म बुकिङ भएका सबै गाडी डेलिभरी गर्न सतप्रतिशत ग्यारेन्टी गर्न नसके पनि अधिकतम प्रयास भइरहेको बताइन् । बीवाईडीका एटो वान र एटो टु मोडल नाइमा र नाडा अटो शोमा एक हजारभन्दा बढी बुकिङ भएका छन् । 

यस्तै, ओमोडाका मार्केटिङ हेड रुपेश श्रेष्ठले पनि नाकाबाट गाडी छुटाउन लजिस्टिक्स टिम खटाइएको र हाल बिदा धेरै भएकाले काममा ढिलाइ भएको जानकारी दिए । 

ओमोडाको नाइमा एक्स्पोमा मात्रै ३६७ भन्दा बढी बुकिङ भएको श्रेष्ठले बताए । उनले पनि दशैंभित्र डेलिभरीका लागि काम भइरहेको जानकारी दिए । नाडा र नाइमा अटो शोमा मात्रै नभई देशभरबाट गाडीको बुकिङ भइरहेको व्यवसायीहरू बताउँछन् ।

यस्तै, लिपमोटर गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक जय गोल्छाले पनि अहिले गाडीहरू कोरला नाकाबाट भित्राइरहेको जानकारी दिए । 

नाइमा एक्स्पोमा बुकिङ भएका गाडीहरू दशैंसम्ममा ग्राहकसम्म पुर्याउने उनले जानकारी दिए । नाइमा एक्स्पोमा लिपमोटरका १ सय ८४ वटा गाडी बुकिङ भएका छन् । 

यस्तै, नाडाका सदस्य तथा गोल्छा अर्गनाइजेसन अन्तर्गतको जीओ–फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छाका अनुसार दशैंका लागि बुकिङ भएका धेरैजसो गाडीहरू स्टकमै छन् भने केही गाडीहरू डेलिभरी पनि भइरहेका छन् । नयाँ लन्च भएका गाडीहरू तथा तत्काल स्टकमा नभएका गाडीहरू मात्रै आयात भइरहेको उनको भनाइ छ । 

‘सतप्रतिशत बुकिङ छ भने त्यसमध्येमा १०/२० प्रतिशत गाडी मात्र स्टकमा छैनन् । ७०÷८० प्रतिशत छन्,’ उनले भने, ‘ती गाडीहरू हाल बिक्री भइरहेका छन् । ’

मुस्ताङको कोेरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि भदौ ३० गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार भन्सार पूर्ण रूपमा सञ्चालनमा आएयता कन्टेनर तथा विद्युतीय सवारीसाधनको आयात बढेको छ । 

उनले भने, ‘नाका खुलेयता नेपाल भित्रिने कन्टेनरको संख्या निरन्तर बढिरहेको छ । आज साँझसम्म ६० भन्दा बढी कन्टेनर नेपाल भित्रिसकेका छन् भने हिजोमात्रै ४५ कन्टेनर आएका छन् ।’

बाटोको अवस्था सन्तोषजनक रहेको उनको भनाइ छ । करिब १०० किलोमिटरभन्दा बढी कच्ची सडकले भने केही समस्या सिर्जना गरेको उनको भनाइ छ । यद्यपि, कर्मचारी व्यवस्थापन राम्रो रहेको र कुनै पनि प्रकारको अभाव नरहेको प्रमुख जिल्ला अधिकारी भुसालले विकासन्युजसँग बताए । 

भन्सार कार्यालयका अनुसार नाकामा आयात भएका सामग्रीमध्ये विद्युतीय सवारीसाधन (ईभी) को संख्या बढी छ । हालसम्म १ सय ६० वटा ईभी आयात भइसकेको छ । तर, यी ईभीहरूलाई चार्ज गर्नका लागि नाकामा आवश्यक पूर्वाधार, विशेषगरी चार्जिङ स्टेशनको अभाव छ । 

कार्यालयले यस अभावलाई स्वीकार गर्दै आगामी दिनमा यसको व्यवस्थापनका लागि पहल गरिने बताएको छ । विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन आएको यो नाका दुई वर्षपछि व्यापारिक रूपमा सञ्चालनमा आएको हो । हाल नाकामा करिब तीन सय कन्टेनर पुगेका र थप एक हजार पाँच सय कन्टेनर दशैंको सामान लिन कोराला जाने क्रममा रहेको बताइएको छ । कोराला नाका सञ्चालन हुन थालेपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका व्यवसायीमा उत्साह छाएको छ । 

समुन्द्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको कोराला नाकामा प्रदेश सरकारले गतवर्ष बनाएको भवनमा पूर्वाधार निर्माण, इन्टरनेट र विद्युत् जडान गरेर भन्सार सञ्चालन गरिएको छ । नेपालबाट मूर्ति, कपडा र बाँसका मुढा चीनतर्फ निकासी भएका छन् । दसैंका लागि कपडाजन्य सामान बोकेका ६० वटा चिनियाँ कन्टेनर कोरला नाकामा आएका छन् । थप कन्टेनर आउने क्रम जारी छ । 

सीडीओका अनुसार मुस्ताङतको अवस्था हेर्दा कृषि उत्पादन तथा पशुपालनमा चहलपहल बढेको छ । स्याउ पाक्न थालेका छन् र तल्लो भेगमा ल्याउने कार्य भइरहेको छ । त्यसैगरी, दसैंका लागि खसीबोका र भेडाहरू पनि बिक्रीका लागि तल्लो क्षेत्रमा झारिँदैछ ।
 

Share News