काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले उपभोक्तालाई चाडपर्वमा सहुलियत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् ।
प्रत्येक वर्षजस्तै यस वर्ष पनि सुपथ मूल्य पसल सञ्चालनमा आएको हो । सुपथ मूल्य पसलमार्फत उपभोक्ताले चामल, गहुँ, दाल, केराउमा प्रतिकेजी पाँच रुपैयाँ छुट पाउनेछन् । त्यस्तै, चिनीमा प्रतिकेजी पाँच रुपैयाँ, चिउरा, आटा, पिठो, मैदा, चियापत्ती, जिरा, धनियाँलगायत मसला पदार्थमा प्रतिकेजी सात रुपैयाँ छुट दिइएको छ ।
तेलमा प्रतिलिटर सात रुपैयाँ छुट रहेको छ भने सिमी, फापर, मार्सी र बासमती चामलमा प्रतिकेजी १० रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको छ ।












