काठमाडौं । वर्षाको कारण देशका अधिकांश राजमार्ग र सडक भत्किँदा यात्रा निकै कष्टकर बनेको छ । पोकापुन्तुरा बोकेर आफन्तसँगै दशैं मनाउन घरतर्फ हिँडेका यात्रुहरू अहिले ठाउँ–ठाउँमा सडकमा अलपत्र परेका छन् । कहिले घर पुगिने हो भन्ने न ठेगान छ, न टुङ्गो ।
निकै व्यस्त मानिने मुग्लिन–नारायणगढ सडकखण्ड शुक्रबार साँझदेखि लगातारको पहिरोका कारण अवरुद्ध छ । शुक्रबारदेखि सो सडकखण्ड हुँदै जाने सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् ।

चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै खसेको पहिरोले यातायात पूर्ण रूपमा ठप्प पारेको ४४ घण्टा भइसकेको छ ।
जसका कारण सयौं सवारीसाधन र हजारौं यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । पहिरो पन्छाउने कार्य जारी रहे पनि माथिबाट ढुंगा र माटो खस्ने क्रम नरोकिएकाले सडक खुलाउन कठिनाइ भइरहेको छ ।

सडक डिभिजन भरतपुरका डिभिजन प्रमुख नारायण लामिछानेका अनुसार पहिरो हटाउनका लागि मुग्लिनतर्फ र नारायणगढतर्फबाट गरी १२ वटा हेभी इक्विपमेन्ट (प्रत्येकतर्फ ६ वटा) परिचालन गरिएका छन् ।
‘हामी निरन्तर काममा खटिएका छौं, तर यो ठाउँ साँघुरो भएकाले एकैचोटि धेरै मेसिन प्रयोग गर्न सम्भव छैन,’ उनले भने, ‘माथिबाट ढुंगा झर्ने क्रम पनि रोकिएको छैन । घरि सानो, घरि ठूलो पहिरो खसिरहेकाले काममा बाधा पुगिरहेको छ ।’

शुक्रबार बेलुका पहिरो खसेलगत्तै रातको समयमा काम गर्न खतरापूर्ण भएकाले रोकिएको थियो। । राति ठूला पहिरो खस्ने सम्भावना रहेकाले यात्रुहरूको सुरक्षाका लागि यातायात बन्द गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक गोविन्द पुरीले बताए ।
उनका अनुसार शुक्रबार पहिरो खसेलगत्तै रातको समयमा काम गर्न जोखिमपूर्ण भएकाले काम रोकिएको थियो ।
पुरीले यात्रुको सुरक्षाका लागि रातभर यातायात बन्द गरेको बताए । किनभने राति ठूलो पहिरो खस्ने सम्भावना प्रबल थियो । अहिले निरन्तर पहिरो पन्छाउने काम जारी छ ।
लामो समयसम्म जाममा फस्दा हजारौं यात्रुहरूले खाना, पानी र शौचालयको समस्या भोग्नुपरेको छ । कतिपय यात्रुहरूले भने जोखिमपूर्ण भए पनि वैकल्पिक मार्गहरूको प्रयोग गरिरहेको एसपी पुरीले जानकारी दिए।
यस्तै, जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अलपत्र परेका यात्रुहरूलाई व्यवस्थापन गर्ने काम गरिरहेका जानकारी दिए । उनका अनुसार यात्रुहरूका लागि हेल्थ डेस्क र नि:शुल्क खानाको व्यवस्था गरिएको छ ।
उनले भने, ‘हामी पहिरोस्थललमै छौं । अलपत्र परेका यात्रुहरूका लागि हेल्थ डेस्कको व्यवस्था गरेका छौं । विशेषगरी विरामी तथा महिलाहरूलाई लक्षित गरेर हेल्थ डेस्कको व्यवस्था गरेका हौं ।’

गाडीको जाम कावासोतीदेखि यही पहिरोसम्म रहेको उनको भनाइ छ ।
मुग्लिन–नारायणगढ सडकखण्डको अवरोधले देशभरको यातायात र आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको छ ।
विशेषगरी मालवाहक सवारीसाधनहरू यही मार्गबाट राजधानी प्रवेश गर्ने हुँदा आपूर्तिमा समेत समस्या आउने देखिएको छ ।
वर्खाको समयमा मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खस्ने समस्या हरेक वर्ष दोहोरिने गरेको छ ।
शनिबारदेखि मुग्लिननारायणगढ सडक सास्ती खेपिरहेको धनगढीकी राजमति कुँवर बताउँछिन् । उनले सडक कहिले खुल्ला र कहिले घर पुग्ने टुङ्गो नभएको बताइन् ।
उनले भनिन्, ‘रातभर सडकमै सुत्नुपरेको छ । पहिरो कारण हामीले निकै सास्ती खेपिरहेका छौं । सडक खुल्ने केही सुरसार छैन’, उनले भनिन् ।
कहिले खुल्ला त सडक ?
पहिरो पन्छाउने कार्यको करिब आधा जति काम सकिएको जानकारी दिँदै एसपी पुरीले यदि थप ठूलो पहिरो नखसेमा आज साँझसम्म एकतर्फी भए पनि सडक खुलाउन सकिने अपेक्षा गरिएको बताए ।
‘५/६ घण्टाभित्र खुल्न सक्ने सम्भावना छ, तर यो पूर्ण रूपमा माथिबाट पहिरो नखसेको अवस्थामा मात्रै सम्भव छ,’ उनले भने ।
सडक डिभिजन भरतपुरले पनि आइतबार बिहान एक सूचनामार्फत थप पहिरो नझरेमा छिटोभन्दा छिटो सडक सञ्चालनमा ल्याउन कटिबद्ध रहेको जनाएको छ ।
मुग्लिन–नारायणगढ सडकको अवरोधले यात्रुहरूमा ठूलो असुविधा पुर्याएको छ र पहिरो पन्छाउने काम जारी रहे पनि माथिबाट ढुंगा झर्ने क्रमले चुनौती थपेको छ । अन्य सडकखण्डहरूमा भने सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ ।
तुइन खोला मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको छ । राजमार्गको दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ ।