अहिले हामी एउटा संवेदनशील मोडमा छौं । देश आन्तरिक रूपले अस्थिरता, सुशासनको अभाव र अवसरको कमीबाट गुज्रिरहेको छ । यो अवस्था कसैका लागि सहज छैन । विशेष गरेर जेनजी युवाहरु जसले भविष्यको सपना देखेका थिए । उनीहरुमाथि नै अहिलेका सबैभन्दा ठूलो चुनौती आइलागेका छन् ।
तर, आशाको किरण त्यो आन्दोलन बन्यो । जुन युवाहरुको आवाज बनेर उभियो । उनीहरुले उठाएका मुद्दा भ्रष्टाचारविरुद्धको लडाइँ, रोजगारीको अभाव, उद्यमशीलताको अवसर, र राज्यको असफलताप्रति गरिएको प्रश्न अहिले सम्पूर्ण देशको प्रश्न बनेको छ ।
म अत्यन्तै भावुक छु । ७० भन्दा बढी युवाहरुले ज्यान गुमाउनु पर्यो । जुन मुलुकका लागि ठूलो क्षति हो । मैले ती फोटोहरु देखें, ती अनुहारहरु मेरो आँखामा झल्झली देखिन्छन् । त्यसैले, सबैभन्दा पहिले म ती सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । उनीहरुको बलिदान खेर जान दिन्नँ । म जुनसुकै निर्णयमा पुग्दा पनि त्यो बलिदानले मलाई मार्गदर्शन गर्नेछ ।
म कानुन व्यवसायमा ३४ वर्ष बिताएर उद्योग, व्यापार, कर र वैदेशिक लगानी जस्ता विषयमा काम गरेको मान्छे हुँ । सर्वोच्च अदालतमा सेवा दिएको अनुभवले मलाई थाहा छ । जबसम्म देशमा उद्योग–व्यवसायको विकास हुँदैन, तबसम्म अर्थतन्त्र चल्दैन, अनि युवाहरुको लागि अवसर पनि सिर्जना हुँदैन ।
सहिद परिवार र घाइतेहरुको लागि रोजगारीका अवसरहरू खोज्नेछु । निजी क्षेत्रसँग समन्वय गरेर उनीहरुलाई सम्मानजनक जीविकोपार्जनका अवसर दिने प्रयास हुनेछ । युवा विदेश गएर फर्किएपछि उही प्रकारको काममा फर्किनुपर्ने अवस्था नरहोस् । उनीहरुको सीप स्तरवृद्धि गराई, स्वदेशमै आत्मनिर्भर बन्न सक्ने वातावरण निर्माण गर्नेछु ।
अनावश्यक अनुमति प्रणाली, कागजी प्रक्रियाहरूलाई डिजिटलाइज गरी सरलीकरण गरिनेछ । अनुत्पादक ढिलासुस्ती र प्रशासनिक झन्झट हटाइनेछ । देश पुनर्निर्माणको अवस्थामै छ । सरकारी कार्यालयहरु पुनःनिर्माण गर्नुपर्ने छ । यस्तो अवस्थामा, हामीले नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने निर्णय गरेका छौं । फर्निचरदेखि लत्ताकपडासम्म जहाँ सकिन्छ, त्यहाँ ‘मेड इन नेपाल’ प्रयोग गरौं ।
हामीले इतिहास हेर्दा, जापानले दोस्रो विश्वयुद्धपछि देश निर्माणका लागि आफ्नै उत्पादनको प्रयोगलाई प्राथमिकता दिएको पाइन्छ। हामीले पनि त्यही बाटो समात्नुपर्छ । जसले देशभित्रको उद्योगलाई बाँच्ने आधार दिन्छ ।
मैले तत्काल योजनाहरू घोषणा नगरेको कारण यति छ । म रियालिस्टिक बन्न चाहन्छु, नकि दिखावटी । योजनाहरू कार्यान्वयनयोग्य हुनुपर्छ । म अर्थमन्त्री, प्रधानमन्त्री तथा सम्बन्धित निकायहरूसँग गहिरो छलफल गरेर नीति निर्माणमा लाग्नेछु । यो सरकार एक अन्तरिम सरकार हो । हाम्रो मूल उद्देश्य स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउनु हो । म चाहन्छु आगामी संसदमा युवा, सक्षम र दूरदृष्टि भएका अनुहारहरू देखियोस्, जसले साँच्चिकै मुलुक परिवर्तन गर्न सकून् ।
(उद्योगमन्त्री सिन्हाले पदभार ग्रहण गर्दा राखेको विचारको सम्पादित अंश)