२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन विश्वमै सबैभन्दा छोटो अवधिमा सफल भएको आन्दोलनमध्ये पर्दछ । साथै छोटो अवधिको सर्वाधिक विनाशकारी आन्दोलन पनि हो । अन्य आन्दोलनमा उपलब्धिको मात्र चर्चा हुने गर्दथ्यो भने अहिले क्षतिको पनि चर्चा भइरहेको छ । त्यसकै आधारमा क्षतिमा मुख्य जिम्मेवार को भन्ने प्रश्न उठाइएको छ ।
देशको सत्ता नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नियन्त्रणमा चलिरहेको थियो । उनीविरुद्ध युवा जनमत र जन आक्रोश पैदा गराउने काम काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गरिरहेका थिए । बालेन र केपी दुबै एक अर्कालाई तल पार्न प्रयत्नशील थिए । तर दुवै आ-आफ्नो पक्षमा झन् कडा भइरहेको थिए । यस बीचमा जेनजी आन्दोलन भएको थियो ।
केपीको जिम्मेवारी
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वभाव हेर्दा उनमा हठ छ । उनले आफूले गरेको काममा कहिल्यै पश्चाताप गर्दैनन् । उनी विरोधीलाई स्वीकार गर्दैनन् । विरोधीमाथि क्रुरतापूर्वक प्रस्तुत हुन्छन् । आफूले गरेका सबै काम ठीक छन् भन्नेमा उनी ढुक्क हुन्छन् । आँटेको काम सम्पन्न गर्न सक्छु भन्ने अदम्य साहस र आत्मबल उनमा छ । गलत भए दोष अर्को पक्षलाई लगाउँछन् । दोष अरुमाथि थोपर्ने वाककलामा उनी अब्बल छन् ।
केपी ओलीले आफू शक्तिमा नहुँदा नेपालको सार्वभौमसत्ता र अखण्डता जोखिममा पर्ने भन्दै आफ्नो महत्त्व स्थापित गर्दै आएका छन् । यो उनको वास्तविकता हो या जनतामा भ्रम पारेर आफूप्रतिको सद्भाव कायम गराउने रणनीति हो भन्ने प्रमाणित परीक्षण भएको छैन ।
ओलीले आफू भ्रष्टाचारको विरोधमा रहेको भनेर गर्ने गरेका दाबी भने फेक प्रमाणित भइसकेका छन् । उनले आफू निकटका व्यक्ति विरुद्धको आरोपमा जसरी प्रतिवाद गरे पनि भ्रष्टाचारमा संलग्न रहेको तथ्य, तर्क र प्रमाणबाट देखिएका छन् ।
केपी ओलीको कारण नेकपा एमालेभित्र र सर्वसाधारण जनतामा निकै ठूलो आक्रोश पैदा भएको पाइन्थ्यो । संगठनमा दमनकारी चरित्र र शासन प्रणालीमा भ्रष्टाचार उनको विशेषताका रुपमा बुझिए । जनतामा निराशा र आक्रोश पैदा हुनुमा केपी ओलीकै क्रियाकलाप जिम्मेवार छन् भन्ने देखिन्छ ।
बालेनको भूमिका
के केपी ओली त्यति धेरै कुशासनका नाइके थिए जति जनमानसमा परेको छ ? वा उनीविरुद्ध जनभावना सिर्जना गर्न बालेनले एम्लिफायर (साउण्ड बक्स) को काम गरेका हुन् ? बालेन एकोहोरो पुराना दल विरुद्ध लागिरहनु र त्यसमा एक जना ओलीलाई तारो बनाउनुले ओली जति भ्रष्ट र क्रूर छन्, त्यसलाई जनमानसले धेरै गुणा बढी बुझ्ने अवस्था सिर्जना भएको हुन सक्छ कि सक्दैन ? यी प्रश्नमा घोत्लिनुपर्दछ ।
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेनले आफू भ्रष्टाचार नगर्ने, राष्ट्रवादी तर केपी ओली भ्रष्टाचारीको नाइके भएको भनेर स्थापित गर्ने प्रयत्न गरे । भ्रष्टाचार नगर्ने र राष्ट्रवादी भएको दाबी ओली र बालेन दुवैको उस्तै छ।
केपीले भारतले प्रयोग गरेको लिपुलेक नेपालको नक्सामा राखेर प्रयोगमा ल्याए भने बालेनले ग्रेटर नेपालकै नक्सा आफ्नो कार्यकक्षमा राखे भन्ने सार्वजनिक भयो । केपीले भारत विरोधी विभिन्न वक्तव्यहरू दिए । बालेनले काठमाडौंमा हिन्दी फिल्म प्रतिबन्धसमेत लगाए ।
बालेनले भ्रष्टाचारको विरोध गरे पनि वास्तविकता के हो भन्ने प्रमाणित परीक्षण भएको छैन । बालेनले विभिन्न कर्मचारी र पदाधिकारीहरूलाई भ्रष्टाचारको आरोप लगाएको सार्वजनिक भएको छ । आमसर्वसाधारणले त्यसैलाई विश्वास गरेको पनि देखिन्छ ।
केपी ओली संघ सरकारको प्रमुख भएको, शासनको दायरा व्यापक भएको, साथै दलको समेत नेता भएको कारण दल भित्रबाट सूचना चुहिने सम्भावना हुन्छ । त्यस कारण उनी विरुद्ध खोजीनीति र उजागर पनि धेरै भए । बालेनबारे त्यही स्तरमा खोजी नीति हुन उनी पनि मुलुकको कार्यकारी प्रमुखको पदमा पुग्नुपर्दछ ।
बालेनले ओलीभन्दा बठ्याइँ गरेर बचिरहेको पनि हुन सक्छ । अहिले आफ्ना मानिसलाई प्रयोग गरेर भ्रष्टाचार गरिरहेको, आफू प्रत्यक्ष संलग्न हुनबाट बचेको र कुनै बेला उनका मानिसको चरित्र उदांगो भयो भने उल्टै त्यही व्यक्तिलाई कारबाहीको लागि सहयोग गरेर आफू भ्रष्टाचारविरुद्ध शून्य सहनशील भएको देखाउने प्रयत्न गर्न सक्छन् । अर्थात् केपी आफ्ना मान्छे बाहेक विरुद्ध क्रूर थिए भने बालेन आफ्ना मानिस विरुद्ध पनि क्रूर हुन सक्छन् ।
अहिलेसम्मको तथ्यले बालेनले कुशासन र भ्रष्टाचारलाई अँगालेका छन् भन्ने आधार, प्रमाण भेटिएको छैन । यसको अर्थ उनी स्वच्छ नै छन् भनेर निर्क्यौल निकाल्न सकिँदैन । पर्याप्त नखोजिएको र नभेटिएको हुन सक्ने सम्भावना बाँकी छ । उनी पारदर्शी र अन्तरक्रियात्मक भएको भए शंका बाँकी राख्न जरुरी हुँदैन थियो । तर उनी रहस्यको पात्र भएको हुनाले वास्तवमा देखिए र बुझिए जस्तै असल हुन वा भित्री नियत फरक छ भनेर पर्खनुपर्ने हुन्छ ।
बालेन कति क्रूर र तानाशाही छन् भन्ने ओली जस्तो देखिएको छैन । यसका लागि उनीबाट पीडित व्यक्तिहरूको खोजी गरेर तथ्य प्रमाण हेर्नुपर्छ । जेनजी आन्दोलनपछिको सरकार निर्माणमा बालेनको प्रभाव देखिएको हुँदा उनीमाथि खोतल्ने व्यक्ति र प्रयत्न अब बढ्नेछन् ।
देखिएका बालेन
बालेन काठमाडौंको मेयर भएपछि सार्वजनिक राजनीतिक सम्वादमा सामेल भएका छैनन् । उनी धेरैको पहुँचबाट टाढा छन् । उनका प्रतिनिधिले डिल गर्ने गरेका देखिन्छ । उनले साइत हेरेर फेसबुक स्टाटस लेख्छन् । उनको स्टाट्समा विकासको कुनै भिजन, योजना वा समस्या समाधानको बाटो हुँदैन । अरूको विरोध गर्ने र लोकप्रियता कमाउने उद्देश्य झल्किन्छ ।
उनले हार्ने स्टाटस लेख्दैनन् । काठमाडौं महानगरपालिका कार्यपालिकाको बैठक प्रत्यक्ष प्रशारण गर्दछन् । त्यहाँ पनि थोरै बोल्छन् र जित्ने कुरा मात्र बोल्छन् । अरूलाई दोषी देखाउने कुरा मात्र बोल्छन् ।
भ्रष्टाचारको आरोप लगाएर उनले कार्यालयबाट लखेटेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई पछि उपप्रमुख, वडाध्यक्ष र कर्मचारीले नगर प्रहरीसँग लडाइ गरेर भित्र्याए । त्यतिखेर बालेन हारेका थिए । उनले घटनामा प्रतिक्रिया जनाउँदा त्यसमा काउण्टर जवाफ आउने प्रबल सम्भावना थियो ।
त्यतिखेर उनले ढुंगेधारा पुनर्उत्थानको भिडियो पोष्ट गरे । अहिले जेनजी आन्दोलन र सरकार गठनको विषयमा बालेन माथि विभिन्न प्रश्न उठेका छन् । त्यसैले उनी प्रतिक्रिया नजनाइ बसेका छन् । आफ्नो निर्णयले काठमाडौंमा देशभरका २० हजार विद्यार्थीले छात्रवृत्ति पाएको तथ्यांक पोष्ट गरेका छन् ।
उनले जन समर्थन घट्न सक्ने परिस्थितिमा जल्दा बल्दा विषयमा टिप्पणी गर्दैनन् । परिस्थितिलाई मोडेर अप्रासङ्गिक विषयमा प्रस्तुति गर्दछन् । जसले गर्दा विरोधीलाई थप सक्रिय हुने अवसर मिल्दैन भने समर्थकले उनलाई भेटेको महसुस गर्न पाउँछन् ।
नदेखिएका बालेन र भविष्य
जेनजीको भोटिङमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले बहुमत प्राप्त गरिन । जबकि उनलाई सायदै कुनै जेनजीले चिन्दथे । २४ गतेको जेनजी आन्दोलनमा समर्थन जनाएर उनी उपस्थित भएकी थिइन् । एकै दिनमा उनी जेनजी माझ लोकप्रिय भएकी होलिन् र ?
जेनजी समूहमा सबैले चिनेको र खोजेको अनुहार बालेन शाह थियो । यसै अनुमान गर्दा उनलाई ९० प्रतिशत मत आउनुपर्ने देखिन्छ । तर सुशीलाभन्दा केही कम मत प्राप्त भयो । बालेन दिनभर सम्पर्कविहीन भए । सुशीलाको बहुमत पुगेपछि उनलाई आफ्नो समर्थन रहेको स्टाटस लेखे । सम्पर्कविहीन हुनुको कारण भने पछिसम्म खुलाएनन् ।
प्रधानमन्त्री सुशीला कार्की बालेनको अघोषित कानुनी सल्लाहकारको भूमिका थिइन भन्ने चर्चा न्याय वृत्तमा व्याप्त थियो । गृहमन्त्री ओम प्रकाश अर्याल त बालेनका औपचारिक कानुनी सल्लाहकार नै थिए ।
आजभोलि बालेन भारत र अमेरिकाबाट परिचालित पात्र हो भनेर आशंकाहरू सार्वजनिक भएका छन् । त्यसो त कोही एक्कासि लोकप्रिय वा शक्तिशाली भयो भने विदेशीबाट परिचालित हो भन्ने अनुमान नेपालमा त्यतिकै लगाइन्छ ।
तथापि नेपाल विदेशी शक्तिको लागि चासो भएको मुलुक अवश्य हो । त्यसैले विदेशी शक्ति उपयुक्त पात्रको खोजीमा जहिले पनि हुन्छन् । तर उनीहरुले आफैले पात्र उत्पत्ति गर्न भने सम्भव कुरा होइन । लोकप्रिय हुन सक्ने सम्भावना देखिएको पात्रमा लगानी गर्छन् ।
अमेरिका र भारतको नेपालप्रतिको दृष्टिकोण सम्पूर्ण रूपले समान छैन । मानौं अमेरिका चौतारा जान चाहन्छ । भारत सिन्धुली जान चाहन्छ । धुलिखेलसम्म दुवैले सहकार्य गर्न सक्छन् । चीनको तुलना गर्दा भारत अमेरिकाको मित्र हो । दक्षिण एसियामा अमेरिकी प्रभावको प्रतिरोधमा भारत पनि एक शक्ति हो ।
बाह्यशक्तिले कलिलो युवा बालेनलाई राजधानीको मेयरबाट सुरु गरेर मुलुकको प्रत्यक्ष कार्यकारी बनाउने मनसाय राखेको हुन सक्छ । तर शक्ति केन्द्रले बालेनलाई प्रयोग गर्न खोजेको हो भन्दैमा त्यो दीर्घकालसम्म सफल हुन्छ भन्ने छैन । पहिलो त, बालेनले जनसमर्थनको निरन्तरता नपाएर बीचमै रोकिन सक्छन् । दोस्रो, बालेन उल्टो बाह्य शक्तिलाई प्रयोग गरेर आफू अघि बढ्न पनि सक्छन् ।
अहिले अवसर पाउँदा पनि बालेनले सरकारको नेतृत्व गर्न नचाहेको घटनाबाट उनी अझै पनि धेरै उजागर हुनबाट बच्न खोजेको संकेत मिल्दछ । त्यस्तै उनले दल गठन गरे भने पनि देखिने अध्यक्ष पद नलिने अड्कलबाजी गरिएका छन् । देशभरका स्वतन्त्रलाई समेटेर नयाँ पाटी बनाउने बालेनको सोच बुझिन्छ । तर साम्पाङले माथिल्लो पोर्टफोलियो दाबी गरेपछि दल गठनको योजना अन्योलमा छ । अब उनी सबै दलको विरोध गर्दै आफ्नो लोकप्रियता बढाउने रणनीतिमा जान सक्छन् ।
(लेखकको निजी विचार हो ।)