काठमाडौं । यति बेला नेपालीहरूको महान चाड दशैंको रौनक जताततै छ । मुलुकलाई दशैंको रमझमले छोपिरहेको छ । दशैं, तिहार जस्ता चाडपर्वहरूले हरेक वर्ष नेपाली समाजमा उत्साह र उमङ्ग लिएर आउँछन् । तर, यसवर्ष त्यो खालको उत्साह र उमङ्ग पटक्कै छैन । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घर जलेर ध्वस्त भयो । परिवार बिचल्लीमा परेको छ । अटो व्यवसायी तथा नाडा पूर्वअध्यक्ष ध्रुव थापाका लागि यो दशैं दशा बन्यो । जेनजी आन्दोलनका क्रममा घर नै जलेपछि थापा घरबारविहीन बन्न पुगेका छन् । यस वर्षको दशैं थापाका लागि हर्षभन्दा पनि पीडा र सङ्घर्षको स्मरण बनेर आएको छ । हाल उनी शरणार्थी शरह आफन्तको आश्रयमा बसिरहेका छन् ।
उमङ्गविहीन दशैं
यसवर्ष दशैंले उनका लागि उत्साह र उमङ्ग ल्याएको छैन् । ‘अहिले न त घर छ । न त सम्पत्ति छ । घरविहीन बनेर बाहिर आफन्तको शरण लिनुपरेको अवस्था छ । मानसिक रूपमा सुरूका दिनहरूमा साह्रै नै विक्षिप्त बनाएको थियो,’ थापाले भक्कानिदै भने ।
उनका अनुसार जेनजी आन्दोलनको क्रममा भएको विध्वंसले सबैको मानसपटलमा ताजा चोट छोडेको छ । र, यो पीडा व्यक्तिगत मात्र नभएर सम्पूर्ण नेपालीमा पनि देखिएको उनको अनुभव छ ।
कार्यालयमा एक जना काम गर्ने बहिनी गुमाउनु परेको पीडाले परिवारलाई अप्ठ्यारोमा पारेको छ । यद्यपि, पीडा र शोकमा सधैं बसिरहनु उचित नहुने महसुस गर्दै परिवार अगाडि बढ्ने तयारीमा रहेको उनी बताउँछन् ।
‘यो घर र सम्पत्ति गुमाउनुको पीडा हामीलाई मात्र थाहा छ । हामी घरविहीन भयौं, त्यो आफ्नो ठाउँमा छ । यति बेला सम्पूर्ण नेपालीमा पनि त्यो खालको उत्साह देखिएको छैन,’ उनले भने ।
उत्साह नभए पनि संस्कृतिलाई जीवन्त राख्नका लागि सानो–ठूलो गरेर भए पनि चाडपर्व मनाउने तयारी गरिरहेको थापा बताउँछन् । दशैंलाई शक्ति र सद्भावको पर्वका रूपमा लिँदै उनले भने, ‘यो समयमा शक्ति प्रदान गर्ने दुर्गा माताको पूजा आराधना गर्छौं । जसले थप शक्ति पनि प्रदान गर्नेछ भन्ने अपेक्षा हामीले लिएका छौं । ’
उनले यो दशैंले नेपालीहरूमा आपसी मेलमिलाप र सद्भाव वृद्धि गरोस् भन्ने कामना पनि व्यक्त गरे । थापाको जेनजी आन्दोलनका सुरुका दिनहरूमा सहपरिवार मानसिक रूपमा विक्षिप्त बनेको थियो । ‘किन हामीलाई यो टार्गेट गरियो भनेर अहिले पनि प्रश्न कायमै छ,’ उनी भन्छन् ।
उनी आन्दोलन आयोजकहरूलाई पनि जिम्मेवार ठान्छन्, यद्यपि तत्कालीन सरकारको नियन्त्रण गर्न नसक्नु ठूलो चुक भएको उनको आरोप छ । देशको खराब अवस्था चरम भ्रष्टाचार कुशासनका कारण आन्दोलनको नैतिक समर्थन भए पनि विध्वंसको भने विपक्षमा रहेको सुनाउँछन् ।
‘आन्दोलनलाई हाम्रो पनि नैतिक समर्थन थियो । तर, जुन खालको विध्वंस भयो । यसलाई त सरकारले कन्ट्रोल गर्न सक्थ्यो ।’
उनका अनुसार यो आन्दोलनले सानो परिर्वतन मात्रै गरेको छ । जबकि ठूलो विध्वंस भयो । जनताले चाहेजस्तो परिवर्तन नआएको र भविष्यमा पनि यस्तै अस्थिरता दोहोरिन सक्ने चिन्ता उनलाई छ ।
पहिलेका आन्दोलनले ८/१० वर्षको स्थिरता दिए पनि यो आन्दोलनले छ महिनाका लागि सरकार परिवर्तन मात्रै जस्तो देखिएको उनको बुझाइ छ ।
निजी क्षेत्रमाथि बारम्बारको प्रहार
हरेक आन्दोलनमा निजी क्षेत्र नै पहिलो निशाना बन्ने गरेकोमा उनको गम्भीर आपत्ति छ । ‘निजी क्षेत्रप्रति कसैले पनि यस्तो गर्नु हुँदैन । व्यवसायी भनेका नाफाखोर लुटेरा र तस्कर हुन् भन्ने मानसिकता कसैले पनि राख्नुहँुदैन् । तर हाम्रो समाजमा आम नागरिकमा यस्तो मानसिकता बनाइएको छ की सबै व्यवसायीहरुले विगारेका हुन्,’ उनले दुखेसो पोखे ।
थापा परिवारले जेनजी आन्दोलका कारण ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको छ । ३५ वर्षदेखिको सम्पतित्त छिनभरमै गुमाउनुको पिडा उनको मानसपटलमा घुमिरहेको छ ।
उनले आफ्नो व्यक्तिगत सम्पतित्त १६ करोड रुपैयाँ गुमाएका छन् भने उनका दाजु विन्दुकुमार थापाले ५० करोड बराबरको क्षति बेहोरेका छन् ।
पोखराको गण्डकी क्षेत्रमा मात्रै दाजुभाइको कुल ६६ करोडको क्षति भएको छ । जसमध्ये होटल, कर्पोरेट बिल्डिङ र निजी निवासहरू ध्वस्त भएका छन् । यो निजी क्षेत्रमा भएको ठूलो क्षतिले उनीहरूलाई थप चिन्तित बनाएको छ ।
‘हामी नै किन पर्यौं ? न राजनीतिमा लागेको मान्छे । आफ्नो व्यवसायसँगै समाजसेवा मेहिनत गरेर कमाइ गर्ने मान्छे । हामीलाई नै किन टार्गेट गरियो भन्ने प्रश्न अझै कायमै छ,’ उनले भने ।
यो मानसिकता कर्मचारी र सरकार पक्षले नै विकास गरेको उनको आरोप छ । उनले यो धारणा बदल्न जरुरी भएको बताउँछन् । व्यवसायीहरू राष्ट्रका गहना हुन्, उनीहरूले कर तिरेर देश चलाएका छन् र रोजगारी सिर्जना गरेका छन् । उनीहरूलाई संरक्षण गर्नुपर्छ भन्ने भावना जनतामा नआएसम्म यस्ता घटना दोहोरिने निश्चित रहेको उनको भनाइ छ ।
यसपटक त ज्यानै जोखिममा पर्ने अवस्थासमेत आएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
परिवारको अवस्था
थापाका परिवारका सदस्यहरू सामान्यीकरणतर्फ अगाडि बढेका छन् । बच्चाहरू कलेज र काममा फर्किएका छन् । उनकी श्रीमती सामाजिक सेवामा सक्रिय छिन् । भूकम्प र कोभिड महामारीमा जस्तै अहिले पनि लाइन्स इन्टरनेशनलमार्फत सामुदायिक क्षेत्रमा भएको विध्वंसको पुनर्निर्माणका लागि पहल गरिरहेकी छन् ।
‘हामी दुवैजना दम्पत्ति सामाजिक सेवामा लागिरहेका छौं । समाजमा अप्ठ्यारो परेका क्षेत्रहरू छन् । त्यतातिर पनि हेरौं भनेर अहिले दशैंमा अप्ठ्यारो अवस्था सिर्जना भएको छ । यो समयमा सेवा गरौं भन्ने उद्देश्यले हामी त्यतातिर पनि लागिकेका छौं । ’
सरकार र व्यवसायी संघसंस्थाहरूबाट सहयोगको वातावरण बनेकोमा उनले खुसी व्यक्त गर्छन् । आर्थिक सहयोग नभए पनि बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य र व्यवसायीका लागि राहतको पहल भइरहेको उनी बताउँछन् ।
घरको बीमा नभएकाले तत्काल पुनर्निर्माणको ठोस योजना नभएको थापा बताउँछन् । अहिले सरसफाइ र इन्जिनियरिङ टोलीबाट संरचनाको क्षमता जाँच गर्ने तयारी भइरहेको उनी बताउँछन् । काठमाडौंबाट विशेषज्ञहरू लगेर घरको संरचनाको अवस्था जाँच गरेपछि मात्रै पुनर्निर्माणको योजना बनाउने तयारी उनको छ । उनका अनुसार त्यसपछि मात्र रेट्रोफिट गर्ने वा भत्काएर नयाँ बनाउने निर्णय लिइनेछ ।
जीवनमा जस्तोसुकै अप्ठ्यारो आए पनि सामना गर्नुपर्छ भन्ने मान्यताले उनलाई अगाडि बढ्न प्रेरणा दिइरहेको छ । यस्तो कठिन परिस्थितिमा पनि थापाले धैर्य र सकारात्मकता गुमाएका छैनन् । ‘जे जस्तो परे पनि पर्ने त परिसक्यो । अब परिसकेपछि त्यसलाई पछुताएर मात्रै बसेर भएन । लाइफ त फेरि अगाडि बढाउनुछ,’ उनी भन्छन् ।
भौतिक क्षतिलाई फेरि पुनर्निर्माण गर्न सकिनेमा उनी आशावादी छन् । उनले जेनजी उमेरका तीनै जना छोराहरूले पनि हौसला दिइरहेकाले उनी थप उत्साहित भएको थापाको भनाइ छ ।
यस्तो कठिन परिस्थितिमा पनि थापाले धैर्य र सकारात्मकता गुमाएका छैनन् । ‘जे जस्तो परे पनि पर्ने त परिसक्यो । अब परिसकेपछि त्यसलाई पछुताएर मात्रै बसेर भएन, लाइफ त फेरि अगाडि बढाउनु छ,’ उनी भन्छन् ।
यसपालिको दशैंमा उनले आफ्ना दाइ विन्दुकुमार थापा र भाउजूबाट टीका ग्रहण गरेका छन् । थापाका दाजु विन्दुकुमार गण्डकी प्रदेशका सामाजिक विकास तथा कानुनमन्त्री हुन् । उनका दाइ पनि सामान्य अवस्थामा फर्किएर कार्यालय जान थालेका छन् र धैर्यका साथ अगाडि बढ्ने पक्षमा छन् ।