मेटलाइफ फाउन्डेशनले फिफा-ग्लोबल सिटिजन एजुकेशन फन्डमा ९ मिलियन अमेरिकी डलर सहयोग गर्ने

काठमाडौं । मेटलाइफले गरिबी अन्त्य गर्ने विश्वकै सबैभन्दा ठूलो अभियान ग्लोबल सिटिजन सँग तीन वर्षे साझेदारी गर्ने घोषणा गरेको छ । कम्पनी प्रमुख भागीदारको रूपमा अभियानमा सहभागी हुने भएको छ ।

यस साझेदारीमार्फत मेटलाइफले आर्थिक सुरक्षा सुनिश्चित गर्ने, स्रोतमा पहुँच दिलाउने र लचिलो समुदाय निर्माण गर्ने आफ्नो अनुभव र क्षमताको प्रयोग गर्नेछ । प्रमुख साझेदारको हैसियतले कम्पनीले आर्थिक सहयोग, कर्मचारी स्वयंसेवकहरूको सक्रियता र आफ्नो विश्वव्यापी सञ्जालमार्फत शिक्षा तथा आर्थिक सशक्तिकरणमा रूपान्तरणकारी पहलहरू अघि बढाउने जनाएको छ ।

मेटलाइफ फाउन्डेशनले फिफा–ग्लोबल सिटिजन एजुकेशन फन्डमा संस्थापक दाताको रूपमा ९ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । यस फन्डले विश्वभरका बालबालिकालाई गुणस्तरीय शिक्षा र खेलकुदमा पहुँच दिलाउन १०० मिलियन अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको छ ।

स्थापना भएको करिब ५० वर्षदेखि शिक्षा सहयोगलाई आधारशिला बनाउँदै आएको मेटलाइफ फाउन्डेशनले हाल वित्तीय सिकाइ, मेन्टरिङ र सीप–प्रशिक्षणमार्फत विद्यार्थीलाई उज्ज्वल भविष्यका लागि तयार गर्दै आएको छ ।

मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफले भने. 'हामी मानिस र समुदायका लागि महत्वपूर्ण क्षणहरूमा सधैं उपस्थित रहन विश्वास गर्छौं । ग्लोबल सिटिजनसँगको साझेदारीले वित्तीय स्वास्थ्य प्रवद्र्धन, शैक्षिक अवसरहरू विस्तार र सबल समुदाय निर्माणमार्फत सकारात्मक परिवर्तन ल्याउनेछ । यो साझेदारीले मेटलाइफ फाउन्डेशनको परोपकारी परम्परालाई अझ सबल बनाउनेछ, जसले १९७६ यता १ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरिसकेको छ ।'

मेटलाइफले विश्वभरका ग्लोबल सिटिजन अभियानलाई सशक्त बनाउनेछ । यसमा न्यूयोर्कको सेन्ट्रल पार्कमा सम्पन्न ग्लोबल सिटिजन फेस्टिभलसहित, ग्लोबल सिटिजन नाउ एक्शन समिटहरूमा पनि योगदान रहनेछ ।

ग्लोबल सिटिजनका सह–संस्थापक तथा सीईओ ह्यू एभान्सले भने, 'हाम्रो संसारले सामना गरिरहेका जटिल समस्याहरू समाधान गर्न साझेदारीको शक्तिमा हामी दृढ विश्वास गर्छौं । मेटलाइफ, मेटलाइफ फाउन्डेशन र ग्लोबल सिटिजनबीचको यो नयाँ सहकार्यले हाम्रो प्रभावलाई विस्तार गर्नेछ र सबैलाई प्रगतिशील जीवन बिताउने अवसर दिलाउने हाम्रो साझा दृष्टिकोणलाई तीव्र बनाउन मद्दत गर्नेछ ।'

यस साझेदारीमार्फत ग्लोबल सिटिजन र मेटलाइफले विश्वभरका साझेदार, नेतृवर्ग र नागरिकलाई सक्रिय सहभागी हुन र अभियानलाई सफल बनाउन योगदान गर्न आह्वान गरेका छन् ।   

Share News