बुद्ध एयरका मालिकले खोले नयाँ पार्टी, अध्यक्ष बने प्रसाईं

यस्तो छ पार्टीको दस्तावेज

काठमाडौं । नेपाली राजनीतिमा एक नयाँ दलको उदय भएको छ । बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री डा. दिनेश प्रसाईं तथा अन्य व्यक्तिहरंको संलग्नतामा गतिशील लोकतान्त्रिक पार्टी नामक नयाँ राजनीतिक दलको निर्वाचन आयोगमा दर्ता भएको हो । 

आयोगले बिहीबार सो पार्टी औपचारिक निवेदन दिएर दर्ता भएको जानकारी दिएको छ । पार्टीको नेतृत्वमा समाजशास्त्र र नीतिगत विश्लेषणमा लामो अनुभव भएका डा. दिनेश प्रसाईं छन् । उनी पार्टीका अध्यक्ष रहेका छन् । 

महासचिव पीयूषप्रसाद कायस्थ रहेको केन्द्रीय समितिमा बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेत भने सदस्यको हैसियतमा रहेका छन् । 

पार्टीको विधानमा २० प्रतिशतभन्दा कम मत ल्याएमा सरकारमा नजाने व्यवस्था गरिएको छ । यस्तै, पदाधिकारीले आमनिर्वाचनमा भाग लिन नपाउने व्यवस्था समेत विधानमा गरिएको छ । 

व्यवसायी बस्नेत कार्य समिति सदस्य रहेकोले निर्वाचनमा उमेदवार बन्न पाउने छन् । पार्टीले आफ्नो घोषणापत्रमा वर्तमान नेपाली राजनीतिलाई विरोधमुखी, पेशागत स्वार्थप्रेरित, र जनताबाट टाढिएको उल्लेख गर्दै यसको विकल्पका रूपमा सिर्जनशील, सोचयुक्त र इमान्दार राजनीतिका लागि प्रतिबद्धता जनाइएको छ ।

पार्टीको घोषणापत्रमा भनिएको छ, ‘अबको चुनावमा पनि विरोधको राजनीति र पेशागत स्वार्थको राजनीति चलिरह्यो भने नेपाल गहिरो अँध्यारो खोंचमा फस्नेछ । त्यस खोंचबाट निस्कन देशलाई ठूलो मेहनत र बलिदान आवश्यक पर्छ ।’

पार्टीले अबको राजनीति इमान्दारी, त्याग, र नवीन सोचमा आधारित हुनुपर्ने आवश्यकता औंल्याएको छ । घोषणापत्रमा भनिएको छ, ‘त्यसैले अब सोचयुक्त र सिर्जनशील राजनीति गरौं । इमान्दारीको राजनीति गरौं । त्यागको राजनीति गरौं ।’

गतिशील लोकतान्त्रिक पार्टीले आफूलाई वर्तमान दलहरूबाट अलग रूपमा प्रस्तुत गर्दै व्यवसाय, शैक्षिक विचार, र सामाजिक उत्तरदायित्वको समिश्रण भएको नयाँ शक्ति को रूपमा देखाउने प्रयास गरेको छ । पार्टीले युवा पुस्ताको सहभागिता र नेतृत्वलाई प्राथमिकता दिने बताएको छ ।

राजनीतिमा लामो समयदेखि देखिएको विरोधमुखी अभ्यास, पार्टीगत संकीर्णता, र शक्तिकेन्द्रित मानसिकता लाई चुनौती दिँदै यो दलले विकास, रोजगारी सुशासन र समावेशी नेतृत्वलाई आफ्नो प्रमुख एजेन्डा बनाउने उल्लेख गरेको छ । 

Share News