काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमणमा परेको २०८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा फिर्ता ल्याएको छ । महानगरका प्रमुख बालेन्द्र शाहले अतिक्रमणमा परेका २३ अर्ब रुपैयाँ बराबरको २ सय रोपनीभन्दा धेरै सार्वजनिक जग्गा फिर्ता लिएको जानकारी दिए ।
आफू नेतृत्वमा आएसँगै महानगरले करिब २ खर्ब रुपैयाँ बराबरको १ हजार ८५९ रोपनी १४ आना अतिक्रमित जग्गा फिर्ता ल्याउने लक्ष्यका साथ काम गरिरहेको नगर प्रमुख शाहको भनाइ छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनःप्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको छ । सोही नीतिअनुसार सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान नै सञ्चालन गरिहेको नगरप्रमुख शाहले बताए ।
महानगरले फिर्ता गरिएका जग्गालाई पुनः कब्जामा नपरोस् भन्ने उद्देश्यले खुला पार्क, खेलकुद मैदान, स्केटबोर्ड पार्क, सत्तल, हरित क्षेत्र र सार्वजनिक उपयोगका स्थलका रूपमा विकास गर्ने कार्य तीव्रगतिमा अघि बढाइरहेको छ ।
सार्वजनिक जग्गाको संरक्षण कार्यलाई थप प्रथामिकताका साथ अघि बढाउन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदनलाई नीतिगत आधार मानी मिचिएका १ हजार ८५९ रोपनी १४ आना जग्गा पुनः सार्वजनिक उपयोगमा ल्याउने लक्ष्यसहित कार्यान्वयन समिति गठन गरिएको र समितिले भोलिदेखि कार्यप्रारम्भ गर्ने महानगरले जनाएको छ ।
नगरप्रमुख शाहले उक्त अभियान केवल सार्वजनिक जग्गा अतिक्रमणमुक्त बनाउनमात्र नभई सार्वजनिक सम्पत्तिमा सर्वसाधारण सबैको पहुँच बढाउन, जनताले उपभोग गर्न पाउने अधिकार स्थापित गर्न साथै स्वाभिमानको रक्षा गर्न भएको बताए ।