काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारपछि कार्यपालिका भवन निर्माण सुरु गर्ने भएको छ । महानगरका प्रमुख बालेन शाहले शुक्रबार कार्यपालिका बैठकमा सो कुराको जानकारी गराएका हुन् ।
विगत लामो समयदेखि महानगरपालिले आफ्नै कार्यपालिका भवन बनाउने कुरा उठाउँदै आएपनि आजका दिनसम्म भाडाको भवनबाटै नागरिकलाई सेवा प्रवाह गर्दै आएको छ ।
महानगरका प्रमुख शाहले तिहारपछि कार्यपालिका भवन सुरु हुन्छ भनेको ठाउँ अन्त कतै नभएर बागदरबार हो । जुन ठाउँमा अहिले महानगर प्रहरी बस्दै आएको छ ।
महानगरका सूचना अधिकारी नुरनिधि न्यौपानेका अनुसार महानगरले बागदरबारलाई रेट्रो फिटिङ गरेर निर्माण गर्दैछ । ‘बागदरबारको रेट्रोफिटिङ प्रक्रिया अगाडि बढिसकेको छ । तिहारपछाडि काम सुरु हुन्छ,’ उनले भने ।
सूचना अधिकारी न्यौपानेका अनुसार बागदरबारको रेट्रोफिटिङ सम्पन्न हुन कम्तीमा पनि एक वर्ष लाग्छ । उनले बागदरबार महानगरको लागि भने पर्याप्त नहुन बताउँछन् । उनका अनुसार बागदरबारलाई महानगरले बैठक हल र म्युजियम बनाउने कुरा उठाएको छ ।
त्यस्तै, महानगरले तिहार लगत्तै टेकुस्थित पुरानो भवन भएको ठाउँमा भवन निर्माण प्रक्रियालाई अगाडि बढाउने तयारी गरेको छ । यसअघि नै महानगरले पुरानो भवनलाई भत्काएर नयाँ भवन बनाउने प्रक्रिया अगाडि बढाइसकेको थियो । तर निर्माणधिन भवनको ठेक्कामा अनियमिता गरेको भन्दै अख्तियारले चार जना कर्मचारी विरुद्ध मुद्दा दायर गर्यो ।
कर्मचारी कारबाहीमा परेपनि ठेक्का कायमै रहेको र अदालतले पनि निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन आइसकेको सूचना अधिकारी न्यौपानलेले बताए । अदालतको आदेशअनुसार तिहारलगत्तै भवन निर्माण अगाडि बढाउने तयारी रहेको उनको भनाइ छ । भवन निर्माण सम्पन्न हुन कम्तीमा ३/४ वर्ष लाग्ने र निर्माणपछि महानगरपालिका त्यहाँ सर्ने उनले बताए ।
महानगरपालिकाको लागि यो भवन निर्माण भएर सरे पनि पर्याप्त छैन । नपुगेको अवस्थामा यता/उता मिलाएर महानगरको कामकारबाही चलाउने भन्ने छ, उनले भने । यसबाहेक महानगरको भवन निर्माणको लागि अन्त कतै कुनै तयारी नभएको उनले बताए ।
‘नयाँ जग्गा छैन, नगरपालिकाको स्वामित्वमा भएको छैन । भवन निर्माणको लागि कम्तीमा पनि पाँच रोपनी जग्गा चाहिन्छ । टेकुको जग्गामा बन्छ, नपुगेको अवस्थामा यता उता मिलाएर बस्नुपर्ने हुन्छ,’ उनले भने ।