विकासका लागि आवश्यक पूर्वाधारसहित लगानीयोग्य सुरक्षित वातावरणको प्रत्याभूति हुनुपर्छ । देशको रुपान्तरणमा नेतृत्वको दृढ संकल्प, पूर्वाधारको विकास तथा लगानी सुरक्षाको प्रत्याभूति र प्रकृयागत सहजतासहित लगानी प्रोत्साहित दीर्घकालीन नीति नियमहरूको व्यवस्था निकै महत्त्वपूर्ण हुन्छ ।
कम्तीमा एक दशकसम्म करका दरहरू स्थिर रहने गरी लगानी उत्प्रेरक कर प्रणाली र हडतालरहित उपयुक्त श्रम नीति नियमहरूको व्यवस्थाका साथै अग्रगामी कार्यप्रणाली सहितको जिम्मेवार राज्य संयन्त्र हुनुपर्छ ।
चन्दा, हडताल, तोडफोड तथा हिंसारहित स्थिर राजनैतिक प्रणाली भएमा देशमा लगानीको सुरक्षित वातावरण बन्छ । यसका साथै राज्यद्वारा उद्योगस्थलमा आवश्यक पूर्वाधारको व्यवस्था गरेर औद्योगिक वातावरणको सिर्जना गर्ने हो भने विदेश पलायन भइरहेको पुँजी राष्ट्रको समृद्धिमा उपयोग हुनेछ।
औद्योगिक वातावरणको सिर्जना हुने हो भने अमेरिका, बेलायत, चीन, सिंगापुर, इन्डिया आदि देशहरू झैं नेपालमा पनि सयौं अर्ब डलरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिन सक्छ । तुलनात्मक रूपमा प्रकृयागत सहजता, लगानीयोग्य सरल र पारदर्शी नीति नियमहरू, लगानीको स्वागत र सम्मान हुने वातावरण, बन्द हडतालरहित श्रम नीति भएका तथा शान्ति सुरक्षा र प्रतिफल बढी हुने देशमै वैदेशिक लगानी आकर्षित हुने गरेको पाइन्छ । त्यसैले यी विषयहरूमा ध्यान दिई नीतिगत र प्रकृयागत सुधारका साथै व्यावहारिक संयन्त्रको विकास गरेर हामीले वैदेशिक लगानीको आकर्षक गन्तव्य देशको सूचीमा आफूलाई पार्न सक्छौं ।
विदेशी लगानी भित्र्याउने भन्दैमा नेपाली ग्राहकहरूलाई मात्र आधार बनाएर नेपालीहरूबाट फाइदा कमाएर लाभांशको रूपमा देशको ठूलो रकम विदेश लैजाने र देशको अर्थतन्त्रमा नकारात्मक असर पर्ने गरी हुने लगानीलाई स्वीकार्न सकिँदैन । नेपालीहरूको जीवनस्तर उकास्नुका साथै देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउने खालका वैदेशिक लगानीलाई प्रोत्साहित गर्नुपर्छ ।
विदेशी मुद्रा आर्जन हुने नेपाली सीप, कला, संस्कृति र विशेष दक्षता भएका क्षेत्रहरू जस्तै नेपाली हस्तकलाका सामग्रीहरू तथा त्यसका जैविक कच्चा पदार्थहरुको उत्पादन, ट्रेकिङ, ट्राभल, पर्वतारोहण आदि उद्योग व्यवसायहरुमा विदेशी लगानी आवश्यक छैन । देशको चमत्कारिक विकासका लागि आयातलाई निर्यातमा बदल्ने गरी निर्यातजन्य वस्तुहरूको उत्पादन गर्ने उद्योगहरूमा विदेशी लगानीलाई प्रोत्साहित गरिनुपर्छ ।
देशको समग्र कृषि क्षेत्रको चमत्कारिक विकासमा उत्पे्ररणा हुने, अत्याधुनिक प्रविधि, औजार तथा स्थानीय स्रोत–साधनको उपयोगद्वारा कृषि उत्पादनमा क्रान्ति ल्याउने र नेपाली कृषकहरूको उत्पादन खरीद गर्ने वा सीधै अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग गर्ने गरी नेपाली कृषकको रणनीतिक साझेदारको रूपमा कृषि क्षेत्रका ख्याति प्राप्त विज्ञ विदेशी लगानीकर्तालाई लगानीका लागि आह्वान गरिनुपर्छ ।
बजारको प्रत्याभूतिसहित वैज्ञानिक कृषि प्रणालीमा स्वदेशी विदेशी संयुक्त लगानीलाई प्राथमिकता दिई कृषि क्रान्तिमा यथाशीघ्र होमिनु पर्छ । नेपाली औषधी उत्पादकसँगको सहकार्यमा वनस्पतिहरूमा निहित औषधीय गुणहरू पत्ता लगाई विभिन्न किसिमका औषधीहरूको व्यावसायिक उत्पादनमा क्रान्ति ल्याउने गरी हुने वैदेशिक लगानीलाई स्वागत गरिनुपर्छ।
स्वदेशी लगानीकर्तालाई कार्यक्षमता र कार्यसम्पादन पृष्टभूमिको आधारमा समय सीमा तोकेर आह्वान गर्न सकिन्छ । स्वदेशी लगानीलाई विशेष सहुलियतका साथ प्रोत्साहन गरिनुपर्छ । जलविद्युतको बृहत उत्पादन आन्तरिक खपतका साथै विदेश निर्यातका निम्ति पनि हुनुपर्छ । नेपालमा उत्पादित विद्युत औद्योगीकरण, विकास निर्माण, यातायात तथा मानव जीवनका हरेक पक्षहरुमा आन्तरिक खपतलाई पहिलो प्राथमिकता दिइनुपर्छ ।
लगानीयोग्य सहज वातावरण र आकर्षक सेवा सुविधाहरूको व्यवस्था गरी विदेशी लगानीकर्ताहरुलाई लगानीका क्षेत्रहरु तोकेर आह्वान तथा स्वागत गरिनुपर्छ । घरायसी, कार्यालय तथा औद्योगिक प्रयोजनका यन्त्र उपकरण, निर्माणजन्य यन्त्र उपकरण र सामग्रीहरूको वृहत उत्पादनमा वैदेशिक लगानी आह्वान गर्न सकिन्छ ।
खानी विभागसंगको सहकार्य वा समन्वयमा तामा, फलाम, सुनचाँदी, आल्मुनियम, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, युरेनियम, रत्नपत्थर आदि खानीको उत्खननमा स्वदेशी तथा विदेशी लगानीलाई स्वागत गरिनुपर्छ ।
खानीजन्य तयारी वस्तु, अत्याधुनिक कृषि औजार, यातायातका साधन आदिको बृहत उत्पादनद्वारा स्थानीय आवश्यकता परिपूर्ति गर्नुका साथै उत्पादित वस्तुहरू विश्व बजारमा निर्यात गरेर खर्बौं आर्जन गर्न सकिने भएकाले यी वस्तुहरूको उत्पादनमा वैदेशिक लगानी विशेष महत्वका साथ आह्वान गरिनुपर्छ । कृषि र औद्योगिक क्रान्तिबाट छोटो अवधिमा देशको रूपान्तरण गरी विश्व समुदायमा आफ्नो हैसियत सगरमाथा झैं उँचो राख्ने पुण्य काममा यथाशीघ्र जुट्नुपर्छ ।
सिंगापुर, चीन, मलेशिया, दुबई आदि देशहरूको रूपान्तरणमा विदेशी लगानीको निकै ठूलो हात छ । लगानी प्रोत्साहित नीति नियमको व्यवस्था र शान्तिपूर्ण वातावरण भए पनि सडक, विद्युत, सञ्चारजस्ता पूर्वाधार नभएको क्षेत्रमा लगानी गर्न कोही पनि इच्छुक हुँदैनन् । त्यसैले सिंगापुर, चीन, मलेशिया, दुबई आदि देशहरूले वैदेशिक ऋण लिएर आवश्यक भरपर्दा पूर्वाधारहरू खडा गरी लगानी आह्वान गरेका थिए । त्यसपछि मात्र ती देशहरूमा अत्यधिक वैदेशिक लगानी भित्रिएको थियो । सयकडौं बहुराष्ट्रिय कम्पनीहरू खुले र लाखौंले रोजगारी पाए । राज्यकोष सयौं गुणा वृद्धि हुँदै गयो, देशको सर्वाङ्गीण क्षेत्रको विकास हुँदै गयो र छोटो अवधिमा ती देशहरूको कायापलट भयो ।
कृषि तथा प्राकृतिक स्रोत सम्पदामा आधारित औद्योगीक क्षेत्रको क्रान्तिबाट देशको कायापलट गर्नको लागि हामीले पनि सोही बमोजिमको लगानीमैत्री नीति अवलम्बन गर्नुपर्छ । देशमा विद्यमान खानीहरूको आवश्यक अध्ययन अनुसन्धान गरी आर्थिक रूपले उपयुक्त खानीहरू भएका स्थानहरूमा राज्यले जतिसक्दो चाँडो सुरक्षित र टिकाउ सडकहरू तथा पर्याप्त विद्युत आपूर्तिको व्यवस्था गर्नुपर्छ । लगानीमैत्री नीति नियम र कर प्रणाली, सुरक्षित वातावरण र आवश्यक पूर्वाधारको व्यवस्था गरी लगानी आह्वान गरिएमा हाम्रो देशमा पनि विश्वभरको लगानी भित्रिन सक्छ । पूर्वाधारको विकास तथा कृषि, खानी र औद्योगिक क्षेत्रको क्रान्तिले एक दशकभित्रै हाम्रो देशको कायापलट हुन सक्छ ।