अर्बौं खर्च हुने निर्वाचन प्रणाली र अबको विकल्प

देशमा महँगी, भ्रष्टाचार, अत्याचार र अन्य सामाजिक अपराध बढाउने विभिन्न कारण मध्ये अहिले प्रचलनमा रहेको निर्वाचन प्रणालीको भद्दा ढाँचा र खर्चिलो असुरक्षित शैली एक मुख्य कारक तत्व हो । उम्मेदवारको टिकट खरिद बिक्री, मत खरिद तथा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न मोटो रकमको खेल, निर्वाचनमा खटिने कार्यकर्ताहरुलाई प्रतिस्पर्धी उम्मेदवारका कार्यकर्ताभन्दा सेवा, सुविधा, खानपिन र तडकभडकमा बढी खर्च गर्नुपर्ने बाध्यताले प्रत्येक निर्वाचनमा उम्मेदवारहरुको निकै ठूलो रकम खर्च हुने गरेको छ । 

निर्वाचनमा खटिने कर्मचारी, मतदानस्थल तथा मतपत्रको सुरक्षा र निर्वाचनसंग सम्बन्धित प्राविधिक तथा प्रशासनिक व्यवस्थापन लगायत कारणले हालको निर्वाचन प्रणाली राज्यको लागि पनि निकै महँगो हुँदै गएको छ । अधिकांश उँमेदवारहरुद्वारा निर्वाचन खर्च ऋण वा विभिन्न सम्झौता गरेर उठाइन्छ, केही सहयोग सम्बन्धित पार्टीबाट हुन्छ भने केही रकम चन्दा वा विभिन्न अवैध सॉठगॉठबाट उठाइन्छ । 

निर्वाचनमा विजयी हुने उम्मेदवारहरुले सरकारका विभिन्न संयन्त्रबाट भ्रष्टाचार गरी सो रकम उठाउँछन् । आगामी निर्वाचन पनि आफ्नो पक्षमा पार्न अवैध किसिमले राज्यका विभिन्न निकायबाट ठूलो रकम आर्जन गरिन्छ । पराजित हुने उम्मेदवारहरुले पार्टीगत वा व्यक्तिगत माध्यमबाट विभिन्न तरिकाले सरकारका संयन्त्र वा ठेक्कापट्टाहरुबाट सो रकम सहज स्पमा असूल गर्छन् । केहीले त गुण्डा डनको शैली अपनाएर पनि निर्वाचनमा भएको खर्च असूली गर्छन् । 

व्यक्तिगत वा पार्टीगत पहुँच नभएका र गुण्डागर्दी पनि गर्न नसक्ने पराजित सोझा इमान्दार उम्मेदवारहरुले आफ्नो सम्पत्ति बेचेर निर्वाचनमा लागेको ऋण भुक्तान गर्छन् । तर, सम्पत्ति पनि नभएका निम्न स्तरका सोझासाझा उम्मेदवारहरुले त आत्महत्याको बाटो समेत रोज्ने गरेको पाइन्छ । निवार्चनका क्रममा विभिन्न माध्यमबाट उठेको चन्दा रकमले जनतामाथि महँगीको भार थपिन्छ अर्थात् प्रत्येक निर्वाचनले महँगी बढाइरहेको छ । 

जनताहरुबाट संकलित बजेट देश विकास तथा जनहितमा सदुपयोग गरिनुपर्नेमा परम्परागत निर्वाचन प्रणालीका कारण राज्यको निकै ठूलो रकम प्रत्येक पटक हुने निर्वाचनमा अनावश्यक रुपमा स्वाहा भइरहेको छ । जनताको जीवनस्तर खस्किनुको साथै देशको अवस्था नाजुक हुनुमा बेढङ्गको परम्परागत निर्वाचन प्रणाली पनि एउटा मुख्य कारकको रुपमा रहेको छ । 

यस्तो अवस्थाको अन्त्यका लागि निर्वाचन प्रणालीमा यथाशीघ्र परिवर्तन आवश्यक छ । सामाजिक अपराध र भ्रष्टाचारलाई प्रश्रय नदिने, वालिग मताधिकारका आधारमा सबै नेपाली नागरिकहरुले विश्वको जुनसुकै स्थानबाट पनि सजिलै मतदान गर्न सक्ने र निर्वाचनकै विषयमा कसैलाई चन्दाको भार थप्न आवश्यक नपर्ने स्मार्ट निर्वाचन प्रणालीको व्यवस्था हुनुपर्छ । देशमाथि आर्थिक बोझ नपर्ने, निकै किफायति, शान्तिपूर्ण, छरितो र प्रभावकारी अनलाइन मतदान प्रणाली आजको अपरिहार्यता हो । निश्चित मापदण्ड र कार्यविधि बनाएर विश्वसनीय निर्वाचन एप मार्फत स्मार्ट निर्वाचन प्रणाली अपनाउन सकिन्छ । फेस डिटेक्शन, फिंगर आइडी, सिटिजनशीप आइडी, विदेशमा रहेकाहरुलाई पासपोर्ट आइडी, सिटिजनशीप आइडी लगायत कुनै पनि विषयलाई आधार बनाएर स्मार्ट तरिकाले निर्वाचन गराउन सकिन्छ । 

विश्वसनीय अनलाइन प्रणालीबाट यसरी निर्वाचन गरिँदा अर्काको नामबाट मतदान वा दोहोरो मतदान वा मत संख्यामा बदमासी गरेर मत परिणाम परिवर्तन गर्न नसकिने भएकाले बढी भरपर्दो हुन्छ । यसबाट समय तथा श्रमको बचत हुनुका साथै निर्वाचनका क्रममा (निर्वाचन आयोग, दल तथा उमेदवारहरुबाट) हुने अर्बौं रकम पनि जोगाउन सकिन्छ । स्मार्ट अनलाइन निर्वाचन प्रणाली अपनाउँदा विभिन्न व्यक्ति तथा समूहहरुको अनावश्यक हिंसात्मक गतिविधि वा झडपको अवस्थाबाट पनि मुक्ति मिल्छ । देशमा दुर्गति निम्त्याउने परम्परागत निर्वाचन प्रणालीको उत्तम विकल्प स्मार्ट अनलाइन निर्वाचन प्रणाली हो । समयावधि अगावै छिटोछिटो हुने निर्वाचन र परम्परागत खर्चिलो निर्वाचन प्रणालीका कारण देश चुर्लुम्म डुब्ने गरी निर्वाचन आयोग, दल तथा उमेदवारहरुद्वारा हुने खर्बौं रकमको विनाशलाई जोगाउन निर्वाचन आयोगले यथाशीघ्र स्मार्ट निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छ । 

अब प्रत्येक नागरिकको व्यक्तिगत, पारिवारिक र सम्पत्तिसहितको विस्तृत परिचय प्रणाली अपनाउनु पर्छ, जुन निर्वाचन प्रणालीदेखि रोजगार, बैंक, मालपोत तथा राज्यका धेरै क्षेत्रमा काम लाग्ने हुन्छ । विद्यमान नागरिक एपमा पनि यी सेवा, सुविधा र विशेषताहरु थप्न सकिन्छ । विज्ञान प्रविधिको कुराले मात्र आफै परिवर्तन आउँदैन यसलाई जीवनका हरेक आयामहरुमा आत्मसाथ गर्न सक्नुपर्छ तब मात्र चमत्कारिक परिवर्तनको अनुभव गर्न सकिन्छ । मतदानको आधुनिक अनलाइन प्रविधिले निर्वाचनको समयमा उमेदवारहरू पनि गाउँगाउँ बस्तीबस्तीमा गइरहनु पर्दैन । उहाँहरुको विस्तृत विवरणसहित समाज विकासका लागि उहाँका एजेन्डाहरु र लक्ष हासिल गर्ने तरिकाको बारेमा निर्वाचन आयोगले नै अनलाइन सञ्चार माध्यमबाट प्रचारप्रसार गरिदिने व्यवस्था मिलाउनु पर्छ । आधुनिक प्रविधि मार्फत हुने मतदानमा निर्वाचन आयोगले पनि भौतिक रुपमा फिल्डमा नगई अनलाइनबाटै निर्वाचनका सबै कामहरु फत्ते गर्न सक्छ । त्यसैले निर्वाचन आयोग प्रविधिसँग अपडेट भई यथाशीघ्र समार्ट प्रणाली अपनाएर राज्यको सबै तहका सबै किसिमका निर्वाचनमा हुने ठूलो व्ययभार र मुठभेडबाट देशलाई जोगाउने काममा लाग्नुपर्छ । 

समानुपातिक निर्वाचन प्रणाली अनुसार छनौट हुने अधिकांश जनप्रतिनिधिहरु दल र दलका प्रभावशाली नेताहरुका अन्धभक्त समर्थक हुन्छन् । आफ्नो काम, कर्तव्य र जिम्मेवारी बोध नभएका त्यस्ता लठैत जनप्रतिनिधिहरुको साथ समर्थनमा दलका नेताहरुको मनपरीले देशमा अराजकता बढ्ने गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा दलका प्रभावशाली नेताहरुको दयाकृपाबाट छनौट हुने जनप्रतिनिधिहरु जनता प्रति भन्दा पनि दल र दलका प्रभावशाली नेताहरुप्रति उत्तरदायी हुन्छन् । 

जनताप्रति अनुत्तरदायी यस्तो निर्वाचन प्रणालीको व्यवस्था हटाएर प्रत्यक्ष स्मार्ट निर्वाचन प्रणाली मात्र अवलम्बन गरिनु उपयुक्त हुन्छ । स्थानीय निकाय र प्रतिनिधि सभामा अल्पसंख्यक जातिको प्रतिनिधित्व हुने गरी मनोनयनको व्यवस्था गर्न सकिन्छ ।  यसको साथै राष्ट्रलाई विशेष योगदान पु¥याएका व्यक्तिहरु र विकासको स्पष्ट योजना भएका जम्मा १० जना व्यक्तिहरुलाई मनोनित गरी प्रतिनिधि सभामा रहने विशेष व्यवस्था गर्न सकिन्छ । पालिकाहरुमा पनि सोही अनुसारको केही प्रावधान राख्न सकिन्छ ।  

(लेखक पर्यटन व्यवसायी हुन् ।)


 

Share News