भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि खोरमा थुन्छु

म यहाँ रहरले आएकी होइन । राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान थियौँ । मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, मेरो विधा परेन भनेकी थिएँ । म यता तिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ । म त्यसरी हिँड्दा देशलाई यस्तो अप्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो ।

जेनजी युवाहरू मेरो घरैमा आएर अभिभावकत्व लिइदिन भन्नुभयो । प्रधानमन्त्री बन्नुपर्छ भनेर धरधरी रुनु पनि भयो । मैले ती निर्दोष बालबालिका निधारमा गोली लागेर ढलेको सम्झिएँ । ती घाइतेहरूको अनुहार हेरेँ । मेरो साथमा जनता छन्, मैले केही गर्नैपर्छ भन्ने लाग्यो र एउटा अठोट साथ अगाडि आएँ ।

हामी सहिद परिवार, घाइते र ती प्रत्येक परिवर्तनकामी नेपाली युवाको आवाज सम्बोधन गर्न लागिपरेका छौँ । र, बलिदानी दिने सहिदका परिवार अनि घाइतेलाई पनि अलपत्र पार्दैनौँ । बोलेको पुर्याउँछौँ । हामी चुनावमा केन्द्रित छौँ । प्रत्येक दिन यसैगरी छलफल र गृहकार्य गर्छौँ । कामको प्रगति विवरण लिन्छौं । समस्याहरू फुकाउन लागिपरेका छौँ । अविश्वासहरू चिर्दै विश्वासको वातावरण बनाउँदै छौँ, आत्मविश्वास उठाउँदै छौँ । प्रहरीको मनोबल पनि बढ्छ। भागेका कैदीबन्दीहरू पनि समातिन्छन् । 

३५ वर्षसम्म मनोबल गिराउन लागिपरेकाहरू अहिले मनोबलको कुरा गरिरहेको पनि देख्छु । भ्रष्टाचार, शोषण र विभेदले खस्काइएको मनोबल एकै महिनामा हामी कसरी उठाउँछौँ ? तर, हामी मनोबल उठाउन लागेका छौँ, उठ्छ। किनकि, हामी सपार्ने दिशामा छौँ।

अब यहाँ विदेशीको कुरा पनि आयो । विदेशीले हस्तक्षेप गर्छ, यो गर्छ, त्यो गर्छ भन्ने कुरा पनि आयो । तर, यो तर्साउने हतियार मात्र हो । यहाँ मलाई एउटा पनि कोही विदेशीले आएर यसो गर र नगर भनेको छैन । हामीहरू राजदूत सिंहदरबारमा भेट्छौँ, बालुवाटारमा भेटेका छैनौँ । अहिलेसम्म शिष्टाचार भेट मात्र भएको छ । काम विशेषले हुने भेट मन्त्रीज्यूहरूले गर्नुभएको छ । हामीलाई कुनै विदेशीले खोजेको पनि छैन। त्यसैले विदेशी हस्तक्षेपको कुरा गलत भाष्य हो ।

अर्को कुरा यहाँको अनौठो चलन के देखियो भने काम गर्न नदिने, अनि बातै पिच्छे काम गरेन भन्ने । हामी प्रयास गरिरहेका छौँ । हामी रोकिँदैनौँ । जतिसुकै बाधा र अवरोधहरू भए पनि फुकाउँदै अघि बढ्छौँ । यहाँ न्यायाधीशका कुरा पनि उठे । संसद विघटनमा भएका निर्णयका पनि कुरा आए । के न्यायाधीशलाई सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति बन्न संविधानले रोकेको छ ? न्यायाधीश भइसकेको व्यक्ति चुनाव लड्न पाउँदैन भनेर संविधानमा लेखेको छ ? भारतमा न्यायाधीशहरू सांसद, मन्त्री भएका छन्। यहाँ यो असामान्य परिस्थितिमा हुँदा किन प्रश्न ? अचम्म छ। 

कहिलेकाहीँ त लाग्छ, हाम्रो नेपाली समाज कुरै कुरामा मात्र बाँचेको छ । काम गर्नु छैन । अरू देशमा राजनीति गर्नेले खेती पनि गर्छ । तर, यहाँ राजनीति मात्र गरेको छ । राजनीति गरेरै आर्यघाट जाने । मैले गोली लागेका ती रक्ताम्य युवा देखेको छु । गोलीको वर्षा भइरहेको त्यो जन सागरबीच नारा लगाइरहेका ती युवाको त्यस बेलाको भावभंगी देखेको छु । म त्यही सम्झेर काम गर्छु । मेरो प्रतिबद्धता यही छ ।

म पहिलादेखि लडाकु हुँ । मेरा परिवारका अरु सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ । हामी डराउँदैनौँ । भनेको पुर्याउँछौँ । अनिलजी (अनिलकुमार सिन्हा) लाई अनुरोध गरेर ल्याएको (मन्त्री बनाएको) हुँ। उहाँजस्तो इमानदार र बुझेको मान्छे हुँदा धेरै काम सहज भएको छ। हेर्दै जानुहोस्, हामीले के-के गर्दै छौँ ? हिजो थन्क्याएका फाइल खुलाउँदै छौँ । कति त समातिसकेका छन् । कतिलाई समात्दै छौँ । यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु । त्यो दृढताका साथ हामी अघि बढेका छौँ ।

(बालुवाटारमा बुधबार आयोजित त्रिपक्षीय संवादमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा व्यक्त समापन मन्तव्य)

Share News