प्रभु महालक्ष्मी लाइफको अभिकर्ता लिडर एडुटेनमेन्ट कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको अभिकर्ता लिडर एडुटेनमेन्ट कार्यक्रम चितवनको सौराहामा सम्पन्न भएको छ । कार्तिक १३, १४ र १५ गते तीन दिनसम्म चलेको उक्त कार्यक्रम मनोरञ्जन, सीप विकास र क्षमता अभिवृद्धिमूलक गतिविधिसहित सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रसाईँले कम्पनीले नियमित रूपमा गर्दै आएको स्तरीय तालिम तथा कार्यक्रमहरूले अभिकर्ता लिडरहरूको व्यवसायिक क्षमता अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याउँदै आएको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अभिकर्ताहरूको पहिचान स्थापित गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । साथै, राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति रहेको मनोरञ्जनात्मक साँझले सहभागीहरूलाई थप ऊर्जावान र प्रेरित बनाएको धारणा राखे ।

तीन दिनसम्म चलेको कार्यक्रममा देशभरबाट २ सयभन्दा बढी अभिकर्ता लिडरहरूको सहभागिता थियो । कार्यक्रममा 'द आर्ट अफ सेलिङ' का लागि प्रशिद्ध अन्तर्राष्ट्रिय प्रशिक्षक अरनिको सिंहले बीमा बिक्री कलासम्बन्धी क्षमता अभिवृद्धि तालिम दिएका थिए, जसले सहभागीहरूमा नयाँ उत्साह र आत्मविश्वास जगाएको थियो ।

कार्यक्रमको मुख्य आकर्षणमा लोकप्रिय गायक प्रमोद खरेल र परम्परा ब्याण्डको लाइभ सांगीतिक प्रस्तुति रहेको थियो, जसले कार्यक्रमलाई थप रंगिन बनाएको सहभागीहरूले बताएका छन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूको प्रेरणा, सम्मान र सीप विकासका उद्देश्य राखी विभिन्न मोटिभेसनल, रिफ्रेसमेन्ट तथा मनोरञ्जनात्मक कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै आएको जनाएको छ ।

Share News