आईएसएमटी कलेज र व्यवसायी पीयूष अमात्यबीच जग्गा विवाद चुलियो

नाममा एउटाको, भोगचलन अर्कैको

काठमाडौं । इन्टरनेशनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (आईएसएमटी)ले भवन निर्माणका लागि किनेको जग्गा कानुनी अल्झनमा परेको छ । कलेजले नयाँबानेश्वरमा खरिद गरेको साढे ६ रोपनी जग्गा कानुनी विवादमा परेको हो । जग्गाको विषयमा विवाद भएपछि भवन निर्माणको तयारी गरेको कलेज कानुनी लडाइँमा जान बाध्य भएको छ । 

काठमाडौं महानगरपालिका १० नयाँबानेश्वरमा दुई वर्ष पहिले खरिद गरेको साढे ६ रोपनी जग्गामा चार आना जग्गा मिचिएकाले खाली गराउन खोज्दा निर्माणको काम नै रोक्नुपरेको दावी कलेजको छ । 

कलेजका अनुसार कलेजले वडा नम्बर १० को कार्यालय र काठमाडौं महानगरसम्म आफ्नो जग्गा खाली गराइपाऊँ भन्दै निवेदन दिएको र महानगरले पनि खाली गरिदिनु भनिसकेको अवस्थामा जग्गा भोगचलन गरेर बसेका व्यवसायी पीयूष अमात्यले अटेरी गरेको आरोप लगाएको छ । 

‘हाम्रो जग्गा खाली गराइपाऊँ भन्दै हामी महानगर अन्तर्गतको न्यायिक समितिमा गयौं, समितिले ३५ दिनभित्र खाली गराउनु र त्यसमा अटेरी गरेमा आफै भत्काउनु भन्ने निर्देशन दियो । तर अमात्य परिवारले अटेरी गर्यो,’ कलेज सञ्चालकले भने । 

न्यायिक निकायले दिएको निर्देशनको वेवास्ता गरेपछि घरको सुरक्षालाई ध्यान दिँदै आफै पर्खाल भत्काउन खोज्दा आफूमाथि आक्रमण भएको कलेज सञ्चालकले जानकारी दिए । 

‘हामीले उहाँको घरलाई कुनै पनि क्षति नपुग्ने गरी काम गर्न ठेक्का सुरु गर्यौं । तर हाम्रो निर्माण कार्यमा अमात्य परिवारबाट हस्तक्षेप भयो,’ कलेज सञ्चालकले भने, ‘न्यायिक निकायले भनेको आदेश पनि नमान्ने, यो विषयमा छलफल गरौं भन्दा सहभागी नहुने, काम गर्न खोज्दा पनि गर्न नदिने गतिविधिले हामीलाई निकै समस्यामा पारेको छ ।’  

करोडौंको नोक्सानी

डेढ वर्ष अघिदेखि नै सुरु गर्नुपर्ने भवन निर्माणको काम रोकिँदा करोडौं  आर्थिक क्षति भएको कलेजको भनाइ छ । ‘काम गर्न ठेक्का दिइसक्यौं, निर्माणको जिम्मा पाएका व्यक्ति काममा पनि गइरहेका छन्, तर उनीहरूले काम गर्न पाइरहेका छैनन्,’ ती सञ्चालकले भने । 

‘हामीले डेढ वर्ष अगाडिदेखि नै भवन निर्माण सुरु गरिसक्नुपर्ने थियो । तर, जग्गा किनेर पनि भवन निर्माण गर्न सकिरहेको छैनौं,’ उनी भन्छन्, ‘जग्गा विवादको कुरा नमिल्दा शिक्षासँगै हाम्रो करोडौं रकम बराबरको व्यवसाय नास भएको छ ।’

‘हामीले भवन निर्माणका लागि लिएका मेसिनहरू त्यही छन्, काम गर्ने मान्छेहरू त्यही छन् दिनहुँ लाखौं रुपैयाँको सञ्चालन लागत आइरहेको छ । हामीले महँगो निर्माण सामग्रीहरू लिएर राखेको छौं, कामै नगरी त्यतिकै पैसा तिर्नुपर्ने समस्या छ,’ उनले थपे ।

अमात्य दम्पतीले राखेका सर्त मान्न तयार हुँदा समेत उनीहरू छलफलमै नआउँदा र काम गर्न खोज्दा भौतिक आक्रमण गर्न आउने गरेको कलेजले जनाएको छ ।  
 
के भन्छ अमात्य परिवार ?

व्यवसायी पीयूष परिवारले भने भने कलेजले आफ्नो जग्गामा संरचना बनाउन लागेको आरोप लगाउँदै आएका छन् । अमात्यको परिवारले ३१ वर्षअघि नै सो जग्गा आफूले खरिद गरिसकेकोले अहिले कलेज आएर अतिक्रमण गरेको आरोप लगाएको छ । 

कागजी रूपमा आफ्नो नाममा रहेको जग्गामा कोही संरचना भत्काउन आउँछ भने टुलुटुल बसेर हेर्न नसक्ने पीयूष अमात्यका छोरा आयूष अमात्य बताउँछन् । 

वि.सं २०५२ सालदेखि भोगचलन गर्दै आएको आफ्नो जग्गा एक्कासि छोड्न भनेपछि आफूहरू पनि चुप लागेर नबसी न्यायिक लडाइँमा गएको उनी बताउँछन् । कलेजले नियमविपरीत पर्खाल भत्काएको पनि उनको आरोप छ। 

२०५२ सालदेखि उपभोग गर्दै आएको जग्गामा २०८० सालमा कलेजले आएर छोड भन्दा कानुनी अल्झन आएको अमात्यको भनाइ छ । 

‘उहाँहरू कुन कुन न्यायिक निकायमा जानुभयो, हामी पनि त्यसको विरुद्ध गइरहेका छौं, अहिले पनि हामी लडाइँमा छौं,’ उनले भने ।

उनले कलेजको जग्गा मिचेका नभई अहिले कलेजले किनेर आफ्नो हो भनेको जग्गा वर्षौं पहिले आफूले किनेरै उपभोग गरिरहेको बताए । तर, महानगरको न्यायिक निकायले २०८१ साल फागुन १२ गतेको निर्णयमा आफूले उपभोग गर्दै आइरहेको दुई आना जग्गामा बढाएर चार आना छोडिदिनु भनेपछि आफू उच्च अदालत पाटन गएको उनले जानकारी दिए । 

उनले जग्गा मालिकसँग दुई आना जग्गा किनेकोमा अहिले कलेजले चार आना जग्गाको दाबी गरिरहेको बताए । 

अमात्यका कानुनी सल्लाहकार अधिवक्ता वीरेन्द्र पाठकले अझै कानुनी बाटो रहेकाले कानुन अनुसार अगाडि बढ्ने सुनाए । ‘स्थानीय सरकारले गरेको निर्णय उपर सम्बिन्धत जिल्ला अदालतमा पुनरावेदन लाग्छ, काठमाडौं महानगरले गरेको निर्णय उपर जिल्ला अदालतमा पुनरावेदन दर्ता गरेर महानगरले गरेको फैसला सहितको सुरु मिसल झिकाउने आदेश भएर अदालतमा फाइल आएर बसेको छ, यस्तो अवस्थामा कलेजले जबरजस्ती भर्खाल भत्काउन कानुनी हिसाबले मिल्दैन,’ पाठकले भने ।

पाठक भन्छन्, ‘यदि कुनै निर्णय उपर पुनरावेदन चलेको छ भने पुनरावेदनबाट मुद्दा सदर भएको हो भने सदर भएको मितिले ३५ दिन पछि र पुनरावेदन परेको छैन भने पुनरावेदनको म्याद सकिएको ३५ दिनपछि निर्णय कार्यन्वन हुन्छ, पुनरावेदन भइरहेको अवस्थामा कलेजले जबरजस्ती जग्गा छोड्न लगाएको छ ।’

उनी महानगरको निर्णयलाई नै मान्ने हो भने महानगर आफै प्रहरी लिएर आउनुपर्ने बताउँछन् । कलेजले भने अमात्यसँग कुनै प्रमाण नभएको र उच्च अदालत पनि रिट खारेज गरिदिइसकेको अवस्थामा आफूले  भवन निर्माण गर्न पाउनुपर्ने बताएको छ ।

के हो विवाद, को हो मालिक ?

आईएसएमटी कलेज र गंगा–पीयूष अमात्यबीच भएको जग्गा भद्रकाली गुठीको हो । गुठीको नाममा रहेको जग्गा जोतभोग गरिएको पोत अनुसार काठमाडौंकी अष्टमाया मालिनीले आफ्नो नाममा गर्ने प्रयास गरेकी थिइन् । त्यो बेला जोतभोग पोत गर्नेले गुठीको जग्गा नाम सारी गर्न पाउने चलन थियो । गुठीले पनि जग्गा दिन तयार रहेको थियो । तर, अष्टमायाले आफ्नो नाममा नबनाउँदै उनको मृत्यु भयो । उनको मृत्युपछि अष्टमायाकी छोरी पूर्णदेवी मालीले जग्गा आफ्नो नाममा बनाइन् । 

पूर्णदेवीको नाममा जग्गा नामसारी नहुँदै उनले भोगचलन गर्न सुरु गरिसकेकी थिइन् । त्यही छिमेकमा पीयूष अमात्यको घर थियो । अमात्यले विसं २०४५ सालमा घर बनाइसकेका थिए । भिरालो ठाउँमा रहेको जमिनमा वरिपरी बालुवा ढुंगामाटोको ठूलो ढिस्को भएकाले अमात्यको घर जोखिममा थियो । 

उनले घर सुरक्षित गर्न घरसँग जोडिएको जग्गा किनेर  बलियो पर्खाल बाँध्ने योजना बनाए । तर, घरसँग जोडिएको जग्गाको मालिक को हो थाहा थिएन । उनी जग्गाको मालिक खोज्दै हिँडे । धेरै समयपछि उनको भेट अष्टमायाकी छोरी पूर्णदेवीसँग भयो । 

उनले जग्गा आफ्नो नाममा ल्याउने प्रयासमा रहेको बताइन् । जग्गा आफ्नो नाममा  आइसकेपछि अमात्यको नाममा बनाइदिने गरी दुई आना दुई पैसा तीन दाम जग्गाको प्रतिआना एक लाखका दरले दुई लाख ८५ हजार ८ सय ३५ रुपैयाँ लिएर अमात्यको नाममा कागज बनाइदिइन् । पूर्णदेवी मालीले जग्गा नाममा नआउँदै २०५२ साल असोज १ गते लिखत कागज बनाएर अमात्यलाई दुई आना दुई पैसा तीन दाम जग्गा बेचिसकेकी थिइन् । 

जहाँ लेखिएको थियो- ‘हाम्रो नाममा आउने जग्गा तपाईंको नाममा गर्नेछु, तपाईं आजकै मितिदेखि भोग चलन गर्नु ।’ त्यही कागज बनाएर तत्कालीन अवस्थामा बलियो पर्खाल बनाएको बताउँदै उनले अहिले त्यही पर्खाल भत्काउन भन्दा समस्या भएको बताए । 

त्यसपछि पूर्णदेवी माली कहिल्यै फर्केर आइनन् । अमात्यले पनि खोजी गरेनन् । पछि थाहा भयो जग्गा नामसारी गर्दा पूर्णदेवीले आफ्नोमात्र नभई अन्य दुई जना गरी तीन जनाको नाममा गरेकी रहिछिन् । 

‘मैले जग्गा पाइसकेको थिएँ, पैसा दिइसकेको थिएँ, पछि मालिनी कता गइन् खोजी पनि गरिनँ, न कुनै  व्यक्ति जग्गाको खोजीमा आए, मैले आफ्नो जग्गा उपभोग गर्दै आएँ । तर कलेजले एक्कासि मेरो जग्गा हो भन्दै आएपछि जग्गाबारे मालीले गरेको छल थाहा पाएँ,’ अमात्यले भने । 

उनका कानुनी सल्लाहकार पाठकले कलेजले भनेको चार आना जग्गा नभई दुई आना दुई पैसा तीन दाममात्र रहेको बताए । ‘हामीसँग पुर्जा भएन कागज भयो कागज अनुसार भोगचलन गर्यौं, जग्गा हाम्रो भइहाल्यो भन्ने भयो, जग्गा धनीको खोजी पनि गरेनौं,’ उनले भने ।

पूर्णदेवी मालीले गुठीको जग्गा आफूसहित तीनजनाको नाममा बनाइसकेपछि उनले त्यही जग्गा २०६५ सालको असार ३१ गते प्राइम हाउजिङ कम्पनीलाई बेचेको पाइएको छ । जबकि उनले त्यो जग्गा बेचेको कागज अमात्यसँग त्यसअघि नै गरिसकेकी थिइन् । 

प्राइम हाउजिङ कम्पनीले जग्गा भोगचलन गर्दा अमात्यले पर्खाल बनाएको जग्गाको विषय उठेन । केही समयपछि प्राइम हाउजिङ कम्पनीले त्यही जग्गा आइएमडब्लू भन्ने अर्को कम्पनीलाई बेच्यो । त्यसको केही समयपछि आइएमडब्लुले आईएसएमटी कलेजलाई बेचेको हो ।  

विसं २०८० साल असोजमा आईसएमटीले किनेको जग्गामा जब भवन निर्माणको लागि नक्सांकनको काम सुरु भयो । यो भन्दा अगाडिका कम्पनीले जग्गा किन्दा पनि खोजी नगरेको तर कलेजले पैसा तिरेर नक्सामा भएबमोजिमको जग्गा खोज्दा अमात्य र आईएसएमटी कलेजबीच विवाद सिर्जना भएको हो । 

त्योभन्दा अगाडिका व्यक्ति कोही जग्गाको दावी गर्न नआएको तर कलेजलेमात्र जग्गा दाबी गर्दा समस्या भएको अमात्य बताउँछन् । अमात्यले आफ्नो घर वरिपरिको जग्गामा १० फिट जमिनमुनि पर्खाल लगाइसकेपछि बल्ल माथी रिटेनिङवाल लगाइ बलियो पर्खाल बनाएको बताउँछन् । 

‘हामीले आठ फिट चौडाइ ५० फिट माथि उचाइ भएको पर्खाल लगाएका  छौं, अब यो पर्खाल ध्यान नदिँदै भत्काउने हो भने हाम्रो घरमा समेत असर पर्छ । कलेजले बिना सुरक्षा धमाधम पर्खाल भत्काउन लाग्दा हामीले रोकेका हौं,’ उनले भने । 

Share News