ललितपुर महानगर ‘संगीतको सिर्जनात्मक सहर’ घोषणा, चार वर्षे कार्ययोजना प्रस्तुत

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन ।

काठमाडौं । राष्ट्रसंघीय शैक्षिक तथा सांस्कृतिक संगठन युनेस्कोले ललितपुर महानगरलाई सिर्जनात्मक संगीतको सहर घोषणा गरेको छ । बिहीबार महानगरले पत्रकार सम्मेलनको आयोजना गरी ‘संगीतको सिर्जनात्मक सहर’ घोषणा भएको जानकारी दिएको हो ।

महानगरका प्रमुख चिरीबाबु महर्जनका अनुसार अक्टोबर ३१ ‘विश्व सहर दिवस’ को अवसर पारेर ललितपुर महानगरलाई संगीतको सिर्जनात्मक सहर घोषणा गरिएको हो। 

उनले संगीतको माध्यमबाट नगरबासीलाई रोजगारीको नयाँ अवसर सिर्जना गर्न सक्ने महसुस गरी परम्परागत संगीतको संरक्षण गर्दै समकालीन संगीतलाई समेत समेट्दै अगाडि बढाउन सकेमा आफ्नो छुट्टै पहिचानको स्थापना गर्न सक्ने बताए । 

‘संगीतको माध्यमबाट अर्थतन्त्रमा समेत सहयोग पुर्याउन सकिने विश्वासका साथ संगीतसम्बन्धी कार्यक्रमहरू महानगरले सञ्चालन गर्दै आएको छ । यिनै गतिविधिलाई मध्यनजर गरेर संगीत विधामा दुई वर्ष अघिदेखि नै ‘यूनेस्को सिर्जनात्मक सहरहरुको सञ्जाल’ को सदस्यताको लागि पहल गरेको हो,’ उनले भने ।

प्रमुख महर्जनका अनुसार युनेस्कोबाट महानगरलाई संगीतको सहरको रूपमा घोषणा गरेसँगै  परम्परागत, समकालीन तथा आधुनिक संगीतको जगेर्ना गर्दै यस क्षेत्रमा विशेषगरी युवाहरुलाई प्राथमिकताका साथ सहभागी गराई संगीतलाई रोजगारी सिर्जनाको माध्यम बनाउन जिम्मेवारी र अवसर प्राप्त भएको छ । 

उनले संगीतको माध्यमबाट ललितपुर महानगरपालिकाको छवि र परिचयलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्याउन सम्पूर्ण नगरबासी र संगीत क्षेत्रमा लागेकाहरूलाई साथ, सहयोगको अपेक्षा राखेका छन् ।

महानगरले तयार पार्यो चार वर्षे कार्ययोजना 

युनेस्कोबाट संगीत विधामा सदस्यता प्राप्त गरेसँगै ललितपुर महानगरले संगीतको क्षेत्रमा आफ्ना क्रियाकलापलाई अघि बढाउन आगामी चार वर्षका निमित्त कार्य योजना तयार पारेको छ । 

महानगरले अनुसन्धान तथा शैक्षिक कार्यक्रमअन्तर्गत पाँचवटा कार्यक्रम राखेका छ । जसअनुसार अनुसन्धानकर्ता र स्थानीय संगीतकर्मी बीच छलफल र सहकार्य गरी संगीतको माध्यमबाट आर्थिक उपार्जनको बाटो पहिल्याउने भनिएको छ ।
 
त्यस्तै, स्थानीय परम्परागत र परम्परागत संगीतका साथै र समकालीन संगीतको सीपलाई विद्यालय तहसम्म पु¥याउन विद्वत वर्ग र विद्यालयहरूसँग सहकार्य गर्ने कार्यक्रम राखेको छ । विद्यालयमा संगीत शिक्षकको व्यवस्था गर्ने, शिक्षकहरूलाई तालिम प्रदान गर्ने र विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने महानगरले शैक्षिक कार्यक्रमअन्तर्गत राखिएको छ । 

यस्तै, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगीतज्ञ तथा अनुसन्धानकर्ताहरूका निमित्त समेत उपयोगी हुने स्थानीय संगीत परम्परा तथा विभिन्न बाजागाजाहरू समेतलाई अभिलेखिकरण गरी स्रोत केन्द्र सञ्चालन गर्ने भनिएको छ ।

परम्परागत बाजाहरूको संरक्षण तथा सम्बद्र्धनका निमित्त परम्परागत बाजा बनाउने र बजाउन सीपको जगेर्ना गर्न आवश्यक तालिमको व्यवस्था गरी यसलाई पेशाको रुपमा स्थापित गर्दै मर्यादित बनाउने, परम्परागत वाद्यगुरुहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने योजना रहेको छ ।

नीति निर्माण तथा पहलकदमी

संगीतलाई उद्योगको रूपमा स्थापित गर्न महानगरले पहल गर्ने भएको छ । साथै जेष्ठ पूर्णिमाको दिनलाई राष्ट्रिय संगीत दिवसको रूपमा घोषणाका लागि आवश्यक पहल गर्ने भएको छ । त्यस्तै, स्थानीय सार्वजनिक स्थलहरुलाई सवारीरहित बनाई खुल्ला सांगीतिक कार्यक्रमहरू आयोजना गर्नका लागि पूर्वाधार तयार पार्ने, परम्परागत वाद्यवादनमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरू र नयाँ पुस्ताको उल्लेख्य सहभागिताको निमित्त नीति बनाई कार्य गर्ने योजना लिएको छ ।

स्रोत तथा साधनको विकास– ‘ललितपुर सिर्जनात्मक कला केन्द्र’ को स्थापना गर्ने

महानगरले आगमी चार वर्षभित्र संगीतसम्बन्धी अनुसन्धान केन्द्र, अभिलेखालय, तालिमकेन्द्र तथा संगीतकर्मीहरुको सामुहिक जमघटको थलोको रूपमा ललितपुर सिर्जनात्मक कला केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ । महानगरपालिका भित्र संचालन हुने संगीत सम्बन्धी सबै क्रियाकलाप संयोजन, रेखदेखको कार्य यसै केन्द्रबाट हुने व्यवस्था मिलाउने महानगरले जनाएको छ ।

महानगरका अनुसार यस केन्द्रको सञ्चालनको लागि महानगरपालिकाका प्रमुखको अध्यक्षतामा महानगर भित्रका विभिन्न संगीत तथा अन्य सिर्जनात्मक विधासँग सम्बन्धित संघ संस्थाहरूको समेत प्रतिनिधित्व रहने गरी १५ सदस्यीय सञ्चालक समिति बनाउने भएको छ ।

यसबाहेक आगामी चार वर्षे कार्ययोजनामा महानगरले परम्परागत तथा समकालीन संगीतमा युवाहरुलाई संलग्न गराउन प्रत्येक वडामा युवा केन्द्रको स्थापना गर्ने, संगीतको अनुसन्धानका लागि विज्ञहरूको टोली गठन गर्ने, सामाजिक तथा वातावरणीय समस्याहरूको निराकरणका निमित्त छलफलको आयोजना गर्ने योजना अघि सारेको छ ।

संस्कृति तथा सिर्जजनशीलतालाई दिगो विकासको वाहकको रूपमा अंगीकार गरेका सहरहरूलाई एकै थलोमा ल्याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने उद्देश्यसहित युनेस्कोले सन् २००४ देखि ‘युनेस्को सिर्जनात्मक सहरहरूको सञ्जाल’ को सुरुवात गरेको थियो । 

स्थानीयस्तरमा रहेका व्यक्तिहरुमा रहेको दक्षताको उचित मूल्याङ्कन गर्दै सिर्जनशील पेशाकर्मीहरूलाई आवश्यक सहयोग पुर्याउनु, स्थानीय बासिन्दाहरूलाई सक्दो संलग्न गराई रोजगारी सिर्जना गर्नुका साथै उनीहरूको आर्थिकस्तर उकास्नु र सामाजिक सद्भाव अभिवृद्धि गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । 

यस सञ्जालको माध्यमबाट सञ्जालमा आवद्ध सहरहरूबीचको आपसी सहयोग र अनुभव आदान प्रदान गरेर सहरहरूको आर्थिक तथा सामाजिक वातावरणमा सकारात्मक परिवर्तन ल्याउन यो कार्यक्रमको महत्त्वपूर्ण योगदान र भूमिका रहेको छ । 

यस सञ्जालअन्तर्गत हस्तकला तथा लोक कला, फिल्म, खानपान, साहित्य, मिडिया कला, साहित्य, संगीत र वास्तुकला गरी ८ विधा रहेको छ । यीमध्ये जुनसुकै विधामा सञ्जालको सदस्यताको लागि कुनैपनि सहरले विधिवत रूपमा प्रस्ताव पेश गरेपछि विज्ञहरूको टोलीबाट सिफारिस गरेको आधारमा सञ्जालको सदस्यता दिइन्छ । 

यस सञ्जालको सदस्यस्ता प्राप्तिका लागि आवेदक सहरहरूले कम्तिमा ४ वर्षको कार्ययोजनासहित प्रतिबद्धता जनाउनुपर्छ । हालसम्म संसारका १०० भन्दा बढी मुलुकका ४०८ वटा सहरहरूले विभिन्न विधाहरूमा यस सञ्जालको सदस्यता प्राप्त गरिसकेका छन् ।

Share News