काठमाडौं । आइएमई लिमिटेडले मंगलबार काठमाडौंमा २५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न सभाले अध्यक्ष ढकालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।
सभामा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा क्षेत्रमा अग्रणी कम्पनीको रूपमा आइएमई लिमिटेड सर्वाधिक लोकप्रिय ब्रान्डका रूपमा स्थापित भएकोमा सम्बद्ध सबैमा धन्यवाद व्यक्त गरे । उनले कम्पनीले २५ वर्षको यात्रामा व्यावसायिक दायरा विस्तार गर्दै नयाँ प्रविधि र रणनीतिका साथ आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
ढकालका अनुसार आइएमईले प्रविधिको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवाको विस्तार र विविधीकरणमार्फत कम्पनीलाई ‘पूर्ण वित्तीय समाधान प्रदायक संस्था’को रूपमा विकास गर्ने नीति लिएको छ ।
त्यस्तै, आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमई लिमिटेडले २५ वर्षमा परिपक्वता हासिल गर्दै नागरिकको जीवनस्तर सुधार र उद्यमशीलता विकासमा उल्लेखनीय योगदान दिएको बताए । उनले आइएमई आज देशकै सर्वाधिक विश्वसनीय ब्रान्डका रूपमा स्थापित हुनु गौरवको विषय भएको टिप्पणी गरे ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवा अझ सरल, सहज र सुरक्षित बनाउने योजना रहेको जानकारी दिए । साथै, उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।