उद्यमीलाई सहुलियत ब्याजदरमा बिना धितो ऋण, ४ किस्तामा फिर्ता

काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई सहुलियत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराएको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘रूपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा १२ जना उद्यमीलाई १/१ लाख रुपैयाँका दरले ऋण उपलब्ध गराइएको हो ।

गाउँपालिकाका सामाजिक विकास अधिकृत भेषनाथ आचार्यका अनुसार ४ किस्तामा फिर्ता गर्ने गरी वार्षिक ७ प्रतिशत ब्याजदरमा बिना धितो सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइएको छ । ४ महिनापछि ४/४ महिनामा २५ हजार रुपैयाँका दरले १६ महिनामा सबै रकम फिर्ता गर्ने गरी ऋण उपलब्ध गराइएको हो । आवेदन सङ्कलन, उद्यमको स्थलगत अनुगमन, आबद्ध टोल विकास संस्थाको निर्णय र वडा कार्यालयको सिफारिसका आधारमा उद्यमी छनोट गरिएको छ ।

वडा नं १ का गङ्गाकुमारी पाइजाले कुखुरा पालन, वडा नं ६ का छममाया खोर्जा पुनले बाख्रा पालन र तरकारी खेती, वडा नं २ की चन्द्रकली घर्तीक्षेत्रीले भैँसी पालन, ८ की गुमा क्षेत्री, नारायण जिसीले पशु पालन, वडा नं ४ का जगत बहादुर घर्ती क्षेत्रीले माछा पालन, ढक बहादुर घर्ती क्षेत्री, वडा नं ८ का शिव बहादुर जिसीले कुखुरा र माछा पालन, वडा नं ९ का बमबहादुर गर्बुजा मगरले प्लास्टिक पोखरी निर्माण, ८ का गगन बहादुर महतले भैँसी पालन, ३ की माया घर्ती क्षेत्रीले सौन्दर्य सामग्री व्यवसाय र वडा नं ७ का दुर्गा दमाईले तरकारी खेती र कुखुरा पालनका लागि ऋण पाएका छन् । 

गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य र प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमको रोहबरमा बुधबार सम्झौता गरी उद्यमीहरूको खातामा रकम पठाइएको हो । आव २०८०/८१ मा नौ जनालाई ९ लाख रुपैयाँ, २०८१/८२ मा २० जनालाई १९ लाख ७५ हजार रुपैयाँ लगानी गरिएको घुम्ती कोषमार्फत चालु आवको फागुनमा थप ८ र असारमा ५ जनालाई लगानी गरिने गाउँपालिकाले जनाएको छ ।

सहुलियत ब्याजदरमा बिना धितो प्राप्त गरेको घुम्ती कोषको रकम अवधि पुगेपछि टोल विकास संस्थालाई फिर्ता गर्नुपर्नेछ । असल उद्यमी निर्माण तथा उद्यमशीलताको विकास गर्ने, भौतिक पूर्वाधारका काममा गुणस्तर कायम गर्ने, कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने, युवाको विदेश पलायन न्यूनीकरण गरी रोजगारीका अवसर सृजना गर्ने लगायत उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको छ ।

पालिकाभित्रै व्यावसायिक रूपमा गरिने फलफूल, तरकारी उत्पादन, पशुपन्छी पालन, घरेलु औजार तथा उपकरण निर्माण गरी स्वरोजगार मूलक काम गरिरहेका उद्यमीको प्रोत्साहन हुनुका साथै यस क्षेत्रमा लाग्न चाहने युवालाई पनि बिना धितो ऋण प्रवाहले प्रेरणा मिलेको छ ।

Share News