जेनजी आन्दोलनकारीले दमकल समेत छोडेनन्, अपाङ्गता भएकाहरू बोक्ने बस पनि जलाए : चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नगरपालिकाको काम नगरवासीलाई संरक्षण गर्ने र दिनचर्या झनै राम्रो बनाउने रहेको बताएका छन् । आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले ललितपुर महानगरपालिकाको सबैभन्दा महत्वपूर्ण काम नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उनीहरुको दिनचर्या राम्रो पार्ने र कसरी उहाँहरुको इन्कम जेनेरेशनमा कसरी टेवा पुर्याउने ? भन्ने रहेको बताए । जेनजी आन्दोलनका क्रममा ललितपुर महानगरपालिकाले दमकलको सेवा ललितपुर नगर क्षेत्रमा मात्रै नभइ काठमाडौं महानगरपालिकामा समेत दिएको बताए । सिंहदरबार, सर्वोच्च अदालत लगायतका स्थानहरुमा ७९ पटक दमकलको सेवा दिएको उनको भनाइ छ ।

उनले भने, ‘ललितपुर महानगरपालिकाले सबैभन्दा महत्वपूर्ण काम भनेको नगरवासीलाई कसरी संरक्षण गर्ने, कसरी उहाँहरुको दिनचर्या राम्रो पार्ने र कसरी उहाँहरुको इन्कम जेनेरेशनमा हामीले कसरी टेवा पुर्याउने ? भन्ने नै हाम्रो काम हो । ललितपुर महानगरपालिकाको दमकलको सेवा ललितपुर नगर क्षेत्रमा होइन, काठमाडौंको हिल्टन होटल, सिंहदरबार, सर्वोच्च, पाल्र्यामेण्ट बिल्डिङ्ग लगायतमा ७९ पटक दमकलको सेवा प्रवाह गरेका छौँ ।’

उनले मन्त्रीक्वार्टर जलेर फोन आएपछि दमकल पठाएको तर आन्दोलनमा सहभागी भएकाहरुले बाधा सिर्जन गरेको बताए । प्रमुख महर्जनले नगरवासीका लागि गर्नुपर्ने आवश्यक कामहरु आफूहरुले क्रमशः पूरा गरिरहेको बताए । आगो निभाउन गएको दमकललाई समेत आन्दोलनकारीले आगो लगाएको बताए । अब अत्याधुनिक दुई वटा दमकल खरिद गर्ने निर्णय समेत गरेको बताए । अपाङ्गता भएका व्यक्तिहरुका लागि खरिद गरेको गाडीमा समेत आगजनी भएकाले अब झनै अत्याधुनिक गाडी किन्ने जानकारी दिए । 
 

Share News