काठमाडौं । सेयर बजार अन्तिम समयमा गएर बढेको छ । अन्तिम दुई मिनेटमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेको छ । मंगलबार नेप्से २ बजेर ५८ मिनेटसम्म पनि घटेर राताम्य देखिएको थियो । तर अन्तिम २ मिनेटमा खरिदकर्ता हाबी भएर बजार एकाएक बढेको छ ।
मंगलबार नेप्से ०.२० प्रतिशत बढेर परिसूचक २६५५.९९ बिन्दुमा पुगेको छ । बजार बढ्दा कारोबार रकम भने ५ अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर कारोबार भएको छ ।
बजार बढ्दा १२२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
दिनभरमा ३१९ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ६४२ पटक सेयर किनबेच भएको छ ।
१३ वटा मध्ये विकास बैंक, जीवन बीमा, म्युचुअल फण्ड र ट्रेडिङ समूह घटेको छ भने बाँकी अन्य समूह बढको छ । आज लगानीकर्ता होटल तथा पर्यटन समूहमा आकर्षित भएका छन् ।