कर्णालीले दियो विराटनगरलाई १६१ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं ।  प्रियांक पञ्चाल र विलियम बोसिस्टोको ९६ रनको बलियो साझेदारीले कर्णालीले विराटनगर किंग्सलाई १६१ रनको बलियो लक्ष्य दिएको छ ।  

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा शुक्रबार भइरहेको डे-नाइट म्याचमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले ३ विकेट गुमाएर १६० रन बनाएको हो ।

ओपनर पान्चलले ४७ बल खेल्दै ६ चौका र २ छक्का मदतमा सर्वाधिक ६३ रन बनाए । उनको यस सिजन यो दोस्रो अर्धशतक हो ।

पहिलो खेलमा उनले चितवनविरुद्ध अर्धशतक प्रहार गरेका थिए । यस्तै, अष्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान गरे । बोसिस्टोले ४८ बल खेल्दा २ चौका प्रहार गरे ।

गुल्सन झाले २० रन जोडे । नजिबुल्लाह जद्रान १० रनमा अविजित रहे । मार्क वाट ६ रनमा आउट भए । बलिङमा विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले एक/एक विकेट लिए ।
 

Share News