काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्समाथि ६ विकेटको सानदार जित निकाल्दै लगातार पाँचौं जित दर्ता गरेको हो ।
यो जितसँगै सुदूरपश्चिम रोयल्सले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ भने साविक विजेता जनकपुरको प्लेअफ सम्भावना अब गणितीय समीकरणमा मात्र सीमित भएको छ ।
खराब सुरुआतपछि इशान र विनोदको उत्कृष्ट ‘कम्ब्याक’
जनकपुरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमको सुरुआत निकै खराब रह्यो । स्कोर बोर्डमा जम्मा १ रन जोड्दा टोलीले आफ्ना दुई प्रमुख ब्याटर गुमाइसकेको थियो ।
ओपनर जन ब्रोन ‘डायमन्ड डक’ र क्रिस लिन १ रनमै आउट भएपछि सुदूरपश्चिम दबाबमा परेको थियो । तर, त्यसपछि क्रिजमा आएका इशान पाण्डे र विनोद भण्डारीले खेलको नक्सा नै बदलिदिए । १–२ को नाजुक स्थितिबाट उकास्दै यी दुईले तेस्रो विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गरे ।
इशान पाण्डेले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ८ चौका र १ छक्काको मद्दतले अर्धशतकीय इनिङ खेले। त्यस्तै, ओपनर विनोद भण्डारीले ४२ रनको जिम्मेवारीपूर्ण योगदान दिए । अन्त्यमा हर्मित सिंहले १० बलमै ३ छक्का र १ चौकासहित २५ रन बनाउँदै टोलीलाई १७.४ ओभरमै जित दिलाए। कप्तान दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे ।
अविनाश र स्कटको घातक बलिङ
यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। जनकपुरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका बलरहरू हाबी भए । अविनाश बोहराले ४ ओभरमा ३० रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए भने स्कट कुग्गेलिनले ३ विकेट हात पारे। कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।
जनकपुरका लागि सञ्जय कृष्णमुर्थीले अर्धशतकीय पारी खेले । ७४ रनमा ४ विकेट गुमाएको अवस्थामा उनले ३८ बलमा ५० रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोहोर्याएका थिए । जान निकोल लोफ्टी इटोनले ३९ रन बनाए ।
यो खेलमा जनकपुरले नियमित कप्तान अनिलकुमार साहलाई बेन्चमा राख्दै दक्षिण अफ्रिकाका वायन पार्नेललाई कप्तानी सुम्पेको थियो । तर, यो रणनीति सफल हुन सकेन । ओपनर आसिफ शेख र शुभ कंसाकार खाता नखोल्दै पेभिलियन फर्किएपछि जनकपुर सुरुदेखि नै दबाबमा परेको थियो ।
लगातार पाँच जितसहित सुदूरपश्चिम रोयल्सले उपाधि दाबेदारी बलियो बनाएको छ । उता गत वर्षको च्याम्पियन जनकपुर बोल्ट्सको भने अबको यात्रा अन्य टोलीको नतिजा र गणितीय सम्भावना माथि निर्भर रहनेछ ।