काठमाडौं । इम्बार्क अनम्याथले प्रिमियर इन्टरनेशनल आइबी कन्टिन्यूम स्कुलसँगको साझेदारीमा कात्तिक ६ गते (नोभेम्बर २१) एक नवीन सिकाइ–केन्द्रित गणित सत्र आयोजना गर्यो । कार्यक्रममा विद्यार्थीहरूले हाल चलिरहेको नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ बाट प्रेरित लाइभ मोक क्रिकेट ‘अक्शन’मा सहभागी हुँदै खेलकुदको रोमाञ्चलाई रणनीतिका साथ गणितीय सिकाइसँग जोड्ने अनुभव पाए ।
उक्त गतिविधिले विद्यार्थीहरूलाई गणितका अवधारणाहरू वास्तविक परिस्थितिमा कसरी प्रयोग हुन्छ भन्ने अनुभव गरायो । सत्रमा ६० विद्यार्थी, तीन शिक्षक तथा चितवन राइनोजका विशेष अतिथि बिपिन आचार्य सहभागी थिए । आचार्यले अनलाइनमार्फत खेलाडी छान्ने रणनीतिबारे आफ्नो पेशागत अनुभव सुनाए ।
विद्यार्थीहरूले सांख्यिकीय विश्लेषण, बजेट व्यवस्थापन, सम्भाव्यता र रणनीतिगत योजना प्रयोग गरी निर्धारित रकमभित्र सन्तुलित टिम निर्माण गर्ने अभ्यास गरे । इम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठीजाले भने, 'हरेक फ्रेन्चाइज टिमका लागि खेलाडीको सही संख्या र सीपको राम्रो संयोजन मिलाउन गणित नै मुख्य आधार हो । गणित र रणनीतिक योजना बिना प्रभावकारी निर्णय लिन सकिँदैन । यही कुरा यो सत्रको मुख्य सन्देश हो ।'
विद्यार्थीहरूले लाइभ अक्शनको दबाब र रोमाञ्चको बीचमा गणितका अवधारणाहरूमा सक्रिय रूपमा भाग लिए । एक विद्यार्थीले भने, 'हिसाबकिताब गरेर जोखिम कसरी लिनुपर्छ, कहाँ बुद्धिमानीपूर्वक लगानी गर्नुपर्छ र समूह तथा खेलाडीलाई प्रभावकारी रूपमा कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने सिक्यौँ । यो साँच्चिकै स्मरणीय अनुभव भयो ।'
प्रीमियर इन्टरनेशनल स्कुलले अनुभव र खोजीमूलक सिकाइलाई जोड दिंदै वास्तविक जीवनमा लागू हुने ज्ञान, आलोचनात्मक सोच र विषयगत सम्बन्धमा ध्यान केन्द्रित गर्छ । यसले विद्यार्थीहरूलाई गणितमा मात्र दक्ष नभई दैनिक जीवनका जटिल समस्याहरू समाधान गर्न आवश्यक आत्मविश्वास र सीप पनि विकास गराउँछ ।
साझेदारी, व्यावहारिक परियोजना र विश्वव्यापी सिकाइका अवसरहरू मार्फत प्रीमियरले विद्यार्थीहरूलाई विश्लेषणात्मक, सहकार्य गर्न सक्ने र भविष्यका चुनौतीका लागि निरन्तर तयार पारिरहेको छ । २०१२ मा स्थापना भएको अनम्याथले विद्यालयमा गणित सिकाइको अनुभवलाई नयाँ ढंगले परिभाषित गर्दै आएको छ ।