काठमाडौं । होम–आधारित सेवा प्लेटफर्म भेटायो इंक प्रालिले विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितलाई प्राथमिकता दिँदै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडसँग सहकार्य गरेको छ । यस साझेदारीमार्फत भेटायोले एपमार्फत सेवा प्रदान गर्ने सबै पेशेवरका लागि दुर्घटना बीमा सुविधा सुरु गरेको छ ।
कम्पनीका अनुसार यो पहलले ग्राहकलाई सेवाका लागि जाने प्रत्येक प्रदायकलाई अतिरिक्त सुरक्षा प्रदान गर्नुका साथै भेटायोको कार्यबलप्रतिको जिम्मेवारी र प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ ।
भेटायोका सह–संस्थापक रोचन मान महर्जनले भने, 'हामीले सेवा विस्तारका यात्रामा हाम्रो आधारस्तम्भका रूपमा सेवा प्रदायकलाई राखेका छौँ । दुर्घटना बीमा उपलब्ध गराएर उनीहरू सुरक्षित महसुस गरून् र आफ्नो पेशागत यात्रामा अझ उत्साहित रहून् भन्ने हाम्रो चाहना हो ।'
यो सहकार्यले भेटायोका सेवा प्रदायकहरूको आत्मविश्वास मात्रै बढाउने छैन, सेवा क्षेत्रमै नयाँ मापदण्ड पनि स्थापित गर्ने भेटायोको अपेक्षा छ । जहाँ कामदारको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिइन्छ।
भेटायोले हिमालयन एभरेस्ट इन्स्योरेन्सको समर्थनका लागि कृतज्ञता व्यक्त गर्दै दुवै संस्थाको उद्देश्य नेपालमा जिम्मेवार, विश्वासिलो र प्रयोगकर्ता–केन्द्रित सेवा वातावरण निर्माण गर्नु रहेको जनाएको छ।
भेटायो एपमार्फत हाल ग्राहकहरूले १५ भन्दा बढी सेवाहरू जस्तै प्लम्बिङ, इलेक्ट्रिकल, पेस्ट कन्ट्रोल, घर सरसफाइ लगायतका सेवा विश्वसनीय, छिटो र पारदर्शी रूपमा प्राप्त गर्न सक्छन् ।