काठमाडौं । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यस सेवाले भौतिक तथा अनलाइन ई–कमर्स व्यवसायीहरूलाई डिजिटल कारोबार सहज, द्रुत र सुरक्षित रूपमा गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।
नयाँ गेटवे मार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका डेबिट वा क्रेडिट कार्ड मार्फत ग्राहकबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् । यस सुविधाले नेपालभित्र तथा विदेशबाट पनि डिजिटल भुक्तानी लिन सकिने भएकाले व्यवसाय विस्तारमा ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
गेटवेमाअन्तर्गत ओटीपी वा पासवर्ड–आधारित प्रमाणीकरण प्रणाली समावेश गरिएको छ, जसले कार्डबाट हुने अनलाइन कारोबारलाई अझ सुरक्षित बनाउँछ । बैंकका अनुसार यसले अनाधिकृत भुक्तानी वा जोखिमपूर्ण खरिदमा उल्लेखनीय कमी ल्याउनेछ र उपभोक्ता तथा व्यवसायी दुवैमा विश्वसनीयता बढाउनेछ ।
एनएमबि बैंकले यो सहकार्य ई–कमर्स प्रवर्द्धन तथा देशको डिजिटलाइजेसनलाई सुदृढ बनाउने महत्त्वपूर्ण कदम भएको बताएको छ । सबैका लागि कार्ड भुक्तानीलाई सजिलो र सुरक्षित बनाउँदै, बैंकले डिजिटल अर्थतन्त्रतर्फ देशलाई अगाडि लैजाने लक्ष्य राखेको छ ।
सुरक्षित भुक्तानी सेवा अपनाउन इच्छुक अनलाइन व्यवसायीहरूले आफ्नो पोर्टलमा पेमेन्ट गेटवे जोड्नका लागि एनएमबि बैंकमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।