काठमाडौं । बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आफ्नो नगरक्षेत्रमा जन्मिएका ४१ जना छोरीलाई मुद्दती खाता खोलिदिएको छ । नगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहन गर्न गत आर्थिक वर्षदेखि नगरभित्र जन्मेका छोरीलाई मुद्दती खाता खोलिदिन सुरु गरेको थियो ।
चालु आर्थिक वर्षमा जन्मेका छोरीको खाता खोल्न बाँकी रहेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए । प्रत्येक छोरीलाई २ हजार ५०० रुपैयाँका दरले नगरपालिकाको तर्फबाट खातामा रकम जम्मा गरेर खाता उपहार प्रदान गरिएको प्रमुख शर्माले बताए ।
उक्त मुद्दती खातामा चक्रीय ब्याज आउने गरी बैंकसँग समन्वय गरिएको छ ।
‘छोरीको भ्रूण हत्या रोक्न, छोरी प्रतिको सकारात्मक सोचको विकास गर्दै जन्मेपछि जन्मदर्ता गर्ने प्रकृतिको विकास गर्न यो कार्यक्रम ल्याइएको हो,’ प्रमुख शर्माले भने ।
उनका अनुसार गत वर्ष निर्देशिका बनाउन समय लाग्दा केही छोरीहरू छुटेका समेत छन् । चालु आर्थिक वर्षमा गत आर्थिक वर्षदेखि यता जन्मेका नगरका सबै छोरीको मुद्दती खाता खोलिने उनले बताए ।
छोरी जन्मेपछि वडा कार्यालयमा जन्मदर्ता गर्न आउँदा नगरपालिकाले मुद्दती खाता खोलेर सो रकम जम्मा गरिदिने र अभिभावक समेतलाई उक्त खातामा दक्षअनुसार रकम जम्मा गर्न अनुरोध गर्दै आएको छ ।