काठमाडौं । सहकारी पीडितहरूले प्रदर्शनलाई जारी राखेका छन् । मंसिर ५ गतेदेखि पीडितहरूले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले सोमबार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् । सहकारीमा जम्मा गरेको बचत फिर्ता पाउनुपर्ने, रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा सहभागी बनेपामा रहेको पशुपति सहकारी पीडित राजकुमार ढकालले आफ्नो १८ लाख रुपैयाँ डुबेको बताए । उनले छोराछोरी पढाउनका लागि राखेको रकम फिर्ता नपाएको गुनासो गरे । ३ वर्षदेखि सो सहकारी बन्द भएको उनको भनाइ छ ।
सञ्चालक फरार भएपछि विगत ३ वर्षमा आफूहरूले रत्नपार्कमा १०८ दिन, तीनकुने ६३ दिन आन्दोलन गरेको जानकारी दिए । हाल बुद्धनगरमा मंसिर ५ गतेदेखि आन्दोलन गरिरहेको उनको भनाइ छ । सरकारले पटक–पटक वार्ता गरे पनि आफुहरूको माग पूरा नगरेको बताए ।
कतिपय सहकारी पीडितहरू डिप्रेसनको शिकार समेत बनेको भनाइ छ । सरकारले चाहेमा सहकारी पीडितको रकम फिर्ता गर्न सक्ने बताए । आफू पनि डिप्रेसनको शिकार भएर औषधि सेवन गरिरहेको जानकारी दिए । उनले जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारले समेत आफुहरूको माग पूरा नपारेको जानकारी दिए ।
प्रदर्शनमा सहभागीहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘बचतकर्ताको सम्पूर्ण बचत फिर्ता गर्ने जिम्मेवारी सरकारको हो’, ‘भ्रष्टाचारमुक्त नेपाल निर्माण गरौँ’, ‘सम्पूर्ण पीडितको बचत फिर्ताको जिम्मा सरकारले लिनुपर्छ’, ‘सरकार समस्याग्रस्तमा राजनीतिक नियुक्तिको आवरणमा दलाली गर्ने कर्मचारीलाई कारबाही खै ?’ लगायतका नारा लेखिएका प्ले–कार्ड बोकेका थिए ।