काठमाडौं । ‘विसं २०१३ सालमा स्थापना भएको नेपाल राष्ट्र बैंकको ७० वर्षे इतिहासमा मेरो जिल्लाबाट दुई जना मात्रै हौं उच्च तहमा पुगेका । राज्यको असमान वितरणका कारणभन्दा पनि मेरो जिल्लाका नागरिकले चासो नदिएर पनि यो ठाउँमा पुग्न नसकेका हौंला । अब यो तहमा मेरो जिल्लाको मान्छे पुग्न २०औं वर्ष कुनुपर्ने हुनसक्छ । किनकि अहिले केही साथीहरू हुनुहुन्छ । तर, उहाँहरू तल्लो तहमै कार्यरत हुनुहुन्छ,’ राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले अनौपचारिक कुराकानीमा भने ।
उनका अनुसार वित्तीय प्रणालीमा सन्तुलित विकास गरिएपनि संस्थाभित्र भूगोलका हिसाबले ठूलो फरक पर्छ । राष्ट्र बैंकको उच्च तहमा रहेका व्यक्ति नैतिकवान भएपनि आफ्नो भूगोलका मान्छेलाई तान्न खोज्ने गरेको उनको भनाइ छ ।
‘मैले जति नैतिक कुरा गरेपनि फरक पर्छ । झापा, डोटी, चितवनका गभर्नर हुनुमा क्षेत्रीय रूपमा धेरै प्रभाव पर्छ । उहाँहरू नैतिकवान हुनुहुन्छ, त्यो स्वभाविक हो । तर, क्षेत्रीयता झल्किन्छ,’ उनले भने, ‘जनसंख्या अनुपातमा राष्ट्र बैंकमा स्याङ्जाका मान्छे अलि बढी छन् । किनभने उहाँहरू पढ्नुहुन्छ र लोकसेवा पनि तयारी गर्नुहुन्छ । लोकसेवा परीक्षा पास गर्नेमा स्याङ्जाली धेरै छन् । त्यसकारण उहाँहरू अगाडि जानुहुन्छ ।’
तीलक रावल गभर्नर हुँदा पीएनदेखि अन्य तहमा आफ्ना धेरै मान्छेलाई राष्ट्र बैंकमा जागिर खुवाउन सहयोग गरेको उदाहरण राष्ट्र बैंकमा रहेको धेरैको बुझाइ छ । साथै डा. युवराज खतिवडा गभर्नर हुँदा पनि धेरै कर्मचारी भित्रिएको राष्ट्र बैंकका कर्मचारी बताउँछन् । त्यसैले एउटा जिल्लाको मान्छे डेपुटी गभर्नर, गभर्नर हुनुमा धेरै नै क्षेत्रीयता झल्किने उनीहरूको बुझाइ छ ।
कुन जिल्लाबाट कति छन् ?
हाल नेपाल राष्ट्र बैंकमा कुल १ हजार १८५ जना कर्मचारी कार्यरत छन् । जसमा अधिकृत विशिष्ट तहमा १८ जना, अधिकृत प्रथम तहमा ५८ जना, अधिकृत द्वितीय तहमा २०७ जना, अधिकृत तृतीय तहमा ४०६ जना, सहायक प्रथम तहमा १९९ जना, सहायक द्वितीय तहमा २३५ जना, सहायक तृतीय तहमा ८ जना, श्रेणीविहीन कार्यालय सहयोगी (प्रथम) तहमा १६ जना र श्रेणीविहीन कार्यालय सहयोगी (तृतीय) तहमा ३८ जना कर्मचारी रहेको मानव संसाधन व्यवस्थापन विभागले जनाएको छ ।
नेपाल राष्ट्र बैंकमा सबैभन्दा धेरै कर्मचारी काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने रहेका छन् । काठमाडौंबाट १३८ जना रहेको विभागले जनाएको छ । यस्तै, दोस्रोमा झापाबाट ७० जना कर्मचारी रहेका छन् ।
राष्ट्र बैंकका अनुसार ललितपुरबाट ५३ जना, मोरङबाट ५० जना, कास्कीबाट ३९ जना, भक्तपुर र रुपन्देहीबाट ३५/३५ जना, स्याङजाबाट ३४ जना, धनुषाबाट ३३ जना, कैलालीबाट ३२ जना, सुनसरीबाट ३१ जना, सर्लाहीबाट ३० जना, काभ्रेपलाञ्चोकबाट २९ जना, नुवाकोटबाट २८ जना कर्मचारी कार्यरत छन् ।
बाराबाट २७ जना, पाल्पाबाट २५ जना, अर्घाखाँचीबाट २४ जना, गुल्मीबाट २१ जना, मकवानपुरबाट २१ जना, बाँके र तनहुँ २०/२० जना, सप्तरीबाट १८ जना, नवलपरासीबाट १७ जना, पर्सा र चितवनबाट १६/१६ जना, बर्दिया र कञ्चनपुरबाट १५/१५ जना कर्मचारी कार्यरत रहेको राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले जनाएको छ ।
उदयपुर, सिन्धुली र लमजुङबाट १४/१४ जना, गोर्खा र बैतडीबाट १३/१३ जना, महोत्तरी र दोलखाबाट १२/१२ जना जना, सिन्धुपाल्चोक, धादिङ र दाङबाट ११/११ जना, सिराहा, खोटाङ, अछाम र डोटीबाट १०/१० जना, इलाम, रामेछाप र रौतहटबाट ९/९ जना कर्मचारी रहेका छन् ।
यस्तै, भोजपुर र ओखलढुङ्गाबाट ८/८ जना, पाँचथर र बाग्लुङबाट ७/७ जना, पर्वत, संखुवासभा र दैलेखबाट ६/६ जना, कपिलवस्तु, रुकुम, प्युठान र सुर्खेतबाट ५/५ जना, ताप्लेजुङ, धनकुटा, म्याग्दी र तेह्रथुमबाट ४/४ जना कर्मचारी कार्यरत छन् । राष्ट्र बैंकका अनुसार सल्यान र बझाङबाट ३/३ जना, जुम्ला, डोल्पा र डडेल्धुराबाट २/२ जना, जाजरकोट, रसुवा, बाजुरा, दार्चुला र हुम्लाबाट १/१ जना कर्मचारी कार्यरत छन् ।
७७ जिल्ला मध्ये ८ जिल्लाबाट राष्ट्र बैंकमा शून्य प्रतिनिधित्व रहेको छ । अर्थात् राष्ट्र बैंकको जागिर प्रयासमा ३० वर्षदेखि ८ जिल्लामा परीक्षार्थी परीक्षाकै क्रममा आउट हुने गरेको देखिएको छ । त्यसमा सोलुखुम्बु, रोल्पा, मुगु, कालिकोट, मनाङ, मुस्ताङ, नवलपरासी बर्दघाट पूर्व, रुकुमपूर्व जिल्लाहरू रहेका छन् ।