काठमाडौं । विराटनगर इन्टरनेशनल कलेज (बीआईसी) को वार्षिक दीक्षान्त समारोह २०२५ आइतबार सोल्टी वेस्टेन्ड, इटहरीमा सम्पन्न भएको छ ।
कलेज प्रशासनका अनुसार यस वर्ष कलेजका ६४ विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन् । तीमध्ये ५४ जना बीएससी (एचओएनएस) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र १० जना बीएससी इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्टमा दीक्षित भएका छन् ।
कलेजका अनुसार यी विद्यार्थी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धात्मक करिअर यात्रा सुरु गर्न सक्षम छन् ।
समारोहमा इनोभेट नेपाल ग्रुप (आईएनजी) का संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले स्नातकहरूलाई शुभकामना दिँदै परिवर्तनकारी सोच, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीसहित समाजको रूपान्तरणमा योगदान दिन आह्वान गरे ।
यस्तै, कलेजको शैक्षिक साझेदार युनिभर्सिटी अफ वोल्भरह्याम्पटनका प्रतिनिधिले स्नातकहरूको प्रतिबद्धता, अनुशासन र मेहनतको प्रशंसा गर्दै बीआईसी र विश्वविद्यालयबीचको सुदृढ शैक्षिक सहकार्यकै परिणाम स्वरूप यस्तो उत्कृष्ट नतिजा आएको बताए ।
कलेजका अध्यक्ष तथा व्यवस्थापन टोलीले स्नातकहरूलाई बधाई दिँदै उनीहरूले व्यवस्थापन, उद्यम, आतिथ्य सेवा र विश्वस्तरका अवसरहरूमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका थिए ।
