काठमाडौं । काठमाडौंको मध्यभागमा २ अर्ब रुपैयाँ लगानीमा १० तले २ वटा अपार्टमेन्ट बन्ने भएका छन् । केसी ग्रुप, क्याल ग्रुप र प्रमोद अधिकारीको संयुक्त लगानीमा डिएलएफ ग्रिन्स आवासीय अपार्टमेन्ट बन्ने भएका हुन् ।
डिएलएफ नेपाल बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिका-४ विशालनगरस्थित कित्ता नम्बर ३३६, २१९, २१७ लगायतका १५ वटा कित्ताको कुल ७ रोपनी ११ अना जग्गामा १० तलाका २ वटा अपार्टमेन्ट बनाउन लागेको हो । कम्पनीका अनुसार अपार्टमेन्ट निर्माण कार्य समेत अघि बढिसकेको छ । कम्पनीले उक्त अपार्टमेन्ट बनाउन विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ११ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ ।
कम्पनीले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन अनुसार उक्त अपार्टमेन्टका आरसीसी पूर्वाधारहरूमा २ टावर ब्लक, २ बेसमेन्ट, प्रत्येक ब्लक १० तल्ले, उचाइ ३३.४ मिटर र जम्मा अपार्टमेन्ट इकाइ ४६ वटा रहने छन् ।
मापदण्ड अनुसार सेटब्याक रहेको यसको एफएआर ३.९० रहनेछ भने कुल विल्ट अप एरिया २२ हजार ८०३.८८ वर्गमिटर रहने कम्पनीले जनाएको छ । साथै लिफ्ट, खुला हरियाली क्षेत्र, पार्किङ, बाटो, गेट पर्खाल र आगलागी नियन्त्रण प्रणाली पनि रहने प्रतिवेदनमा उल्लेख छ ।
कम्पनीले अपार्टमेन्टको वातावरणीय प्रभाव मुल्यांकन ईआईए प्रतिवेदन स्वीकृतिको लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै प्रतिवेदनमा कुनै सुझाव भए ७ दिनभित्र पेस गर्न आग्रह गरेको छ ।
प्रतिवेदन अनुसार अन्य संरचनाहरूमा ९० हजार लिटर दैनिक भूमिगत पानीको प्रयोग हुने गरी बनाइने ट्याङ्की, थप आकाशे पानी संकलन र प्रशोधन ट्याङ्की बनाइनेछ । साथै २ वटा ३० केएलडीका ढल प्रशोधन योजनाबाट तरल फोहोर व्यवस्थापन हुने गरी भौतिक संरचनाहरू बनाइने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एउटा फ्ल्याटमा ३ वटा कोठा, हल र किचन रहने छन् भने २५ सय वर्ग फिटदेखि ५८ सय वर्गफिटका फ्ल्याट हुनेछन् । हरेक युनिटमा ग्रिन बाल्कोनीसहित जिम र हेल्थ क्लब, अपार्टमेन्ट परिसरमै जगिङ ट्रयाक, स्विमिङपुल, बच्चाहरू खेल्ने ठाउँ राखिने कम्पनीले जनाएको छ ।
केसी ग्रुपअन्तर्गत रहेको डीएलएफ नेपाल बिल्डर्सको अध्यक्ष क्याल ग्रुपका सत्यनारायण क्यालले गर्दै आएका छन् । उत्पादन क्षेत्रमा ३५ वर्षभन्दा बढीको अनुभव बोकेका क्यालले सन् २०२२ देखि केसी ग्रुपसँग रियल इस्टेट र जलविद्युत क्षेत्रमा साझेदारी गर्दै आएका छन् ।
कम्पनीको मुख्य सेयरधनीहरूमा केसी ग्रुप, क्याल ग्रुप र प्रमोद राज अधिकारी रहेको कम्पनीले जनाएको छ । केसी ग्रुपका अध्यक्ष रोशन केसी माछापुच्छ्रे बैंकका अध्यक्षसमेत हुन् ।
निर्माण कार्य सुरु भएसँगै कम्पनीले बुकिङ समेत खुला गरिसकेको छ । कम्पनीका अनुसार एक वर्गफिटको मूल्य २८ हजार ५ सय रुपैयाँ तोकिएको छ भने अपार्टमेन्टको १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्म रहेको छ ।