काठमाडौं । नेपाल सफ्टवेयर तथा सूचना प्रविधि सेवा कम्पनी संघ (नास-आईटी) ले एशिया प्यासिफिक सूचना प्रविधि एलायन्स (एपीआईसीटीए) अवार्ड २०२५ का लागि नेपालका आइटी कम्पनी र प्रतिनिधिहरू ताइवान प्रस्थान गरेको जनाएको छ ।
सूचना प्रविधि अवार्ड २०२४ का श्रेणी विजेता तीन कम्पनीहरूले डिसेम्बर ५ देखि ८ सम्म आयोजना हुने यस प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने जनाइएको छ ।
कार्यक्रममा उनीहरूसँगै तीन निर्णायक र अर्थ संयोजकसमेत रहेका चार प्रतिष्ठित व्यक्तिहरू पनि सहभागी छन् जसले अन्तर्राष्ट्रिय निर्णायक प्यानल र कार्यक्रम समन्वयमा आफ्नो विशेषज्ञता र नेतृत्व प्रदान गर्नेछन् ।
नेपाल प्रतिनिधित्व गर्ने कम्पनीहरू क्रिमसन टेक प्रालि, अल्पस टेक्नोलोजी प्रालि, र एड्रेसग्राफ नेपाल प्रालि रहेका छन् ।
यसैगरी निर्णायक प्रतिनिधिहरूमा रिचन श्रेष्ठ, संस्थापक अध्यक्ष, एनएएस–आईटी र प्रमुख कार्यकारी अधिकृत, क्विकफक्स टेक्नोलोजीज प्रालि, दीपन चापागाईं, उपाध्यक्ष, एनएएस–आईटी र देश निर्देशक, लगपोइन्ट नेपाल प्रालि, नारायण कोइराला, कार्यसमिति सदस्य, एनएएस–आईटी र प्रबन्ध निर्देशक, एमिनेन्स वेज प्रालि, सोनिया श्रेष्ठ, अर्थ संयोजक, एपीआईसीटीए अवार्ड र सचिवालय, एनएएस–आईटी रहेका छन् ।
संघले सहभागी कम्पनी, निर्णायक र प्रतिनिधिहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै नेपाललाई प्रविधि र नवप्रवर्तनको विश्वव्यापी केन्द्र बनाउने प्रतिबद्धता दोहोर्याएको छ ।