एनपीएल-२ क्रिस लिन चम्किँदा सुदूरपश्चिमद्वारा चितवनलाई १७० रनको  चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजसामु जितका लागि १७० रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रनको सम्मानजनक योगफल तयार पारेको हो । 

सुदूरपश्चिमको इनिङ्सलाई उकास्न ओपनर क्रिस लिनले मुख्य भूमिका खेले। आक्रामक शैलीमा प्रस्तुत भएका लिनले ५६ बलको सामना गर्दै ७५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले मैदानको चारैतर्फ सट प्रहार गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए तर दुर्भाग्यवश उनी ’रिटायर्ड हर्ट’ भएर मैदान छाड्न बाध्य भए । 

लिनबाहेक अन्य ब्याटरहरूले पनि टोलीको स्कोरमा महत्त्वपूर्ण योगदान दिए । विनोद भण्डारीले २१ रन जोड्दा आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरीले समान २४–२४ रन बनाएर इनिङ्सलाई अन्त्यसम्म सम्हाले । 

बलिङतर्फ चितवन राइनोजका सैफ जैबले कसिलो बलिङ गर्दै २ विकेट हात पारे । त्यस्तै, रञ्जित कुमार र जर्ज स्क्रिमशले १–१ विकेट लिँदै सुदूरपश्चिमलाई रोक्ने प्रयास गरे ।  अब १७० रनको विजय लक्ष्य पछ्याउँदै चितवन राइनोजले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ । 

Share News