काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राख्दै सानदार शैलीमा पहिलो ‘क्वालिफायर’ मा स्थान सुरक्षित गरेको छ ।
बिहीबार साँझ सम्पन्न खेलमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै सुदूरपश्चिमले लिग चरणका ६ वटै खेलमा जित हासिल गरेको हो । यो जितसँगै १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा रहँदै सुदूरपश्चिमले उपाधि नजिकको यात्रा तय गरेको छ ।
सुदूरपश्चिमको यो जितले सन्दीप लामिछाने कप्तानीको विराटनगर किंग्सलाई ठूलो फाइदा पुगेको छ । चितवन पराजित भएपछि ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगरको प्लेअफमा स्थान पक्का भएको हो ।
यसअघि नै काठमाडौँ गोर्खाजले बिहीबार दिउँसो पोखरालाई हराउँदै अन्तिम चारमा स्थान बनाइसकेको छ ।
चितवनलाई सकस, चौथो टोली को ?
सुदूरपश्चिमसँगको हारले चितवन राइनोजको प्लेअफ यात्रा भने निकै कठिन मोडमा पुगेको छ । ६ खेलमा ४ हार ब्यहोरेको चितवनको खातामा मात्र ४ अंक छ ।
अब अन्तिम खेल जितेर मात्र चितवनलाई पुग्दैन, अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ । अब प्लेअफको अन्तिम एक सिटका लागि चार टोली- लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्टस् र चितवन राइनोजबीच रस्साकस्सी हुनेछ ।
शुक्रबार हुने खेल निर्णायक बन्न सक्छ । यदि शुक्रबार जनकपुर बोल्टस् विरुद्धको खेलमा लुम्बिनी लायन्स विजयी भएमा लुम्बिनी ८ अंकसहित सोझै प्लेअफमा पुग्नेछ भने बाँकी तीन टोली बाहिरिनेछन् ।
तर, जनकपुरले बाजी मारेमा भने समीकरण थप रोचक बन्नेछ । कर्णाली याक्स भने यसअघि नै दौडबाट बाहिरिसकेको छ ।
बिहीबारको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रनको बलियो योगफल खडा गरेको थियो ।
सुदूरपश्चिमका लागि अष्ट्रेलियाली ब्याटर क्रिस लिनले विष्फोटक ब्याटिङ गर्दै ५६ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७५ रन बनाए ।
कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २४/२४ रनको योगदान दिँदा विनोद भण्डारीले २१ रन जोडे ।
१७० रनको लक्ष्य पछ्याएको चितवन राइनोजको ब्याटिङ लाइनअप धराशायी बन्यो । चितवन २० ओभर नखेल्दै १२० रनमा अलआउट भयो । चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ र देव खनालले २८ रन बनाए पनि हार टार्न सकेनन् ।
सुदूरपश्चिमको कसिलो बलिङमा पुनित मेहराले २ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले एक/एक विकेट हात पारे ।