काठमाडौं । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा देशभरका ३० स्थानबाट लिइरहेको जनाएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्र ४ वटा कार्यालयले ट्रायल परीक्षा लिइरहेको विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाले जानकारी दिए ।
उनले भने, ‘काठमाडौं उपत्यकामा अहिले ४ वटा कार्यालयबाट लाइसेन्सको काम भइरहेको छ भने बाँकी अन्य ठाउँबाट गरी ३० वटा कार्यालयबाट ट्रायल परीक्षा सञ्चालन भइरहेका छन् ।’
प्रदेशहरूबाट आएका मागका आधारमा र केही अस्थायी कार्यालय थपेर सेवा दिइरहेको खतिवडाको भनाइ छ ।
लाइसेन्स वितरणमा भने मुद्रण विभाग अन्तर्गतको सुरक्षण मुद्रण केन्द्रका कारण ढिलाइ भएको उनले जानकारी दिए ।
विभागले केन्द्रलाई ६ हजार लाइसेन्स छाप्न पठाए पनि हालसम्म ४ हजारको हाराहारीमा मात्र प्राप्त भएको उनको भनाइ छ ।
उनले भने, ‘हामीले ६ हजार पठाए पनि केन्द्रले करिब ४ हजारमात्र विभागमा पठाएको छ । जसले गर्दा सेवाग्राहीले समयमै लाइसेन्स प्राप्त गर्न सकिरहेका छैनन्।’
विभागले पछिल्लो पटक लाइसेन्स आवेदन दिएका ग्राहकलाई फेसबुकबाट जानकारी दिँदै आएको छ । लाइसेन्स छपाइका लागि केन्द्र र विभागबीच गत कात्तिक १२ मा सम्झौता भएको थियो । केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्ने छ ।
लाइसेन्सका लागि ६ महिना कुर्नुपर्ने
ट्रायल पास गरेपछि लाइसेन्सका लागि ६ महिना कुर्नुपर्ने विभागले जनाएको छ । विभागका अनुसार ट्रायल पासपश्चात लाइसेन्स प्राप्त गर्नका लागि आवेदकले अनलाइन फारम भर्नु अनिवार्य छ ।
यदि सेवाग्राहीलाई तत्काल लाइसेन्स आवश्यक परेको छ भने अनलाइन फारम भरेर इमर्जेन्सी दाबी गर्नुपर्छ । यसरी दाबी गरेका आवेदकहरूको लाइसेन्स सुरक्षा मुद्रणमार्फत एक हप्तादेखि १० दिनभित्र प्रिन्ट गरी उपलब्ध गराइने निर्देशक खतिवडाले दावी गरे ।
यदि आवेदकले अनलाइन फारम भर्दैनन् र प्रक्रिया अघि बढाउँदैनन् भने उनीहरूको लाइसेन्स ब्याकलकमा जानेछ । यस्तो अवस्थामा लाइसेन्स प्रिन्ट हुन र हात पर्न ३ देखि ६ महिनासम्म लाग्न सक्ने विभागले जनाएको छ ।
लाइसेन्सबारे जानकारी कसरी पाउने भन्ने विषयमा पनि विभागले स्पष्ट पारेको छ । यसअघि ट्रायल पास हुनेबित्तिकै वा राजस्व तिर्नेबित्तिकै मोबाइलमा एसएमएस आउने गथ्र्यो । तर अहिले उक्त व्यवस्थामा परिवर्तन गरिएको छ । अब लाइसेन्स प्रिन्ट भएर तयार भई सम्बन्धित यातायात कार्यालयमा पुगेपछि मात्रै सेवाग्राहीलाई एसएमएस पठाइने निर्देशक खतिवडाले जानकारी दिए ।
नयाँ लाइसेन्सका लागि आवेदन दिनेहरूको ट्रायल परीक्षा प्रणालीमा भने तत्काल कुनै नयाँ नियम वा कानुन लागू भएको छैन ।
निर्देशक खतिवडाका अनुसार पुरानै प्रक्रियाहरूलाई पुन: मूल्यांकन गरेर परीक्षा सञ्चालन भइरहेको छ ।
खतिवडाका अनुसार अहिले विभागको कार्यालय भवनको पुनः निर्माण काम जारी छ । मुख्य भवनको काम ८० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए । तर, अन्य भवनहरूमा भने काम सुरुसमेत भएको छैन ।
‘मुख्य भवनमा धेरै काम भइसकेको छ । लगभग ८० प्रतिशत काम पूरा भइसकेको छ । तर अन्य भवनहरूमा भने काम सुरु नै भएको छैन । ती भवन बनाउन अझै धेरै समय लाग्छ । करिब ३/४ वर्ष जति लाग्न सक्छ ।’
विभागले अहिले पनि पालमुनिबाटै सेवा प्रवाह गरिरहेको छ ।
यी हुन् ट्रायल सञ्चालन भइरहेका ठाउँहरू :
१. यातायात व्यवस्था कार्यालय, राधेराधे (भक्तपूर)
२. यातायात व्यवस्था कार्यालय, ठुलोभर्याङ (काठमाडौं)
३.यातायात व्यवस्था कार्यालय, चाबहिल (काठमाडौं)
४. यातायात व्यवस्था कार्यालय, एकान्तकुना (ललितपुर)
५. यातायात व्यवस्था कार्यालय, इटहरी (सुनसरी)
६ यातायात व्यवस्था कार्यालय, लहान (सिराह)
७. यातायात व्यवस्था कार्यालय, जनकपुर (धनुषा)
८. यातायात व्यवस्था कार्यालय, वीरगञ्ज (पर्सा)
९. यातायात व्यवस्था कार्यालय, विर्तामोड (झापा)
१०. यातायात व्यवस्था कार्यालय, रुपन्देही
११. यातायात व्यवस्था कार्यालय, दाङ (राप्ती)
१२. यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज (सुर्खेत)
१३. यातायात व्यवस्था कार्यालय, धनगढी (कैलाली)
१४. यातायात व्यवस्था कार्यालय, जुम्ला
१५. यातायात व्यवस्था सेवा कार्यालय, बर्दिवास
१६. यातायात व्यवस्था कार्यालय, डोटी
१७. यातायात व्यवस्था कार्यालय, हेटौंडा
१८. यातायात व्यवस्था कार्यालय, डडेलधुरा
२९. यातायात व्यवस्था कार्यालय, सुर्खेत
२०. यातायात व्यवस्था सेवा कार्यालय, विराटनगर
२१. यातायात व्यवस्था सेवा कार्यालय, गैघाट
२२. यातायात व्यवस्था कार्यालय, कावासोती
२३. यातायात व्यवस्था कार्यालय, खुर्कोट
२४. यातायात व्यवस्था सेवा कार्यालय, चितवन
२५. यातायात व्यवस्था कार्यालय, दमौली
२६. यातायात व्यवस्था सेवा कार्यालय, चौरजहारी
२७. यातायात व्यवस्था सेवा कार्यालय, पाल्पा
२८. यातायात व्यवस्था सेवा कार्यालय, सर्लाही
२९.यातायात व्यवस्था कार्यालय, बारा कलैया
३०.यातायात व्यवस्था सेवा कार्यालय, नवलपरासी