काठमाडौं । एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन विभिन्न प्रदेशबाट काठमाडौं आउने प्रतिनिधिलाई खाना र आवास मिलाउन सम्पर्क समन्वय कमिटी सक्रिय बनेको छ ।
समन्वय कमिटी सँयोजक स्याम बस्नेतका अनुसार महाधिवेशन आयोजक कमिटिले यो वर्ष आवासको व्यवस्था नगरेका कारण टाढाबाट आउने खाने र बस्ने समस्या भएका प्रतिनिधिलाई समन्वयका नेता कार्यकर्ताको घर तथा कोठामा बसोबास मिलाइने व्यवस्था गरिएको हो ।
बस्नेतले अहिले प्रदेशगत रूपमा काठमाडौंमा बस्न कठिनाइ हुने प्रतिनिधिहरूको विवरण संकलन भइरहेको जानकारी दिए । उनका अनुसार, हामीले काठमाडौंमा आउने प्रतिनिधिलाई बासको समस्या नपरोस भनेर नेता कार्यकर्ताको घरमा राख्ने समन्वय गर्दैछौं ।
यसपटक महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् । एमालेको ११औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ । उद्घाटन भक्तपुरको सल्लाघारीमा मंसिर २७ मा हुनेछ ।