काठमाडौं । पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग बढ्दाे छ। ईभीको प्रयोग तीव्र गतिमा बढिरहेका बेला यसको सुरक्षा, नियमन र मापदण्डबारे बहस चुलिएको छ । विशेषगरी ब्याट्रीमा आगलागीको जोखिम र चालकको भूमिकाबारे विभिन्न आशंकाहरू उठिरहेका छन् ।
तर, यो भ्रमबारे यातायात विज्ञहरू भने ईभी आफैमा सुरक्षित भएको दाबी गर्छन् । नेपालमा विदेशी मापदण्डअनुसार नै ईभी भित्रिने गरेको र सुरक्षामा खासै समस्या नरहेको विज्ञहरूले बताएका छन् । उनीहरू आफ्नै राष्ट्रिय मापदण्डको आवश्यकता रहेको बताउँछन् ।
सडक विभागका प्राविधिक शाखा प्रमुख श्रीकान्त यादवका अनुसार नेपालमा विद्युतीय गाडी आयात गर्दा अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मानिन्छ । संयुक्त राष्ट्रसंघको इकोनोमिक कमिसनले संसारभरि अटोमोबाइलसम्बन्धी मापदण्ड बनाउने र सोहीअनुसार गाडीको एप्रुभल सर्टिफिकेट, टेस्ट रिपोर्ट तथा जिओपी (प्रमाणीकरण) जस्ता कागजातहरू माग गर्ने उनले जानकारी दिए ।
‘जुन गाडी अन्य देशमा चल्न योग्य हुन्छ, त्यो नेपालमा पनि स्वाभाविक रूपमा चल्न योग्य हुन्छ । जहाँजहाँ सञ्चालन अनुमति नपाउने गाडी छ, त्यो नेपालमा पनि चल्न पाउँदैन,’ यादवले विकासन्युजसँग भने ।
‘यो चेक होइन, सिधै प्रमाणिकरण हो । वाहन उत्पादन भएको देशमै आधिकारिक निकायले प्रमाणित गरेर पठाएकाले नेपालमा फेरि दोहोरो परीक्षण गरिँदैन । त्यही अन्तर्राष्ट्रिय मापदण्डअनुसारका कागजातका आधारमै नेपालले इन्ट्री स्वीकृत गर्छ,’ उनले थपे ।
सुरक्षामा समस्या छैन
ईभीको सुरक्षामा कुनै समस्या नभएको यातायात विज्ञ तथा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेल दाबी गर्छन् ।
उनका अनुसार इभी आफैमा असुरक्षित हुने कुनै कारण नै छैन । यसको सेफ्टी स्तर पनि निकै राम्रो छ । दुर्घटनाका धेरै घटनाहरूलाई उनले चालकको अनुभवहीनता र ईभीका विशेषतासँग जोडेर हेरेका छन् ।
‘नयाँ भएकाले चलाउन नजान्दा विभिन्न समस्याहरू देखिन्छन् । ईभी गाडीले झ्याप्पै स्पिड पकड्छ । गियर नहुने भएकाले कतिपय परिस्थितिमा नियन्त्रण गुम्ने सम्भावना बढी देखिन्छ,’ उनले विकासन्युजसँग भने, ‘मेरो बुझाइमा ईभी अनकन्ट्रोल हुने यही कारण हो ।’
मंसिर १६ गते केशरमहल क्षेत्रमा ईभीको ठक्करबाट एक जनाको मृत्यु भएको थियो भने ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई समेत ठक्कर दिँदा दुई जना घाइते भएका थिए । बा. प्र.०१–०३० च २३४८ नम्बरको नेटा ईभी कार थियो । उक्त प्रसङ्ग जोडी गजुरेलले टिप्पणी गर्दै भने, ‘त्यो पनि चलाउन राम्ररी नजानेकाकै कारण भएको जस्तो लाग्छ ।’
ब्याट्रीमा आगलागीको जोखिम र भ्रम
ब्याट्रीमा आगलागीको जोखिमबारे भ्रम फैलाएको गजुरेलको भनाइ छ । ‘ईभीको ब्याट्री पनि मोबाइल जस्तै हो । ८–१० वर्षपछि बदल्नुपर्ने सामान्य कुरा हो । आगलागीको जोखिमको कुरा गर्दा डिजेल/पेट्रोल गाडीका तुलनामा ईभीको ब्याट्रीमा समस्या धेरै कम देखिन्छ,’ उनले भने ।
विद्युत सर्ट हुने कुरालाई उनले अलग राख्दै ब्याट्रीमा पानी परे वा ठोक्किएर पड्किने सम्भावना भए पनि आफैमा त्यस्तो दुर्घटना हुने कारण नभएको स्पष्ट पारे ।
चार्जिङ स्टेशनको सुरक्षाबारे मोबाइल चार्ज गरेको जस्तै भएको उनले बताए । उनले असुरक्षित हुनुपर्ने केही कारण नभएको भन्दै ढुक्क हुन आग्रहसमेत गरे ।
आफ्नै मापदण्ड अपरिहार्य
अहिले विदेशी मापदण्डकै भरमा ईभी सञ्चालन भए पनि नेपाललाई छुट्टै मापदण्ड आवश्यक रहेको कुरामा विज्ञहरू सहमत छन् ।
‘हामीले मापदण्ड बनाएको छैनौं । विदेशकै मापदण्ड अनि सर्टिफिकेटको आधारमा हामीले गाडीहरू छुट्टाउने गर्छौं,’ गजुरेलले भने, ‘तर एकदमै आवश्यक छ । गाइडलाइन स्ट्यान्डर्ड त बनाउनै पर्छ ।’
सरकारले यसका लागि पहल गरिरहेको र बनाउने भनेर लागि परेको उनको भनाइ छ । उनका अनुसार कहिलेसम्म बन्ने भन्नेबारे टुंगो छैन ।
सडक सुरक्षा रणनीतिमा ईभी विशेष सेक्सन जोड्नुपर्ने आवश्यकतालाई पनि यातायात विज्ञ गजुरेलले महत्त्वपूर्ण मानेका छन् ।
‘अघिल्लो संरचनामा ईभीको कुनै छुट्टै अवधारणा थिएन,’ उनले भने, ‘अब नयाँ ऐन–नियम बनाउनुअघि ईभीलाई अनिवार्य रूपमा समेट्नैपर्छ । ’
विद्युतीय गाडीका चालकका लागि विशेष प्रशिक्षण आवश्यक भएको उल्लेख गरे । उनले भने, ‘प्रशिक्षण त सबैले गर्नुपर्छ । अहिले नगरेका कारण नै समस्या देखिएको हो । ’
उनका अनुसार इन्धनबाट चल्ने गाडीका चालकहरू पनि आवश्यक परीक्षण र प्रशिक्षणको दायराभित्र आउनैपर्छ।
नेपालमा विद्युतीय सवारी साधनको लहर बढिरहेका बेला यसको सुरक्षामा खासै चिन्ता लिनुपर्ने अवस्था नरहेको तर दिगो नियमन र सुरक्षाका लागि आफ्नै राष्ट्रिय मापदण्ड तथा चालक प्रशिक्षणको खाँचो रहेको उनको भनाइ छ।