काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज अपरान्ह ४ बजे हुने उक्त खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् ।
सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् ।
सुदूरपश्चिम लिग चरणका ७ खेलमध्ये ६ र विराटनगरले भने ७ मध्ये ५ खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको हो ।
आज जित्ने टोली सिधै फाइनल पुग्नेछ । पराजित टोली इलिमिनेटर खेल्ने मौका पाउनेछ ।