काठमाडौं । ‘जनताको समृद्धिका लागि सीपयुक्त नेपाल’ भिजन र ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग अनुसार सक्षम जनशक्ति विकास गर्ने’ लक्ष्यका साथ स्थापना भएको संस्था हो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) । तर, सीटीईभीटीले न भिजन पुरा गर्नसकेको छ न मिसन नै । स्वदेशमै रहेका विद्यार्थी र उद्योगीबीचको दूरी बढ्दो छ भने अन्तर्राष्ट्रिय बजारमा गएका श्रमिकहरू अदक्ष छन् । यसले पनि सीटीईभीटीले लिएको मिसन भिजन दुवै पूरा नगरेको देखाउँछ । बरु स्थापना भएको तीन दशकमै संस्था ओरालो लाग्दै गएको छ ।
राजनीतिले थिलोथिलो परेको र आवश्यक सीपयुक्त कार्यक्रम दिन नसकेको गुनासो अब नयाँ रहेन । बरु विद्यार्थीले सीटीईभीटीको शिक्षा लिनै छोडेका छन् । सीटीईभीटीबाट मान्यता लिएका शैक्षिक संस्था धमाधम बन्द हुँदा विद्यार्थी घटेको स्पष्ट पार्छ । शिक्षालाई प्राविधिक र सीपयुक्त हुनुपर्छ भन्ने आवाज उठिरहेको बेला प्राविधिक शिक्षा लिने विद्यार्थीको संख्या भने बर्सेनि घटिरहेको छ ।
सीटीईभीटीको सुधारका लागि पटक-पटक गठन गरिएका कार्यदलले पुनर्संरचना, गुणस्तर अभिवृद्धि, कार्यक्षमता वृद्धि तथा शिक्षाको पहुँच विस्तार सम्बन्धी सुझाव पेश गर्दा पनि कार्यान्वयन हुन सकेको छैन ।
विगतमा तीन पटक बनाइएका कार्यदलले पेश गरेको सुझाव कार्यान्वयन नभएको अवस्थामा आइतबार अर्को कार्यदलले संस्थाको प्रतिवेदन बुझाएको छ । एक महिना अगाडि काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा.सुरजराज शर्माको संयोजकत्वमा गठन गरिएको कार्यदलले शिक्षामन्त्री महावीर पुनलाई प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन बुझ्दै शिक्षामन्त्री महावीर पुनले भने, ‘अब यो प्रतिवेदन अलमलमा पर्दैन, बरु छिट्टै सार्वजनिक गरेर छिटो भन्दा छिटो सुधारका लागि पहल गर्नेछु ।’
उनले प्रतिवेदन बुझेको फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्, ‘प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद (सीटीईभीटी ) को पुनर्संरचना नगरी नहुने देखिएकोले प्राविधिक तालिम कार्यक्रमलाई समयको मागअनुसार सुधार गर्ने उद्देश्यले प्रा.डा. सुरेशराज शर्माज्यू (पूर्वउपकुलपति)को संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । एक महिनापछि कार्यदलले प्रतिवेदन बुझाएको छ । अब प्रतिवेदन अनुसार भटाभट पुनर्संरचनाको काम हुनेछ । त्यसको लागि कार्यान्वयन समिति बनाइयो ।’
मन्त्री पुनले कार्यान्वयन समिति पनि बनाइसकेको बताएका छन् ।
समितिले बुझाएको फाइल नै अलपत्र
सीटीईभीटी को पुनर्संरचना र सक्षम जनशक्तिको को कुरा सुधारको उठेको अहिलेमात्र होइन, पहिले पनि उठेको थियो । पूर्वशिक्षामन्त्री विद्या भट्टराईले पनि सुधारका लागि आवाज उठाउँदै कार्यदल गठन गर्न निर्देशन दिएकी थिइन् । भट्टराईको निर्देशनपछि आयोगको शिक्षा हेर्ने सदस्य गीता पौडेल अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । अधिकारीको संयोजकत्वमा गठित कार्यदलले २०८१ पुसमै सुझाव सहितको प्रतिवेदन बुझाएको थियो । तर उनले राजीनामा दिएपछि प्रतिवेदन त्यत्तिकै थन्कियो ।
भट्टराईपछि मन्त्री बनेका शिक्षामन्त्री रघुजी पन्तले त्यो छलफल अगाडि बढाउने प्रयास गरेका थिए । तर, छलफल नहुँदै जेनजी आन्दोलनले सरकार परिवर्तन भयो । उसो त २०७५ सालमै प्रा.डा. प्रमोद श्रेष्ठको संयोजकत्वमा पनि कार्यदल गठन गरिएको थियो । त्यो कार्यदलले बनाएको प्रतिवेदन पनि सार्वजनिक हुन सकेन ।
पटक पटक सुधारको आवश्यकता भएर गठन गरिएका कार्यदलले काम गरेर बुझाएका प्रतिवेदनसमेत अलपत्र पारिएको भन्दै विज्ञहरू सरकारको आलोचना गर्छन् ।
सीटीईभीटी पुनर्संरचना आवश्यक किन ?
विज्ञहरू अहिलेको अवस्थामा सीटीईभीटीको पुनर्संरचना, सक्षम जनशक्ति र कार्यक्रमहरू सबैमा पुन:छलफल आवश्यक रहेको बताउँछन् । विश्वमै आवश्यक ठानिएको प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्नु नै सीटीईभीटीको गम्भीर समीक्षा आवश्यक रहेको बताउँछन् ।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला पहिला सीटीईभीटीमा विद्यार्थीको संख्या धेरै हुनु र आजभोलि घट्दो क्रममा हुनु नै ठूलो प्रश्न रहेको बताउँछन् । उनी भन्छन्, ‘हामी शिक्षा व्यवहारिक भएन, सीपमूलक भएन भनेर भनिरहने तर नहुने किन ? यो विषयमा सोच्नुपर्ने आवश्यकता छ ।’
उनी सरकारले प्राविधिक धार र प्राविधिक शिक्षालाई दुई ढंगले ल्याउँदा त्यति प्रभावकारी हुन नसकेको बताउँछन्।
‘यो बलियो भएन भनेर सीटीईभीटीले पनि बारम्बार भनिरहेको थियो, तर यहाँ सुन्ने कोही भएनन्,’ कोइराला भन्छन्, ‘सीटीईभीटी भनेको पैसा कमाउने राम्रो र असल स्रोत बन्यो, सीटीईभीटीले सम्बन्धन दिँदा पैसा खुवाउने प्रवृत्ति निकै बलियो हुँदै गयो । यस्ता गतिविधिबाट बचाउन जरुरी हुँदा यसको पुनर्संरचनाको निकै आवश्यक छ।’
कोइराला परम्परागत सीपलाई प्राविधिक बनाउनु पर्ने बताउँछन् । सरकारले हाम्रा सीपलाई प्राविधिक हो भनेर भन्न सकेन, दलितहरू परम्परागत रूपमा लगाउँदै आएको आरन व्यवसायलाई हामीले प्राविधिक हो भनेर कोर्स बनाउन सकेनौं, जसको परिणाम यस्तो अवस्था आयो । उनी यस्ता कुरा गर्न पनि सुधार र परिमार्जनको आवश्यक रहेको बताउँछन् ।
अदक्ष जनशक्ति र स्मार्ट विद्यार्थीको परिणाम
अहिलेका विद्यार्थी स्मार्ट छन् । विद्यालय गएर शिक्षकले पढाउनुभन्दा अगाडि उनीहरूले कुरा थाहा पाइसकेका हुन्छन् । बढ्दो प्रविधिको पहुँचले अहिलेको विद्यालय उमेरका पुस्ता निकै स्मार्ट बनिसकेका छन् । विद्यार्थी आफैले घरमा सिकिसकेको कुरा कलेजमा गएर पढ्दा त्यति रुचि हुँदैन । विज्ञहरू अब विद्यार्थीलाई शिक्षा दिने शिक्षकले नै कसरी शिक्षा दिने भन्नेबारे चनाखो हुनुपर्ने बेला आएको बताउँछन् ।
नेपाली विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक शिक्षा दिन वि.सं. २०४५ सालमा सीटीईभीटी स्थापना गरिएको हो । जसले देशलाई आवश्यक पर्ने प्राविधिक तथा सीपयुक्त जनशक्ति उत्पादनमा प्रतिवद्धता गरेको छ । तर, प्रतिवद्धता अनुसारको परिणाम भने दिन सकेको छैन । नेपालमा सीटीईभीटीबाट मान्यता लिएर चार प्रकारका शैक्षिक संस्था सञ्चालन भइरहेका छन् । जसमा आंगिक शिक्षालयको ६७ वटा सञ्चालनमा छन् भने सीटीईभीटीको साझेदारीमा ५८ वटा शैक्षिक संस्था सञ्चालन भइरहेका छन् । यस्तै, सामुदायिक विद्यालय ६ सय ३९ र निजी ४ सय ३९ र छोटो अवधिको व्यवसायिक तालिम सञ्चालन गर्न सीटीईभीटीबाट सम्बन्धन लिने संस्थाको संख्या १८ सय ५० छ ।
ग्रामीणस्तरमा रहेका सामुदायिक विद्यालयले सञ्चालन गरेका सीटीईभीटीका कार्यक्रम अधिकांश रूपमा बन्द भइसकेका छन् । विद्यार्थीहरू नपाउँदा कार्यक्रम नै बन्द गर्नुपर्ने अवस्था आएको शिक्षकहरू बताउँछन् ।
पछिल्लो समय प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या समेत घट्दै गएको छ । सीटीईभीटीका अनुसार डिप्लोमा र प्री-डिप्लोमाका कार्यक्रममा निर्धारित कोटा अनुरूप विद्यार्थी पाउन मुस्किल छ ।
गत वर्ष २०८१ सालमा सीटीईभीटीले प्री-डिप्लोमाका कार्यक्रमका लागि २४ हजार ५ सय ९३ सिट खुलाए पनि ७ हजार तीन सय विद्यार्थीमात्र भर्ना भए । प्री-डिप्लोमा मात्र होइन, डिप्लोमा कार्यक्रममा पनि अवस्था उस्तै छ । २०८१ सालमै सीटीईभीटीले विभिन्न कार्यक्रमका लागि ५३ हजार ७ सय ५९ सिटका लागि भर्ना खुलाउँदा २५ हजार २ सय ४९ जना विद्यार्थीमात्र भर्ना भए । पछिल्ला केही वर्षमा भर्नादर घट्दै गइरहेको छ ।
सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीका अनुसार पछिल्ला केही वर्ष यता विद्यार्थीको संख्या घट्दै गएको छ । अधिकारी यो वर्षको लागि अहिले पनि रजिष्टशेन जारी रहेकाले ठ्याक्कै यति विद्यार्थी भर्ना भए भन्न नसकिने बताउँछन् । उनी रजिष्टेशन बन्द भइसकेपछिमात्र यकिन तथ्यांक आउने बताउँछन् ।
अधिकारीका अनुसार सीटीईभीटीमा विद्यार्थी घट्नाका मुख्य चारवटा कारण छन् । किन सीटीईभीटीमा विद्यार्थीको संख्या घट्यो भन्नेबारे गरिएको अध्ययनअनुसार अधिकारी विभिन्न कारण भएपनि मुख्य चारवटा कारण रहेको बताउँछन् ।
अधिकारीका अनुसार सबैभन्दा पहिलो कारण विद्यालय शिक्षा १२ कक्षा हुनु रहेको छ । उनी भन्छन्, ‘विद्यालय शिक्षा १२ कक्षा सम्मको भयो, हाम्रो डिप्लोमा तहका कार्यक्रमहरू एसईईपछि छ, यसो हुँदा विद्यार्थीलाई कक्षा १२ सम्म अनिवार्य गर्नुपर्छ, विद्यार्थी घट्नुको सबैभन्दा मुख्य कारण यही हो ।’
दोस्रो, शिक्षा विभागले कक्षा ९ देखि १२ सम्म प्राविधिक धारका कार्यक्रम सञ्चालन गर्नु हो । सामुदायिक विद्यालयमै विद्यार्थीले बिना शुल्क प्राविधिक धारका कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीलाई सीटीईभीटी जानुपर्छ भन्ने लागेन ।
तेस्रो, विद्यार्थीमा जतिसक्दो छिटो प्लस टु पास गर्ने र विदेश जाने लहर हो । ‘सीटीईभीटीको कोर्ष गर्न तीन वर्ष लाग्छ, तर हाम्रा विद्यार्थीलाई जसोतसो प्लस टु पास हुनुपर्छ भन्ने हतार हुन्छ, विद्यार्थी प्लस टु पास गरेर विदेश जाने लहरले पनि हाम्रा विद्यार्थी कम भएका हुन्,’ अधिकारीले भने ।
उनी सीटीईभीटीमा विद्यार्थी कम हुनुको चौथो कारण पढेका विद्यार्थीलाई काम गर्न पर्याप्त उद्योग, कलकारखाना, प्रतिष्ठान नहुँदा पनि विद्यार्थीको रुचि घटेको बताउँछन् । सीटीईभीटीका अन्य कार्यक्रममा विद्यार्थीको संख्या घटेपनि डिप्लोमा तहको स्वास्थ्य क्षेत्रका कार्यमा भने विद्यार्थीको आकर्षण बढिरहेको अधिकारीले बताए ।
यस्तो भन्छन् विज्ञ
सीटीईभीटीले विद्यार्थी घट्नुका विभिन्न कारण देखाएपनि विज्ञहरू भने अदक्ष जनशक्ति, स्मार्ट विद्यार्थीको परिणाम र राजनीतिक कारणले सीटीईभीटीमा विद्यार्थीको आकर्षण घटेको बताउँछन् । शिक्षाविद् डा. विष्णु कार्की सीटीईभीटीले सञ्चालन गरिरहेका कार्यक्रम नै समयअनुसार हुन नसकेको बताउँछन् । विद्यार्थीलाई छोटो समयमा पढेर पैसा कमाउनुपर्ने हतार भइरहेको बेला तीन वर्षमा एउटै कोर्ष अध्ययन गर्नुभन्दा विदेश गएर पैसा कमाउने इच्छा हुने भएकाले अब कार्यक्रमहरू नै परिमार्जन गर्नुपर्ने बताउँछन् ।
शिक्षाविद् प्रा.डा विद्यानाथ कोइराला विद्याथीले सीप युट्यबमा हेरेर केही समयमै सिक्ने सीप सीटीईभीटीले दुई/तीन वर्ष लगाउँदाको समस्या भएको बताउँछन् ।
उनी भन्छन्, ‘सीप सिक्नलाई विज्ञान र गणित चाहिन्छ भनियो, विज्ञान र गणित भन्नेबित्तिकै गाह्रो हुन्छ भन्ने बुझियो, पढाउने शिक्षक पनि अदक्ष हुनु र विद्यार्थीले विज्ञान र गणितलाई असजिलो मान्नुको परिणाम पनि सीटीईभीटीका विद्यार्थी घट्नु हो ।’
कोइरालाका अनुसार सीटीईभीटीबाट प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थी ६५ देखि ६८ प्रतिशत विदेश जाने गरेको बताउँछन् । उनी हरेक मान्छेसँग गरिखाने सीप हुनुपर्ने बताउँछन् । उनी सीटीईभीटीले केही मान्छेलाई मात्र गरिखाने बनाएको बताउँदै प्राविधिक शिक्षामा पनि परम्परागत तरिका हुँदाको परिणाम भएको बताए ।
नेपाल राष्ट्र बैकको तथ्यांकअनुसार २५ देखि ३० प्रतिशत नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । अहिलेकै अवस्था रहने हो भने यो प्रतिशत अझै बढ्दै जाने छ । रेमिट्यान्स पठाउने मान्छे उच्च शिक्षा पढ्न नपाएका र मुस्किलले कक्षा १० पास गरेका व्यक्ति हुन् । सरकारले यस्ता व्यक्तिहरूलाई मध्यनजर गर्दै सीटीईभीटी स्थापना गरेको हो ।
शिक्षाविद् डा. विष्णु कार्की अहिले सीटीईभीटीको संरचना भन्दा पनि कार्यक्रममा ध्यान दिनु आवश्यक रहेको बताउँछन् । उनी भन्छन्, ‘संरचना र कार्यक्रम दुवै परिमार्जनको आवश्यक छ ।’
अहिले सीटीईभीटीले सञ्चालन गरिरहेका कार्यक्रम सरकारले छात्रवृत्ति दिएर पढ्न आह्वान गर्दा पनि विद्यार्थी नपाइरहेको अवस्था छ ।
‘जसलाई राज्यले टार्गेट गरेर छात्रवृत्ति दिन्छौं, पढ्न आऊ भन्छ यस्ता विद्यार्थी ५० प्रतिशतसम्म नपाइरहेको अवस्था छ, यो भनेको हामीले विद्यार्थीलाई आवश्यक कार्यक्रम ल्याउन नसकेको भन्ने हो, हामीले त्यस्ता विद्यार्थीलाई चाहिने तालिम अथवा शैक्षिक कार्यक्रम दिन नसकेको हो,’ कार्कीले भने ।