इलाममा सन नेपाल लाइफको दोस्रो चरण वृक्षारोपण, हजार फलफूलका बिरुवा रोपियो

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले देशव्यापी वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै इलाम नगरपालिका क्षेत्रमा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार सम्पन्न कार्यक्रम अन्तर्गत ५०० आरू र ५०० नासपातीसहित कुल १ हजार फलफूलका बिरुवा रोपेर इलाममा हरियाली अभियान औपचारिक रूपमा अघि बढाइएको कम्पनीले जनाएको छ ।

वृक्षारोपण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबी फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, कोशी प्रदेश प्रमुख तुलसीनाथ पौडेल तथा विभिन्न शाखाका प्रमुखहरू सहभागी थिए ।

यस्तै, लुम्बिनी वर्ल्ड पीस फोरमका वृक्षारोपण अभियन्ता बासु गौतम, इलाम नगरपालिकाका मेयर केदार थापा, साथै विभिन्न वडाका जनप्रतिनिधि नुतन देव दुलाल (वडा ४ अध्यक्ष), दुर्गामदन श्रेष्ठ (वडा ६ सदस्य), दलमान तामाङ (वडा ६ अध्यक्ष), ओमनाथ प्रधान (वडा १० अध्यक्ष), पारस मणि काफ्ले (वडा ४ सदस्य) र कृषि प्राविधिक उपेन्द्र नेपालको पनि उपस्थिति थियो ।

कम्पनीले सामुदायिक दिगोपन, सामाजिक उत्तरदायित्व र वातावरणीय सन्तुलनलाई आफ्नो संस्थागत दर्शनको प्रमुख आधार मानेर देशभर वृक्षारोपण अभियान विस्तार गर्दै आएको छ ।

हाल, सन नेपाल लाइफ इन्स्योरेन्सले देशभरका १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सेवाहरू प्रदान गरिरहेको छ ।

Share News