विराटनगर ७८ रनमै अलआउट : सानदार जितसहित सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को उपाधि नजिक पुग्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो क्वालिफायरमा विराटनगर बोल्ट्समाथि ७७ रनको सानदार जित निकाल्दै सुदूरपश्चिमले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । लिग चरणमा विराटनगरसँग ब्यहोरेको हारको बदला सुदूरपश्चिमले सबैभन्दा महत्त्वपूर्ण खेलमा लिएको छ ।

१५६ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर बोल्ट्स सुदूरपश्चिमको कसिलो बलिङसामु निरिह सावित भयो । बलियो ब्याटिङ लाइनअप भएको विराटनगर १४.१ ओभरमा मात्र ७८ रनमा अलआउट भयो । 

यो एनपीएलको जारी सिजनकै सबैभन्दा कम स्कोर हो । यसअघि चितवन राइनोजले बनाएको ८९ रनको खराब कीर्तिमानलाई तोड्दै विराटनगरले लज्जास्पद प्रदर्शन गर्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमलाई सम्मानजनक स्कोरमा पुर्याउन ओपनर विनोद भण्डारी नायक सावित भए । एक छेउबाट विकेट झरिरहँदा पनि क्रिजमा डटेका भण्डारीले ५२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ६३ रनको अर्धशतकीय इनिङ खेले । 

१८औं ओभरको अन्तिम बलसम्म टिकेका उनकै इनिङको जगमा सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनायो। टोलीका लागि शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०-२० रनको योगदान दिए ।

जवाफी ब्याटिङमा विराटनगरको सुरुआत निकै दयनीय रह्यो । ओपनर साम हिजलेट पहिलो बलमै (गोल्डेन डक) र नरेन भट्ट शून्यमै आउट भए । मार्टिन गुप्टिल (३ रन) दुर्भाग्यपूर्ण रूपमा रनआउट भएपछि विराटनगरको इनिङ धर्मरायो ।

विराटनगरका लागि फाफ डुप्लेसीले एक्लै संघर्ष गर्दै २९ बलमा ३६ रन (३ चौका, १ छक्का) बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । बसिर अहमदले १२ र मर्चेन्टडी ल्याङ्गेले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

बलिङमा सुदूरपश्चिमको दबदबा

सुदूरपश्चिमको जितमा बलरहरुले सामूहिक प्रदर्शन गरे। स्कट कुगेलेइजन, हर्मित सिंह र अभिनाश बोहोराले समान २-२ विकेट लिए । त्यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले १-१ विकेट हात पारे । मार्टिन गुप्टिल र प्रतीस जीसी रनआउटको शिकार भए ।

पहिलो क्वालिफायरमा हारे पनि विराटनगर बोल्ट्सको उपाधि सपना सकिएको छैन । विराटनगरले अब दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । अब विराटनगरले इलिमिनेटर खेल (काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच) को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल जितेमा विराटनगरले फाइनलमा पुनः सुदूरपश्चिमसँगै उपाधिका लागि भिड्नेछ ।

Share News