नेपालको ड्रोन प्रविधिमा अन्तर्राष्ट्रिय फड्को, चिनियाँ विज्ञसहितको उच्चस्तरीय कार्यशाला हुँदै

काठमाडौं । नेपालको उड्डयन तथा ड्रोन प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्ने र ज्ञान आदान–प्रदानलाई सुदृढ गर्ने उद्देश्यले नेपाल र चीनका प्रतिष्ठित संस्थाहरुबीच ऐतिहासिक सहकार्य हुने भएको छ । ड्रोन हब नेपाल र चीनको ग्वाङ्झाओ सिभिल एभिएसन कलेजको संयुक्त आयोजनामा धुलिखेलस्थित हाइडअवे ग्ल्याम्पिङुमा एकदिने ‘उन्नत ड्रोन प्रविधि कार्यशाला आयोजना हुने भएको हो । 

आगामी बिहीबारदेखि आयोजना हुने यो कार्यशाला नेपालको ड्रोन इकोसिस्टम सुदृढ गर्न र युवा पुस्तालाई उड्डयन प्रविधिमा आकर्षित गर्न कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।

कार्यशालामा चीनको उड्डयन क्षेत्रका दिग्गज व्यक्तित्वहरूको उपस्थिति रहनेछ । जिसीएसीका तर्फबाट डिन टियान जुको नेतृत्वमा उप–डिन हे यानबिन, निर्देशक बाइ जियानकुन, उप–निर्देशक यान झीयुआन, प्रशिक्षक नी वेइगुओ र विदेशी मामिला संयोजक लिन वेइच्याङ नेपाल आउँदैछन् ।

त्यस्तै, नेपालको तर्फबाट नेपाल मानव रहित विमान (ड्रोन) संघका अध्यक्ष राजभाई सुवाल सहित सम्पूर्ण टिमको विशेष सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय विज्ञ र नेपाली सरोकारवालाहरूको यो भेटले नेपालमा ड्रोन प्रविधिको विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

के–के हुनेछ कार्यशालामा ?

कार्यक्रमको सुरुवात विद्यार्थीहरूको नवप्रवर्तन क्षमता प्रदर्शन गर्दै आरसी (रिमोट कन्ट्रोल) विमानको रोमाञ्चक प्रदर्शनीबाट हुनेछ, जसले एयरोमोडेलिङ सीपलाई उजागर गर्नेछ । त्यसपश्चात्,  जिसीएसीका विज्ञहरूले उन्नत मानवरहित हवाई सवारी साधन प्रणाली, अन्तर्राष्ट्रिय तालिम मापदण्ड र नियामक अभ्यासहरू, ड्रोनको औद्योगिक उपयोग र भविष्यका सम्भावनाहरू जस्ता विषयमा विस्तृत प्रस्तुति दिनेछन्  ।

ड्रोन हब नेपालका प्रबन्ध निर्देशक प्रबिन भट्टराईको नेतृत्वमा आयोजना हुन लागेको यस कार्यक्रमको प्राविधिक तथा समन्वय पाटो अफताब आलमले सम्हालेका छन् । सञ्चार र सहभागी व्यवस्थापनमा सचिन सिंह र ओम साह तथा लजिस्टिक्समा रसिदव राज खटिएका छन् । 

कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न 'हाइडअवे ग्ल्याम्पिङ' का सञ्चालक निरज श्रेष्ठ र सुजन खतिवडाले विशेष व्यवस्थापकीय भूमिका निर्वाह गरेका छन् ।

कार्यशाला बाहेक, चिनियाँ टोलीले आफ्नो नेपाल बसाईका क्रममा काठमाडौं र भक्तपुरका अग्नि नियन्त्रक केन्द्रहरूको स्थलगत अवलोकन पनि गर्नेछ । यसक्रममा विपद् व्यवस्थापन, खोज तथा उद्धार र आगलागी नियन्त्रणमा ड्रोनको प्रयोग कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अनुभव आदान–प्रदान गरिनेछ ।

ड्रोन हब नेपालका अनुसार यो कार्यक्रम केवल एक कार्यशाला मात्र नभई नेपालको उड्डयन प्रविधिमा युवा इन्जिनियरहरूलाई प्रेरित गर्ने अभियान हो । विपद् व्यवस्थापन, पूर्वाधार निरीक्षण र विकास परियोजनाहरूमा ड्रोनको जिम्मेवारपूर्ण प्रयोगलाई बढावा दिनु नै यसको मुख्य उद्देश्य हो ।
 

Share News