एमालेको ११ औं महाधिवेशनमा प्रतिनिधि २ हजार २६२ पुग्ने

काठमाडौं । नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको संख्या औपचारिक रूपमा टुंगो लगाएको छ । बुधबार बसेको प्रतिनिधि व्यवस्थापन समितिको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको अन्तिम सूची तय गरेको हो ।

स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरी जम्मा २ हजार १५४ जना प्रतिनिधि रहनेछन् । 

एमालेको विधानअनुसार कुल प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि पार्टी केन्द्रीय सचिवालयले मनोनयन गर्न पाउने छ । सचिवालयको बैठकले १०८ प्रतिनिधि यप गर्न सक्ने संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए ।

उनका अनुसार सचिवालयले मनोनयन गरेको खण्डमा कुल महाधिवेशन प्रतिनिधिको संख्या २ हजार २६२ हुनेछ । साथै केन्द्रीय सल्लाहकार परिषद्का ३०९ सदस्य समेत महाधिवेशनमा सहभागी हुने व्यवस्था गरिएको छ ।

एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि सुरु हुने छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी हुनेछ भने बन्दसत्र भृकुटीमण्डपमा हुनेछ ।

Share News