काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी सरकारी सेवा प्राप्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उजुरीका आधारमा गरिएको छानबिनमा मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटना बाट माध्यमिक तह उत्तीर्ण गरेको दाबी गर्दै पेस गरेका कागजपत्र नक्कली रहेको आयोगले पुष्टि गरेको हो ।
मण्डलले मडैया बलुवा उच्च विद्यालयको विद्यालय–परित्याग प्रमाणपत्र र बिहार बोर्डको नक्कली कक्षा १० को प्रमाणपत्र पेश गरी २०५३ साउन १ गते जिल्ला विकास समिति, सुनसरीबाट सहायक सव–ओभरसियरमा नियुक्ति पाएका थिए । सोही कागजातको आधारमा उनी ०६७ माघ ७ गते सहायक इन्जिनियरमा बढुवा भएका थिए ।
नक्कली प्रमाणपत्र प्रयोग गरी तलब, भत्ता र सरकारी सेवा सुविधा लिएको भन्दै आयोगले मण्डलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ तथा साविक ऐन, २०१७ अनुसार कैद र जरिवानाको सजाय माग गरी आरोपपत्र दायर गरेको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।