बीवाईडीको हाइब्रिड ‘शार्क सिक्स’ नेपाल भित्रियो, नयाँ वर्षमा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले आफ्नो बहुप्रतीक्षित प्लगइन हाइब्रिड इलेक्ट्रिक पिकअप शार्क सिक्स नेपाल भित्र्याएको छ । 

उच्च कार्यक्षमता, अत्याधुनिक प्रविधि र वातावरणमैत्री विशेषताका साथ आएको यो पिकअपले नेपाली अटो बजारमा ठूलो प्रभाव पार्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बीवाईडी शार्क सिक्स एक सामान्य पिकअप मात्र नभई एक भविष्यवादी सवारीसाधन हो । यसमा १ हजार ५०० सीसीको टर्बो पेट्रोल इन्जिनका साथै दुईवटा शक्तिशाली इलेक्ट्रिक मोटरहरू जडान गरिएको छ । 

गाडीको सबैभन्दा ठूलो आकर्षण भनेको यसको रेन्ज हो । पूर्ण चार्ज र इन्धन भरेर चलाउँदा यो पिकअपले एकपटकमा करिब ८०० किलोमिटरसम्मको यात्रा गर्न सक्छ । जुन लामो दूरीको यात्रा गर्नेहरूका लागि उत्तम विकल्प हो । 

यो गाडीमा २९ किलोवाट आवरको अत्याधुनिक ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जसले पूर्ण विद्युतीय मोडमा १०० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । यसलाई एसी ९७ किलोवाट० र डीसी ९६० किलोवाट० दुवै प्रकारका चार्जरबाट चार्ज गर्न सकिन्छ ।

शार्क सिक्स सुरक्षा र सुविधामा पनि अब्बल छ । यसमा एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम लेभल २ का फिचरहरू ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा र बीवाईडीको विशेष डुअल मोड अफ–रोड प्लेटफर्म जस्ता विशेषताहरू छन् । यसले सहरको सवारीका साथै नेपालका चुनौतीपूर्ण सडक र अफरोड यात्राका लागि पनि उत्तिकै सक्षम बनाउँछ । साथै गाडीमा २७५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

कम्पनीका अनुसार हाल यो गाडी नेपाल भित्र्याइ परीक्षण भइरहेको छ । यद्यपि यसको औपचारिक लञ्च भने अंग्रेजी नयाँ वर्ष २०२६ मा गर्ने भनिएको छ । 

बीवाइडी शार्क सिक्सले नेपालको पिकअप र विद्युतीय सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको दावी छ ।

Share News