काठमाडौं । अघिल्लो आर्थिक वर्षमा १ करोड २५ लाखले अस्पतालमै पुगेर स्वास्थ्य सेवा लिएका छन् ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले औसतमा एउटै मान्छे ५ पटक अस्पताल गएर सेवा लिएको जानकारी दिए । २५ लाख मान्छेले एकपटक मात्र अस्पताल पुगेर सेवा लिएका छन् ।
स्वास्थ्य बीमा बोर्डले आयोजना गरेका एक कार्यक्रममा उनले अस्पतालमा गएर स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिनेको संख्या ठूलो मात्रामा बढेको बताए ।
काफ्लेका अनुसार यो तथ्यांक प्रत्येक वर्ष बढ्दै गएको छ । कार्यकारी निर्देशक काफ्लेले गुणस्तरीय सेवा बढाउन र लागत घटाउन नेपालमा स्वास्थ्य बीमाले नै निर्णय भूमिका खेल्ने समेत बताए ।
उनका अनुसार बीमा कार्यक्रममार्फत कभरेज बढाउनका लागि कामहरू भइरहेको छन् । धेरै भन्दा धेरै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने प्रयास भइरहेको छ । स्वास्थ्य बीमा ऐन, २०७४ लाई सुधारेर लैजान कामहरु समेत भइरहेको उनले जानकारी दिए ।
काफ्लेका अनुसार नयाँ दररेटहरू निर्धारण गर्ने समेत तयारी छ । अहिलेका प्याकेजहरूलाई समेत सुधारेर अघि बढिनेछ भने अब प्रत्येक स्वास्थ्य सेवा सुविधाको बारेमा यसै आर्थिक वर्षबाटै क्याम्पेन सञ्चालन गरिनेछ ।
अहिले स्वास्थ्य सेवा उपलव्ध गराएका अस्पताललाई समयमै भुक्तानी गर्न स्रोतको चरम अभाव परिरहेको छ । बीमा कोषलाई बलियो बनाएर प्रभावकारी रूपमा सेवा सञ्चालनका लागि गृहकार्य भएको उनले बताए ।
स्रोतको अभावका कारण कार्यक्रम प्रभावकारी बन्न कठिन भइरहेको सरोकारवालाहरू बताउँछन् ।
धुलिखेल अस्पतालका डाक्टर बलाराम मल्लले स्वास्थ्य बीमामार्फत प्रवाह हुने स्वास्थ्य सेवा गुणस्तरीय गराउन बोर्ड लाग्नुपर्ने बताए । उनका अनुसार गुणस्तरीय सेवा दिन नसके बीमित निराश बन्नुपर्ने अवस्था आउने र स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन सक्दैन ।
उनले स्वास्थ्य बीमाले भुक्तानी गर्नुपर्ने रकम समयमै नदिँदा पनि समस्या हुने कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठले स्वास्थ्य बीमा बोर्ड परनिर्भर बन्दा पनि कार्यक्रम प्रभावकारी बन्न नसकेको बताए ।
उनका अनुसार वार्षिक पौने ४ अर्ब प्रिमियर बोर्डले उठाइरहेको छ तर १४ अर्ब अस्पतालहरूलाई तिर्नुपर्ने हुन्छ । प्रत्येक वर्ष १० अर्ब स्वास्थ्य बीमाले तिर्दै जाँदा धान्नसक्ने स्थिति नरहेको उनको भनाइ छ ।
उनका अनुसार नेपालमा स्वास्थ्य सबैको पहुँचमा हुनुपर्छ । पहुँच विस्तारका लागि आवश्यक जनशक्ति हुन जरुरी छ भने स्वास्थ्य संस्थाहरूको पहुँच पनि विस्तार हुनुपर्छ । अहिले ६० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्थाहरू सहरी क्षेत्रमा स्वास्थ्य संस्थाहरू छन् । बाँकी १५–२० प्रतिशत स्वास्थ्य संस्थाहरूं ग्रामीण क्षेत्रमा छन् ।
ग्रामिण भेगमा ६०–६५ प्रतिशत जनता छ । त्यहाँ अस्पतालको पहुँच नहुँदा सहरी क्षेत्रका स्वास्थ्य संस्थाबाट उनीहरुले सेवा लिनुपर्ने बाध्यता रहेको डाक्टर श्रेष्ठले बताए ।
स्वास्थ्य सेवा वितरणमा अहिले एकदमै असमानता रहेको उनको भनाइ रहेको छ ।
श्रेष्ठका अनुसार स्वास्थ्य विमाको प्रथम सेवा बिन्दुलाई स्थानीय तहसँग समन्वय गरेर विस्तार गर्नुपर्छ । प्रथम सेवा बिन्दुबाटै धेरै कुराहरु त्यही समाधान होस् भन्ने हिसावले राखिएको समेत उनले बताए ।