काठमाडौं । काभ्रेपलाञ्चोकस्थित नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सहायक प्रमुख कार्यकारी अधिकृत ऋषी प्रसाद न्यौपाने नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले न्यौपानेलाई कायम मुकायम सीईओ पदको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यस अघि कामु सीईओ भागनागरायण साहुले मंसिर २४ गते स्वैच्छिक अवकाश लिएपछि उक्त जिम्मेवारी न्यौपानेलाई सुम्पिएको हो । न्यौपानेले २०५५ सालमा लघुवित्त क्षेत्रमा सेवा प्रवेश गरी निर्घन उत्थान लघुवित्त वित्तीय संस्थामा फिल्ड सहायक पदबाट करियर सुरु गरेका थिए ।
२०६१ सालमा नेरुडे लघुवित्तमा अधिकृत पदमा प्रवेश गरेका न्यौपाने यसअघि जनशक्ति व्यवस्थापन विभाग प्रमुख र कम्पनी सचिवको रूपमा पनि कार्यरत रहेकाछन् । मर्जरपछि उनले नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षण विभागको प्रमुख लगायत कार्यकारिणी तहका जिम्मेवारीहरू सफलतापूर्वक बहन गरिसकेका छन् ।
करीब अढाई दशक लामो अनुभव भएका न्यौपाने लघुवित्त क्षेत्रका अनुभवी पेशेवर हुन् । सञ्चालक समितिको विश्वास अनुसार, प्रमुख कार्यकारी अधिकृतका रूपमा उनले नियामकीय निर्देशनहरू पालना गर्दै संस्थाले उत्कृष्ट सेवा प्रदान गर्ने, सेयरधनीलाई यथोचित प्रतिफल दिने र कर्मचारी व्यवस्थापनलाई सुदृढ बनाउने काम गर्नेछन् ।
न्यौपानेले आफ्नो कार्यकालमा लघुवित्तको सन्तुलित व्यापार विस्तार, ग्राहक सेवामा नयाँ र सुरक्षित प्रविधियुक्त बैंकिङ सुविधा उपलब्ध गराउने र लगानीकर्तालाई उचित प्रतिफलसहित बजारमा संस्थाको सम्मानजनक उपस्थिति अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।