गोरखा ब्रुअरी र खालिसीसीबीच बोतल व्यवस्थापन सहकार्य

काठमाडौं । गोरखा ब्रुअरी कार्ल्सबर्ग समूहले देशभरका व्यवसायिक स्थानलाई समेट्दै बोतलको पुनःप्रयोग प्रक्रियालाई सहज र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ अभियान अघि सारेको छ ।

‘नेभर लिभ ए बोटल बिहाइन्ड’ भन्ने मूल नारासहित खालिसीसीसँगको सहकार्यमा सुरु गरिएको यस अभियानले जिम्मेवार स्रोत व्यवस्थापन (रिसोर्स म्यानेजमेन्ट)लाई व्यवहारमा उतार्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

अभियानअन्तर्गत खालिसीसीले बार तथा रेस्टुरेन्टहरूसँग प्रत्यक्ष समन्वय गर्दै प्रयोग भइसकेका शिशाका बोतललाई व्यवस्थित रूपमा संकलन, वर्गीकरण र पुनःप्रयोगको प्रक्रियामा पठाउनेछ । यसबाट व्यवसायिक स्थानमै अवशिष्ट व्यवस्थापनको एकीकृत र सहज प्रणाली विकास हुने अपेक्षा गरिएको छ ।

यो मोडेलले व्यवसायिक क्षेत्रको जिम्मेवारी बढाउने, बोतल व्यवस्थापनलाई सरल बनाउने र पुनःप्रयोग गर्न सकिने शिशा ल्यान्डफिलमा पुग्ने मात्रा उल्लेखनीय रूपमा घटाउने कम्पनीको विश्वास छ ।

गोरखा ब्रुअरीले खालिसीसीसँगको सहकार्यले कुनै पनि बोतल बेवास्ता नहुने प्रतिबद्धतालाई व्यवहारमा उतारिएको उल्लेख गर्दै व्यवस्थित पुनःप्रयोग समाधानमार्फत आफ्ना दिगोपनसम्बन्धी लक्ष्यलाई थप मजबुत बनाउँदै सफा तथा हरियो नेपाल निर्माणमा योगदान पुर्याइरहेको जनाएको छ ।

Share News